- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कान्छा हजुरबाले भन्नुहुन्थ्यो कसैलाई सभ्य भाषामा श्राप दिनु पर्यो भने 'तँलाई घर बनाउनु परोस् भनेर भन्नुपर्छ ।' हामीले घर बनाउने कुरा पनि कसरी श्राप हुन सक्छ होला भन्ने कुरा नबुझेर ठूला ठूला आँखाले हेरिरहेपछि उहाँले थप्नुहुन्थ्यो, 'घर बनाउनु भनेको एकदमै झन्झटिलो काम हो । पहिले त कस्तो घर बनाउने भन्ने कुरामै परिवारका सबै सदस्यहरुबीच राय मिल्दैन । त्यसमाथि घर बनाउँदा धेरै कुराको आवश्यकता पर्छ।'
जतिसुकै पैसा,पदार्थ र श्रम जुटाएर अन्त्यमा घर बने पनि केही न केही खट्किरहन्छ । अलिक ठूला कोठा बनाउनु पर्ने रहेछ, पहिलो तलाको सिलिंग अलिक अग्लो राख्नु पर्ने रहेछ, बैठक कोठा अलिक ठूलो बनाउनुपर्ने रहेछ, भर्याङ पश्चिम कुनामा राखेको भए ठीक हुने रहेछ, भविष्यमा कार वा लिफ्टको लागि ठाउँ खाली राख्नु पर्ने रहेछ, राम्रा शिशा वा दारपात राख्नु पर्ने रहेछ, वास्तुदोषबाट बच्न घरको मूल ढोका पूर्व अथवा इशान कोणमा पार्नु पर्ने रहेछ, बाटोको धेरै नजिक पारेर बनाएको भए ब्यापार गर्न वा पसल भाडामा दिन पाइँदोरहेछ, बाटोको नजिक नपारेको भए अलिक शान्ति सित सुत्न पाइँदोरहेछ, झ्यालहरु अलिक ठुला राख्नु पर्ने रहेछ आदि इत्यादि...।
हजुरबुबाको कुरा सुनेको दशकौँपछि हामीले आफ्नो आर्थिक हैसियत अनुसार, बालबच्चाहरु सानै भएकाले उनीहरुलाई आवश्यक पर्ने स्कुलको गुणस्तर, तुलनात्मक रुपमा अपराध कम भएको समाज, यातायातको सुबिधा आदि इत्यादि कुरा ध्यानमा राखेर एउटा सानो बनिबनाउ घर किन्यौँ ।
किनेको केही समयपछि नेपालबाट दाजु आउनु भयो। तीन हप्ताको घुमघाम सकिएपछि फर्कने क्रममा उहाँले भन्नुभयो, 'घरको वास्तु मिलेको छैन। वास्तुदोष निवारण गर्नु राम्रो होला।"
उहाँले त्यो भन्नु भन्दा पहिले लागेको थियो हामीले आफ्नो गच्छे अनुसार राम्रै ठाउँमा राम्रै मूल्यमा उपयुक्त घर भेट्टायौँ । बच्चाहरुले स्कुल नसक्ने बेलासम्म मात्र होइन बरु बुढो हुँदासम्म ढुक्कसँग बस्नेसमेत सोचेका थियौँ हामीले ।
घर भन्ने कुरा कपडा जस्तै छिन छिनमा बदल्ने कुरा पनि त आएन । तर दाजुका कुरा सुनेपछि वास्तुदोष निवाराणार्थ पूजा लगायौँ ।
उहाँले सुझाए अनुसार कृष्टल बल ल्याएर वास्तु दोष भएका ठाउँहरुमा राख्यौँ । मिल्न र मिलाउन सकेसम्म सामानहरु र तिनीहरुका अवस्थितिहरु परिवर्तन गर्यौं ।
जीवनमा उज्यालो अँध्यारो जस्तै सुख दुःख त निर्विघ्न रुपमा आउनु छँदै थियो । तर जब दुःख आउँथ्यो हामीलाई लाग्थ्यो वास्तु नमिलेको घरमा बसेकाले सोचे जस्तो भइरहेको छैन ।
दाजुले हाम्रो राम्रैको लागि वास्तुको कुरा भन्नुभएको थियो । तर हामीलाई केही कुरा बिग्रियो कि केही काम समयमा सम्पन्न भएन कि वास्तु नमिलेको घरमा बसेकाले त्यसो भएको भन्ने कुराले सताइरह्यो ।
वास्तु खासमा केही रुपमा सत्य भए पनि सबै थोक अवश्य होइन । उपकार, मेहनत, इमान्दारिता र लगनशीलता मात्रै जीवनका हर आध्यात्मिक एवं शारीरिक आवश्यकतालाई साथ दिने अभिन्न सार तत्व हुन् भन्ने ज्ञान हुँदा हुँदै पनि आज पर्यन्त वास्तु दोषको डरले हामीलाई सताउन छोडेको छैन ।
केही बिग्रियो वा बनेन भने वास्तु दोषले त्यसो भएको हो कि भन्ने कुराले मनमा चिसो पारिहाल्छ । हामीले जीवनलाई कसरी लिन्छौँ भन्ने कुरा गर्दै गर्दा मलाई इला दिदीले पठाएको एउटा सन्देशको याद आउँछ।
त्यस सन्देशमा एक शिक्षक हुन्छन् । जसले विधार्थीहरुलाई परीक्षाको दिनमा उत्तर पुस्तिकामात्र दिन्छन् जसको बीचमा एक सानो कालो थोप्लो हुन्छ । प्रश्न पत्र नपाएपछि स्वभावतः विद्यार्थीले एक आपसमा मुखामुख गर्छन् र प्रश्न पत्रबारे सोध्छन् ।
"यो परीक्षामा प्रश्न पत्र भनेको तिमीहरुले उत्तर पुस्तिकामा जे देख्यौँ त्यसैका बारेमा लेख्ने हो । सबै विद्यार्थीहरुले कालो थोप्लो देखेकाले त्यसैको बारेमा लेखेर उत्तर पुस्तिका बुझाए ।
कसैले उक्त थोप्लोलाई बिम्बको रुपमा बुझेर त्यसै अनुसार जवाफ लेखे कसैले बस्तुगत रुपमा जे देख्न र बुझ्न सके त्यसै अनुसार लेखे ।
औसतमा उनीहरुको बुझाइ भनेको कागजको बीचमा त्यो कालो थोप्लो नभएको भए कागज कति राम्रो देखिन्थ्यो होला भन्ने थियो ।
विद्यार्थीहरुले एउटै मात्र कुरालाई देखेर त्यसै अनुसारको जवाफ लेखेर पेश गरेको थाहा पाएपछि गुरुले उनीहरुलाई भने, 'मानवीय स्वभाव अचम्मको हुन्छ। हामीले साना कुराहरुमा ध्यान दिन्छौँ । साना कुराहरुमा ध्यान दिनु अनुसन्धानका हिसाबले एकदमै राम्रो हो । तर जीवन कसरी बाँच्ने भन्ने कुरामा हामीले बृहंगम दृष्टि दिनु अनिवार्य हुन्छ जस्तो लाग्छ । हो, हामीले उत्तरपुस्तिकाको साना थोप्लोरुपी जीवनका समस्याहरुलाई समाधान गर्नुपर्छ । तर त्यसैको लागि सारा जीवन बिताउनु बुद्धिमानी हो जस्तो लाग्दैन ।'
कहिलेकाहिँ त हामी त्यो सानो थोप्लोलाई ठूलो देख्छौँ र त्यसबाट डराउँछौँ । अझ कहिलेकाहिँ त्यो सानो समस्यालाई समयमै समाधान नगरेर ठूलो बन्न मद्दत गर्छौं ।
सबैभन्दा ठूलो कुरा त हामीले उत्तरपुस्तिकाको खाली पाना पनि त जीवनको ठूलो र महत्वपूर्ण भाग हो भन्ने यथार्थलाई बिर्सन्छौँ । त्यसलाई हामीले देख्न सक्नु पर्छ। त्यति मात्रै देख्न र मनन गर्न सकियो भने जीवन सुन्दर हुन्छ ।
अब अगाडिको मूल विषयमा फर्कौँ । हो, त्यही घरमा बसेर हामीले बाल बच्चा हुर्कायौँ । उनीहरुले राम्रो शिक्षाको अवसर पाए । राम्रो संगत पाए । पुस्तकसमेत लेखेर प्रकाशन गर्न सके। हामी स्वयंले पनि वृत्ति विकास गर्न सक्यौँ ।
आजसम्म हाम्रो जीवन कसैले छ्या भन्ने वा टिठाउने खालको छैन। दिनभर काम गर्छौँ । साँझमा घर आउँछौँ । मिलेर किनेको पकाउँछौँ, सँगै बाँडिचुँडि खान्छौँ र आराम गर्छौँ ।
वर्षको अन्त्यमा केही बँचे जस्तो लाग्यो भने आवश्यकता परेकालाई दिन्छौँ । तर दिएको कुरालाई फेसबुकमा छताछुल्ल पार्दैनौँ । यसरी दिने कोसिस गर्छौँ कि बायाँ हातलाई दायाँ हातले के कुरा, कति र कसरी दियो भन्ने कुरा थाहा नपाओस् ।
तर पनि ... जब जब हाम्रा जीवनमा अप्ठेरा क्षणहरु आउँछन्,तब हामीलाई लाग्छ बसेको घरमा वास्तु दोष छ हामी यसरी भुटिन्छौँ मानौँ हामी मकैका दाना हौँ र भर्खरै मात्र कसैले हामीलाई तातो हण्डिमा हालेर भुटिरहेको छ ।
तर त्यही अनुपातमा हामी सुखद क्षणहरुलाई सम्झेर किन खुशी हुन सक्दैनौ ?
मानिसको औसत दिमागले नकारात्मक एवं स्थापित वा प्रमाणित हुन बाँकी सूचनालाई छिट्टै ग्रहण गर्छ र अनावश्यक तनाव श्रृजना गरी दुःखमा पुर्याउँछ।
त्यसको एक मात्र कारण हामी त्यस प्रकारको सूचनाबारे पहिल्यै जानकार हुन्छौँ र त्यसलाई हाम्रो मष्तिष्कले तनाव वा दुःख दिनको लागि होइन कि पूर्ववत रुपमा जानकार भएकोले पूर्वाग्रही भएर ग्रहण गरिहाल्छ।
यदि कान्छा हजुरबाले म सानो हुँदा वास्तुदोषको कुरा नगरेको भए दाजुले हाम्रो घरमा देखाएको वास्तुदोषलाई मेरो दिमागले शायद त्यो रुपमा ग्रहण गर्दैनथ्यो जुन रुपमा गर्यो । हाम्रा बालबालिकाहरुलाई अन्धविश्वास र पूर्वाग्रही सूचनाबाट टाढा राख्नै राम्रो हुन्छ।
यदि उनीहरुलाई सुचित गर्नु पर्ने नै भयो भने मलाई लाग्दछ हामीले धेरै परख गरेर उनीहरुको उमेर अनुसार मात्रै प्रस्तुत गर्नु पर्छ ।
अन्यथा त्यसको मूल्य उनीहरुले बिना कारण धेरै लामो समयसम्म चुकाइरहनुपर्ने हुन सक्छ जसरी मैले चुकाइरहेको छु ।