arrow

सुन प्रकरणको अनुसन्धान माथिसम्म पुग्न नदिने चलखेल, यी हुन् पक्राउ परेका १०

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
100kg-gold-2080-04-04.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब सय किलो सुन प्रकरणमा १० जना व्यक्ति पक्राउ परेका छन् । विभागले बिहीबार साँझसम्म १० व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । 

सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिङ एक वर्ष पहिले नै नेपाल आएको भन्दै  बिहीबार नेपालबाट चीन जान लागेको अवस्थामा पक्राउ गरेको छ । अध्यागमन कार्यालयले उनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले अनुसन्धानका लागि विभागका अधिकारीलाई जिम्मा लगाएको हो । 

नेपालमा पछिल्लो समय क्विन्टलका क्विन्टल सुन तस्करी हुन थालेको खुलेको छ । बुधबार राति १०० केजी सुन ‘ब्रेक सु’ मा लुकाएर ल्याइएकोमा बरामद भएपछि तस्करीको जालोबारे खुल्न थालेको हो । 

हङकङबाट आएको सुन राजधानीको रेडी ट्रेडर्सको नाममा थियो । सुन तस्करीमा चिनियाँ नागरिक मुख्य नाइके रहेको विश्वस्त स्रोतले जनाए पनि पुष्टि हुन सकेको छैन । 

संगठित गिरोहले उक्त सुन तस्करी गरेको बताइएको छ । सुन तस्करीमा विभिन्न पार्टीका उच्च तहका नेता, कर्मचारी र प्रहरीसमेतको मिलेमतो हुनसक्ने अनुमान गरिएको छ । घटना खुले ठूलै पहिरो जाने भएकाले अनुसन्धानलाई माथिसम्म पुग्न नदिने चलखेल हुन थालेको स्रोत बताउँछ । 

हङकङबाट तस्करले सुन ल्याए पनि यसमा को–को संलग्न छन् र सुन कसले मगाएको थियो भन्नेबारे अनुसन्धान भइरहेको छ । विमानस्थलको भन्सारसमेत पार गराएर सिनामंगल सडकमा निकालिएको क्विन्टल सुन तस्करीमा चीनदेखि भारतसम्म विस्तारित गिरोह संलग्न भएको खुले पनि मानिसहरु पक्राउ पर्न सकेका छैनन्  । 

तस्करीमा संलग्न एक–एक जना भारतीय र चिनियाँ नागरिक पक्राउ परेका छन् । सँगै आठ नेपाली पनि समातिएका छन् तर नेपाली मुख्य नाइके खोज्न अनुसन्धान भइरहेको राजश्वका अधिकारीहरूले जनाए पनि नेपाली नागरिक को हो भन्ने बारेमा यकिन भएको छैन । 

बूढानीलकण्ठस्थित रेडी ट्रेडर्स प्रालीले स्कुटरको ‘ब्रेक सु’ का नाममा भन्सारबाट निकालिएको सामान राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर खानतलास गर्दा करिब क्विन्टल सुन भेटिएको हो । सामान लिएर बाहिरिने क्रममा रहेका भन्सार एजेन्ट राजेन्द्र राई सिनामंगलबाट पक्राउ परेका थिए ।
 
यी हुन् पक्राउ परेका १० जना
१, जिक्वाङ लिङ (चिनियाँ नागरिक)
२, थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)
३, रामकुमार भुजेल (दोलखा)
४, दीलिप भुजेल (दोलखा)
५, हर्कराज राई (भोजपुर)
६, अशोक लामा (ट्याक्सी चालक)
७, राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
८, कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)
९, पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
१०, राजेन्द्र राई (भन्सार एजेन्ट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ