arrow

गाडी चढ्ने धनी मार खेप्ने गरिब

logo
डा. बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८० साउन १३ शनिबार
article-badriprakash-ojha-2080-04-13.jpg

यी बुँदाहरु पढौँ त–
-    हरेक वर्ष विश्वमा १३ लाख ५० हजार मानिसको मृत्यु सडकमा हुन्छ । त्यो पनि अन्य कुनै कारणले नभई रोडक्र्यास अथवा गाडीले किचेर । 

-    यसरी गाडीले ठक्कर दिएकामध्ये ५० लाख मानिस घाइते अवस्थामा बाँच्दछन् । 

-    गाडीको मारमा पर्नेमध्ये ९० प्रतिशत मानिस कम आय भएका मुलुकका नागरिक हुन् । उनीहरुमध्ये कतिपयले गाडी चढ्ने मौका पनि नपाएका हुन सक्छन्, कारण आर्थिक हैसियत ।

-    विकसित अथवा धनी देशका तुलनामा गरिब अथवा कम आय भएका मुलुकमा सडक असुरक्षित हुँदा मर्नेको संख्या करिब तीन गुणा बढी छ । धनी देशमा प्रति एक लाखमा ८.३ जनाले रोडक्र्यासमा ज्यान गुमाउँछन् भने गरिब देशमा २७.५ जनाले । 

-    गरिब देशमा सडकको जोखिममा पर्नेहरुमा पैदल यात्री, साइकलमा सवार तथा दुई वा तीन पांग्रे सवारी साधनका प्रयोगकर्ता बढी छन् । यिनीहरुलाई सडक सुरक्षाको भाषामा जोखिमपूर्ण सडक प्रयोगकर्ता मानिन्छ । 

-    यी जोखिमयुक्त सडक प्रयोगकर्ता पनि कम आय भएका मुलुकमै बढी मारमा पर्दछन् । 

-    धनी मुलुकमा ३९ प्रतिशत जोखिमयुक्त सडक प्रयोगकर्ता पर्दछन् भने मध्यम आय भएकामा ५१ र कम आय भएका गरिब दुःखीकोमा ५७ प्रतिशत । 

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा सडकमा ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी चार पांग्रे सवारी साधनका प्रयोगकर्ताहरु जस्तै चालक तथा यात्रु पर्दछन् । विश्वमा सडक परिघटनामा ज्यान गुमाउनेमध्ये २९ प्रतिशत यस्ता मानिस पर्दछन् । 

त्यस्तै २७ प्रतिशत स्थान ओगट्दै दुई वा तीन पांग्रे सवारी साधनका प्रयोगकर्ता दोस्रो स्थानमा छन् । त्यस्तै २३ प्रतिशत पैदल यात्रीको ज्यान जान्छ भने १७ प्रतिशत अन्य र तीन प्रतिशत साइकल प्रयोगकर्ताको सडककै कारण ज्यान जान्छ । 

यही तथ्यांक दक्षिण तथा पूर्वी एसियामा आइपुग्दा उल्टिन्छ । यहाँका मध्यमस्तरका मानिसहरु दुई वा तीन पांग्रे सवारी साधनको प्रयोग बढी गर्दछन् । त्यसैले यस क्षेत्रमा त्यस्ता सवारीका कारण ज्यान गुमाउनेको प्रतिशत ४३ छ । त्यस्तै पैदलयात्री १४ प्रतिशत छन् भने चार पांग्रेका प्रयोगकर्ता २५ प्रतिशत पर्दछन् । 

यही तथ्यांक युरोपमा ठीक उल्टो छ । त्यहाँका सडकमा मृत्यु हुनेमा ४८ प्रतिशत चार पांग्रेका प्रयोगकर्ता पर्दछन् । समान्यतया चार पांग्रे भनेर त्यहाँ निजी सवारी साधनलाई मानिन्छ । त्यताका सार्वजनिक यातायातका साधन सुरक्षाका दृष्टिले निजीभन्दा धेरै स्तरीय छन् । 

सडक सुरक्षाका दृष्टिले जोखिमयुक्त सडक प्रयोगकर्ता (भल्नरेबल रोड युजर, भीआरयू) लाई पनि चार भागमा विभाजन गरिन्छ । 

सामान्य रुपमा हेर्दा पैदल यात्री र साइकल प्रयोगकर्तालाई भीआरयू मानिए पनि त्यतिले मात्र यसको परिभाषा पूरा हुँदैन । पैदलयात्री भन्दा बढी मारमा पर्दछन्, दुईपांग्रेका प्रयोगकर्ता । नेपाल प्रहरीकै तथ्यांकलाई हेर्ने हो भने पनि गत वर्ष २३ हजार वटा रोडक्र्यासका घटना भएकोमा १९ हजारवटा त मोटरसाइकलसँग सम्बन्धित क्र्यास थिए । 

त्यस्तै सडकको जोखिम मोल्नेमा कृषि यन्त्रका रुपमा प्रयोग गरिने सवारी साधन पनि पर्दछन् । यस्ता साधनको मारमा पैदल यात्रीमात्र नभइ साधन आफैँ पनि पर्दछ । 

एउटा कुरा विचार गरौँ कि यो काठमाडौंमा ट्रलि जोडिएको हाते ट्रय्राक्टर अझै पनि चल्दछ । यो साधन कुन कानून अन्तर्गत चलाइएको हो अझै पनि प्रस्ट छैन । 

यो यति जोखिमयुक्त हुन्छ कि यसको अघिल्लो भाग फुत्केर सडकमा काम गर्दै गरेका, हिँड्दै गरेका, यात्री वा पार्किङ गरिएका सवारी साधन आदिमा बजे्रका घटना सुनिन्छ र देखिन्छ पनि । 

अर्काथरी जोमिखवाला भनेका सिकारु वा बच्चा चालक । बच्चा नै त होइनन्, १८ वर्ष नपुगी त नेपालमा सवारी अनुमति नै पाइँदैन । 

भन्न खोजेको भर्खर सिकेर सवारी साधन चलाउने चालक । अरु देशका यस्ता चालक निजी सवारी चलाउँछन् भने हाम्रोमा भाडाका हल्का गाडी चलाउँछन् । 

जस्तो कि माइक्रोबसका चालक । त्यसैले त वीपी हाइवेमा माइक्रोबसलाई टाइम कार्डको व्यवस्था गरिएको छ । सुविधायुक्त नभए पनि रिल्याक्स सेन्टर पनि स्थापना गरिएको छ । 

भीआरयूको अर्को वर्गमा सडकमा काम गर्ने कामदार पनि पर्दछन् । भीआरयूमध्ये पैदल यात्रीहरु विभिन्न कारणले सडकमा आउँछन् । 

काममा जाँदा, स्कुल जाँदा र शारीरिक अभ्यास गर्दा खुट्टाले सडकको प्रयोग गरिन्छ । यीमध्ये पनि बालबालिका तथा अशक्त ज्येष्ठ नागरिक, फरक क्षमता भएका मानिसहरु सबैभन्दा बढी जोखिममा पर्दछन् । 

नेपालमा सार्वजनिक सवारी साधन भरपर्दो माध्यम बन्न नसकेका कारण मानिसहरु मोटरसाइकल तथा स्कुटरको प्रयोग गर्दछन् । जति नै सडक खुला भए पनि वा जाम भए पनि एक जना मात्र यात्री देखे पनि रोख्ने, रोक्दा पनि जहाँ पायो त्यहीँ रोक्ने, पछाडिको सवारी साधनले भोग्नुपर्ने समस्याबारे मतलब नराख्ने आदि सार्वजनिक सवारी साधनका गुण नै मान्नुपर्दछ । 

सात दोबाटोबाट बस चढेर दरबारमार्ग पुगेर एउटा चिठी लिएर हरिहरभवन पुग्न तीन घन्टा लाग्यो । जम्मा दूरी छ आतेजाते गरी १७ किलिोमिटर । 

घण्टाको त्यस्तै ६ किलोमिटर सरदर गति । चिठी टाइप गर्ने समय कटाउने हो भने घन्टाको ७ किलोमिटर पर्ला कारण चिठी बढीमा १५ मिनेटमा तयार पारिएको थियो । 

यही मारबाट बच्नका लागि मानिसले मोटरसाइकल प्रयोग गरेका हुन् । प्रयोग गर्नु राम्रो र छिटो पनि । तर नचाहिँदो गरी द्रूत गतिमा हाँक्ने, हेलमेटको प्रयोग नगर्ने, चालकले प्रयोग गरे पनि सँगै बस्नेले प्रयोग नगर्ने, गरिहाले पनि जसरी प्रयोग गर्नुपर्ने हो त्यसरी नगर्ने, सबै प्रक्रिया पूरा गरे पनि बजारमा सुरक्षा मापदण्ड भएको हेलमेट नपाउने आदि मूख्य समस्या हुन् । 

यी सबैभन्दा बढी समस्या त्यतिबेला पर्दछ जतिबेला कुनै गाडीको दाहिने र देब्रे दुवैतर्फबाट मोटरसाइकलले ओभरटेक गर्दछन् । मोटरसाइकल चढेपछि जताबाट पनि ओभरटेक गर्न पाइन्छ भन्ने कहाँबाट सिक्छन् होला ? यही समस्या कार र बसमा पनि छ । अर्थात् सबै सवारीले जताबाट पनि ओभरटेक गरिदिन्छन् । 

हाम्रोतिर आफूले मात्र सुरक्षित हँकाइ गरेर हुन्न, अर्कोलाई पनि यसबारे जानकारी हुनुपर्दछ । अर्को किसिमका जोखिममा पर्ने साधनमा कृषिमा प्रयोग हुन् स–साना यन्त्र, पशुको प्रयोगमा गुडाइएका गोरुगाडा जस्ता सामग्री पर्दछन् ।

अन्य सडक प्रगोकर्ताका लागि भीआरयू पनि जोखिमका विषय हुन् । गरिब देशमा स्रोतको कमीका कारण कमसल मापदण्डको पूर्वाधार निर्माण गरिनाले सडक प्रयोगकर्ता जोखिममा पर्दछन् । 

कम आय भएका मुलुकका सडकमा मोटर प्रयोग नभएका सवारी साधन जो सुस्त गतिमा गुडाइन्छन् र रफ्तारमा दौडिन सक्ने मोटरसाइकल पनि एउटै सडकमा दौडाइन्छन् । सडकमा घटना हुन सक्ने संभावना यहीँबाट शुरु हुन्छ ।

पैदल यात्रुमाथि जोखिम निम्त्याउने तत्वहरुमध्ये सवारीका चालक, सवारी साधन, सडकको अवस्था, जनसंख्या तथा नीति  र पैदल यात्रु स्वयं मूख्य मानिन्छन् । 

त्यस्तै रोडक्र्यासका कारणमध्ये सडक पार गर्दा हुने लापरबाही, ट्राफिक संकेतको अवज्ञा, ट्राफिक नियम उल्लंघन गरी बाटो काट्ने वा सवारी साधन मोड्ने, सवारी गतिको आँकलन गर्न नसक्नु र सडक आफैँ सुविधायुक्त नहुनु आदि पर्दछन् । 

यस्ता जोखिमबाट बँच्नका लागि पैदल यात्रीले पैदलयात्रीका लागि बनाइएको लेनको प्रयोग गर्ने, बत्तीको संकेतलाई मान्ने र उपयुक्त संकेतको व्यवस्थापन आदि पर्दछन् ।
 
जे होस् सडकमा सबैभन्दा बढी प्राथमिकता पैदल यात्रीलाई दिइनु पर्दछ भन्ने विश्वव्यापी मान्यता नै छ । फेरि पनि दोहोर्याएर भनौँ, हिँड्नु स्वास्थ्यका लागि असल काम हो । यस कार्यले वातावरणलाई पनि सफा राख्न सहयोग गर्दछ । 

तर सडक नै पैदल यात्रीको चिहान बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा उपलब्ध गराएका तथ्यांक अनुसार सो वर्ष विश्वमा तीन लाख १० हजार मानिसको सडक परिघटनामा ज्यान गयो । 

उक्त संख्या सो वर्षको विश्वमा भएको मृत्युको २३ प्रतिशत हो । प्रतिकिलोमिटर यात्रामा कार सवार हुनेका तुलनामा पैदल यात्रीको मृत्यु दर नौ गुणाले बढी हुन्छ । यस दरलाई घटाउन अत्यन्त आवश्यक छ । यस कार्यका लागि आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नु जरुरी छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ