arrow

ललिता निवास जग्गा प्रकरण

निर्णय गर्नेहरुले उन्मुक्ति पाउने, टिप्पणी उठाउने कर्मचारी थुनामा, काम ठप्प पार्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
lalita-niwash-balwatar-land-case-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चर्चित ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि सिंहदरवारभित्र उच्च सरकारी कर्मचारीहरुले असन्तुष्टि व्यक्त गर्दै मूख्य सचिव र गृहसचिवकोको दिनहुँ गुनासो बोकेर जाने गरेका छन् । उनीहरुले केही दिनदेखि सिंहदरवारभित्र कर्मचारीले काम गर्न छाडेका छन् । 

ललिता निवास जग्गा प्रकरणमा सचिव कृष्णबहादुर राउत पक्राउ परेको विरोधमा सचिव, सहसचिव, उपसचिव र अधिकृतहरुले काम गर्न छाडेका छन् ।  आइतबार ‘ब्याट १८ अर्थात् २०५९’ का शाखा अधिकृत पास गरेका सचिव र सहसचिवहरुको टोलीले मूख्यसचिव बैकुण्ठ अर्याल तथा गृहसचिव दिनेश भट्टराईलाई भेटेर आफू काम गर्न र मातहतका कर्मचारीलाई काम गराउन अप्ठेरो परेको भन्दै अभिभावकको भूमिकामा नहरने हो भने मन्त्रालयका सबै काम ठप्प हुने चेतावनी दिएका थिए । 

उनीहरुले सचिव कृष्ण राउत पक्राउको प्रकृया गलत भएको र खासगरी उनको अपराध के हो भन्नेबारेमा कोही पनि जानकार नभएको तथा उनी आफैँले फौजदारी अपराध गर्नेगरी कुनै काम गरेको भए त्यसमा कारवाही गर्ने प्रकृया गलत भएको बताएका थिए ।

उनीहरुले अपराधी प्रमाणित भएमा कारवाहीका लागि आफूहरु बाधक नभएको तर मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि एउटा कर्मचारीले कारवाही भोग्नुपर्ने मन्त्रिपरिषदमा बसेर निर्णय गर्नेहरु उन्मुक्ति पाउने हो भने कोही पनि कर्मचारीले काम नगर्ने अवस्था आउने चेतावनी दिएका थिए । 

त्यसको बारेमा जानकारी गराउनु पर्ने उनीहरुले माग गरेका थिए ।  ‘मूख्सचिव र गृहसचिवलाई भेटेर प्रकृया गलत भयो यसले काम गर्न अप्ठेरो भयो भन्यौँ कर्मचारीको अभिभावकको जिम्मेवारी र भूमिकालाई मूख्यसचिव गृहसचिवलाई लिन आग्रह गर्यौँ’, आइतबार भेटघाट गरेका एक सचिवले भने । 

आइतबार २६ जना कर्मचारीले मूख्यसचिव अर्याल र गृह सचिव भट्टराईलाई भेटेका थिए । ‘आइतबार दिउँसो एक प्रकारले मूख्यसचिव र गृहसचिवको कार्यकक्षमा हामीले काम गर्दैनौँ नै  भन्यौँ’, एक सचिवले भने । 

ललिता निवास प्रकरणमा बहालवाला सचिव नै पक्राउ पर्न थालेसँगै निजामती कर्मचारीहरू आक्रोशित बनेका छन् । निर्णय पालना गर्ने कर्मचारीलाई पक्राउ गर्दा निर्णयकर्ताहरूले भने उन्मुक्ति पाइरहेको विषयमा कर्मचारीहरूले सांकेतिक रूपमा विरोध गर्दै आएका छन् । केही दिनअघि कृष्णहरि पुस्करले पनि मूख्यसचिवलाई भेटेर सर्वोच्चमा अपील गर्नुपर्ने आग्रह गरेका थिए । 

‘ब्लाक एण्ड ह्वाइट’ फोटोमा टाइको नट मिलाउँदै गरेको दृश्यको फोटोमा लेखिएको छ, ‘निर्णयकर्तालाई उन्मुक्तिः निमुखालाई हत्कडी ?’ यो आकृतिको फोटो प्रोफाइलमा राख्दै अधिकांश कर्मचारी यतिबेला विरोधमा उत्रिएका छन् । 

उक्त फोटोमा देखाइएको टाइ लगाएको व्यक्तिले निर्णयकर्ता या माथिल्लो पदमा रहेका उच्च पदस्थलाई संकेत गरेको छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा गत आइतबार सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ परेका थिए । 

पूर्व कर्मचारीहरुले पनि यसको विरोध गरेका थिए । बहालवाला कर्मचारीसहित पूर्व प्रशासकसमेतले टिप्प्णी उठाउने कर्मचारीलाई पक्राउ गर्दा उपल्लो दर्जामा रहेकालाई केरकार किन नगरेको भन्दै प्रश्न गरेका थिए । केही दिनअघिमात्रै पूर्व मुख्यसचिव बिमल कोइरालालेसमेत सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न गरेका थिए । तत्कालीन समयमा टिप्प्णी उठाउने र राय लेख्ने कर्मचारीहरू धमाधम पक्राउ पर्दा निर्णकर्ताहरूलाई केरकार किन नगरेको भन्ने उनको प्रश्न थियो । 

राउत पक्राउलाई नेपाल सरकारको सचिव नभएर शाखा अधिकृत पक्राउको रूपमा लिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले ललिता निवासको जग्गा व्यक्तिका नाममा दिने निर्णयको टिप्पणी उठाएको कारण पक्राउ परेका हुन् । 

उनलाई गत साता आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको थियो । तर उनलाई टिप्पणी उठाउन राय दिने तत्कालीन उपसचिव विनोदकुमार गौतमले भने उन्मुक्ति पाएका छन् । गौतम यतिबेला न्यायाधीशको कुर्सीमा आसिन छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ