arrow

सडक परिघटना शून्य अभियान

प्रहरीको आँखा छल्न हैन टाउको जोगाउन हेल्मेट

logo
डा. बद्रीप्रकाश ओझा,
प्रकाशित २०८० साउन ६ शनिबार
article-badriprakash-ojha-2080-04-06.jpg


यी माथिका दुईवटा तस्बिर हेर्नुहोस् त । यी तस्बिर भारतमा खिचिएका हुन् तर यस्ता तस्बिर भारतमात्र नभई दक्षिण एसियाका हरेक मुलुकमा देख्न सकिन्छ । नेपाल पनि यस किसिमका दृश्य देखाउनबाट अलग हुन सकेको छैन । 

सरकारी तथ्याङ्क अनुसार आव २०७८–७९ सम्ममा नेपालमा दर्ता भएका दुई तथा तीन पांग्रे सवारी साधनको संख्या करिब ३२ लाख पुगेको छ । सोमध्ये अधिकांश मोटरसाइकल छन् । नेपालमा प्रयोग हुने सवारी साधनमध्ये ७९.२६ प्रतिशत मोटरसाइकलले ओगटेको छ । यस तथ्याङ्कमा बस, ट्रकलगायतका ठूला सवारी साधन तथा ढुवानी साधन र ठूला यन्त्र जस्तै स्काभेटर आदि पर्दैनन् । 

त्यस्तै कृषिमा प्रयोग हुने ससाना हाते ट्रयाक्टर पनि पर्दैनन् । बसभन्दा बढी ढुवानी साधन प्रयोग हुने अनुमान गरिन्छ । सबै साधन जोड्ने हो भने त करिब ६० लाखकै हाराहारी पुगेका होलान् । 

राष्ट्रिय सडक सुरक्षा परिषद्ले विश्व स्वास्थ्य संगठनको सहयोगमा काठमाडौँको स्नायू अस्पतालमा गरेको अध्ययन अनुसार ९९ जना घाइतेमध्ये ६२ जना मोटरसाइकलका चालक तथा यात्रु थिए । उनीहरुको टाउकोमा चोट लागेको थियो । यसका कारण थिएः  मोटरसाइकल चालकले मात्र नभई त्यसमा सवार यात्रीलेसमेत हेलमेट नलगाउनु, लगाए पनि जस्तो किसिमले लगाउनुपर्ने हो त्यस्तो किसिमले नलगाउनु, साथै जस्तो मापदण्ड भएको हेलमेट बजारमा उपलब्ध हुनुपर्ने हो, त्यस्तो किसिमको हेलमेट नहुनु आदि ।  

परिषद्ले भियतनाममा गरिएको एक अध्ययनलाई उधृत गर्दै बताएअनुसार मोटरसाइकलमा सवार चालक तथा यात्रीले हेलमेट मात्र लगाए पनि मृत्युदरमा ४० प्रतिशत र टाउकोमा लाग्ने चोटमा ७० प्रतिशतले कमी ल्याउन सकिन्छ । हेलमेटको अनिवार्यता गरेपछि १० वर्षको अवधिमा भियतनाममा पाँच लाख मानिस सडक परिघटनाबाट बचाउन सकिएको थियो भने १५ हजार मानिसहरुको मृत्यु हुनबाट जोगाइएको थियो । यसबाट उक्त मुलुकले उपचार तथा पीडाको खर्चबाट साढे तीन अर्ब अमेरिकी डलर जोगाउन सफल भएको थियो । 

मोटर साइकल, स्कुटर तथा साइकल आदिका चालक तथा यात्रीको सुरक्षाका लागि राष्ट्रिय सडक सुरक्षा परिषद्ले हेलमेट प्रयोगसम्बन्धी रणनीति तयार पारेको छ । उक्त रणनीति नेपाल सरकारले स्वीकृत पनि गरिसकेको छ । परिषद्ले सन् २०२३ भर हेलमेट प्रयोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम पनि सोही रणनीतिमार्फत सार्वजनिक गरेको छ । यस कार्यमा परिषद्लाई विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले सहयोग गरेको छ । 

नेपालमा एक पटक यात्रीका लागि हेलमेट अनिवार्य गर्ने कानून कार्यान्वयनमा ल्याइए पनि यस कार्यमा राजनीतिक सहयोग नभएका कारण बीचमै तुहियो । यस्ता कार्यलाई प्रहरीको पेवाका रुपमा लिइन्छ । पछिल्लो पटक मापसे गरेर सवारी साधन चलाउन नपाउने विषयलाई पनि खास भन्ने हो भने प्रहरीकै पेवाका रुपमा लिइएको पाइएको छ । प्रहरीको यस कार्यलाई पर्यटन क्षेत्रले त खुलेरै विरोध पनि गर्दै आएको छ । सरकारी पक्षबाट पनि यसलाई गम्भीर रुपमा लिएको देखिँदैन । यदि सरकार गम्भीर भएको भए सडक सुरक्षा विधेयकलाई तुहाउने काम नगर्नु पर्ने हो । 

नेपालको सन्दर्भमा मोटरसाइकलमा सवारहरुले हेलमेट अनिवार्य लगाउनु पर्दछ भन्ने जनचेतनाको कमी देखिएको छ । उनीहरु हेलमेट आफ्नो टाउको जोगाउनभन्दा पनि प्रहरीको आँखा छल्न लगाउँछन् । त्यसैले त निर्माण कार्यमा प्रहयोग हुने हेलमेट मोटरसाइकल चालकले पनि लगाएको पाइन्छ । यसका साथै हेलमेट लगाउँदा पनि यसो पुलिसको आँखामात्र छल्नेगरी चिउँडोमा अड्याएर लगाएका हुन्छन् । 

त्यस्तै मोटरसाइकलसहित एउटा हेलमेट किने पनि पछि बस्नेले अर्को हेलमेट लगाउँदैनन् । एकाघरका पतिपत्नी वा आमाछोरा, दाजुभाइमध्ये चालकले मात्र हेलमेट लगाउँछ । यसो हेर्दा पछि बस्नेको टाउको फुटे पनि केही हुँदैन भन्ने जस्तो देखिन्छ । यसमा जनचेतनाका साथै अर्को हेलमेटको मूल्यका लागि खर्चनुपर्ने पैसाको पनि भूमिका रहन्छ । यसैगरी कानून कार्यान्वयनप्रति प्रतिवद्धताको कमी पनि अर्को एउटा कारण हो । 

काठमाडौँमै गरिएको एउटा अध्ययन अनुसार टाउकोमा चोट लागेर अस्पताल भर्ना गरिएका १८ वर्षमुनिका किशोरकिशोरी तथा बालबालिकामध्ये १२ प्रतिशत मोटरसाइकलमा यात्रा गर्दा हेलमेट नलगाएका कारण घाइते भएका पाइएको थियो । 

हेलमेटको अनिवार्यतासम्बन्धी युरोपका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक आयोगले हेलमेटले कसरी टाउको जोगाउँछ भन्नेबारे वैज्ञानिक तथ्य प्रस्तुत गरेको छ । उसकाअनुसार जब हाम्रो टाउको ठोकिन्छ, मष्तिष्कमा रहेका कोशिकाहरु छेउँको हाडमा बजारिन्छन् र घाइते बन्दछन् । ती घाइते कोषिकाहरु मर्दछन् र तिनीहरुको सट्टामा अरु कोषिका बन्दैनन् । मष्तिष्कका कोषहरुमा हुने क्षति कहिल्यै पनि पूर्ति गर्न मिल्दैन । 

त्यसैले दिमागको कुनै भागमा समस्या उत्पन्न भएपछि सो भागले निर्देशन गर्ने शरीरको भागले पनि काम गर्दैन । फलस्वरुप मानिस विकलांग बन्दछ । ठोक्कियो टाउको तर चल्दैन पूरै शरीरको एक भाग वा एक अंग । यस विषयमा हामी सबैले गम्भीर भएर सोच्नुपर्दछ । 

अफ्रिकन सडक सुरक्षा जर्नलमा प्रकाशित एक अध्ययनअनुसार दक्षिण पूर्वी एसियामा मानिसको यातायातको पहिलो रोजाइ मोटरसाइकल हो । सबैभन्दा बढी भियतनाममा ९६ प्रतिशत मानिसले मोटरसाइकल प्रयोग गर्छन् भने सबैभन्दा कम थाइल्यान्डमा ६१ प्रतिशत जनसंख्याले मोटरसाइकल प्रयोग गर्दछ । यी सबै देशमा हेलमेट अनिवार्य गरिए पनि कानून कार्यान्वयन पक्ष फितलो भएका कारण ७० प्रतिशतले मात्र हेलमेट प्रयोग गर्दछन् । 

त्यस्तै ती देशहरुमा रोडक्र्यासमा ज्यान गुमाउनेहरु पनि मोटरसाइकल चालक वा यात्रु नै बढी छन् । मोटरसाइकल परिघटनामा परी ज्यान गुमाउनेहरुमध्ये सबैभन्दा बढी लाओसमा ७४ प्रतिशत र सबैभन्दा कम सिंगापुरमा ४६ प्रतिशत रहेको जर्नलमा उल्लेख छ । यस जर्नलले अधिकांश तथ्याङ्क विश्व स्वास्थ्य संगठनबाट साभार गरेको छ । 

यातायात व्यवस्था विभागका अनुसार नेपालमा ७१.५ प्रतिशत मानिसहरु मोटर साइकलमा सवार गर्दछन् । दक्षिण एसियाली मुलुकहरुमा मोटरसाइकलको प्रयोगको औसत प्रतिशत भने ७० छ । दुई पांग्रे सवारी साधन र चार पांग्रे सवारी साधनको तुलना गर्ने हो भने चारका तुलनामा दुई पांग्रेमा प्रतिकिलोमिटर यात्रामा परिघटनाको दर ३० गुणाले बढी हुन्छ । 

यस्तै विश्वमा चलाइनेमध्ये मात्र १० प्रतिशत सवारी सधान चलाइने क्षेत्र दक्षिण एसियामा रोडक्र्यासमा ज्यान गुमाउनेमध्ये ३० प्रतिशत पर्दछन् । त्यसमध्ये ४० प्रतिशत मृत्यु मोटरसाइकल सवारहरुको हुने गर्दछ । यसरी मर्नेहरुमध्ये अधिकांश गरिब तथा जोखिमयुक्त जीवन बिताइरहेका र सडकको जोखिममा पर्ने मानिसहरु पर्दछन् । मृतक त पीडित हुन्छ नै पूरै परिवार आर्थिक संकटको जालमा फस्छ । 

दुई पांग्रे सवारी साधनमा सवार चालक र यात्रु दुवैले हेलमेट मात्र लगाए पनि ठूलो मात्रामा मानिसको ज्यान जोगाउन सकिन्छ । संयुक्त राष्ट्रसंघले सन् २००८ देखि २०२० को बीचमा गरेको एक अध्ययन अनुसार त्यस अवधिमा विश्वमा ३४ लाख मानिसले मोटरसाइकल यात्रामा जीवन गुमाए । यदि ती यात्री तथा चालकले मापदण्ड अनुसारको हेलमेट मात्र लगाएका भए कम्तिमा पनि १४ लाख मानिसको ज्यान बचाउन सकिने उक्त अध्ययनले देखाएको छ । 

दक्षिण एसियाली मुलुकमध्ये भारतले सन् २०२१ देखि हेलमेटको मापदण्ड सम्बन्धी कानूनी व्यवस्था गरे पनि अन्य दक्षिण एसियाली मुलुकमा यस्तो कानून लागू गरिएको छैन । यो माथिको तस्बिर पनि भारतको ग्रामीण क्षेत्रकै हो । हेलमेट मापदण्ड लागू भए पनि शहरमा त्यस्तो मापदण्डमाथि ख्याल गरिएकै होला तर ग्रामीण क्षेत्रमा प्रहरीको आँखा छल्नमात्र हेलमेट लगाइन्छ । यो क्रम बंगलादेश र नेपालमा पनि उस्तै छ । 

सर्वसाधारणलाई हेलमेट प्रयोगबारे जनचेतना जगाउन नेपाल प्रहरीले मोटरसाइकल तथा स्कुटर प्रयोग गर्ने र त्यस किसिमको एउटा सवारी सधानमा दुई जना चढ्ने आफ्ना कर्मचारीहरुले अनिवार्य रुपमा हेलमेट लगाउनु पर्ने व्यवस्था गरेको छ । अब विस्तारै यस क्रमलाई बढाएर दुई जना सवार दुई पांग्रे सवारी साधनमा अनिवार्य रुपमा यात्रीले पनि हेलमेट लगाउने अभियान शुरु गरिएको छ । 

अभियानको शुरुआत स्वरुप काठमाडौँ महानगरपालिका र सिंहदरबार प्रवेशबाट गर्नेबारे परिषद्ले सम्बन्धित अधिकारीहरुसमक्ष छलफल शुरु गरिसकेको छ । परिषद्ले नेपाल प्रहरीसँगको समन्वयमा हेलमेट अनिवार्य कार्यक्रमलाई विस्तारै अन्य संगठित संस्था जस्तै नेपाली सेना, सशस्त्र प्रहरी बल उपत्यकाका स्थानीय निकायका कर्मचारी तथा सेवाग्राही हुँदै सर्वसाधारणसम्म पुग्ने र यसलाई देशव्यापी अभियानका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । 

आउनुहोस् तपाई हामी पनि बाइक वा स्कुटरबाट बालबालिकालाई विद्यालय पुर्याउँदा होस् वा नजिकैको पसलमा किनमेल जाँदा होस्, अनिवार्य रुपमा हेलमेट लगाउने बानी बसालौँ । चालकले मात्र होइन, यात्रीले पनि अनिवार्य रुपमा हेलमेट लगाऔँ । प्रहरीको आँखा छल्नुमात्र हेलमेटको काम होइन । यसले हाम्रो टाउको जोगाउँछ भन्ने तथ्यलाई भित्रैदेखि मनन् गरौं । आफू बचौँ र पछि बस्नेलाई पनि बचाऔँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ