- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालको राजनीतिक परिवर्तनको लागि इतिहासमा थुप्रै आन्दोलनहरू भए । देश जोगाउन र बचाउन धेरै मानिसहरू शहीद भए । जनताको आन्दोलनकै कारण पटकपटक व्यवस्था नै परिवर्तन पनि गरिए, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आयो तर जनताको अवस्थामा उल्लेखनीय परिवर्तन आउन सकेन । नेपाली जनतालाई उनै पुरानै समस्याले छोडेको छैन ।
अस्ति र हिजो आर्थिक वा सामाजिक वा यस्तै किसिमका जेजे समस्याहरू थिए आज पनि ती यथावत् नै छन् । आजको २१ औँ शताब्दीमा आइपुग्दा विश्वका कतिपय देशहरू कहाँबाट कहाँ आइपुगे । नेपाल भने जहिले पनि राजनीतिक अस्थिरताको फलामे साङ्ग्लोमा फसिरहेको छ ।
नेपाली जनताको जीवनस्तर समयको परिवर्तनसँगै बढ्ला भन्दा झन् घढ्दो छ । नेपाली जनताहरूलाई जहिले पनि आधारभूत आवश्यकताहरू गाँस,बास,कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारकै अभाव र चिन्ता छ । समयक्रममा राजनीतिले निकास पाउनै नसक्दा देशले विकास पाउन सकेको छैन।देशको विकास हुन नसक्नुको मूल समस्या नै राजनीतिक अस्थिरता नै देखिन्छ ।
राजनीतिले निकास र देशले विकास हुन नपाउनु भनेकै राजनीतिक नेतृत्वको असक्षममता, भ्रष्टाचार र बेइमानी नै हो। राजनीतिक नेतृत्व सदा सत्ताको दाउपेचमा नै लम्पट भएको छ । उनीहरूलाई देश र जनताका बारेमा सोच्ने फुर्सद नै छैन । आफ्ना युवा जनशक्तिलाई बाहिर पठाएर उनीहरूले पठाएको रेमिटान्सबाट देश चलाएका छन् ।
देशको करिब एक तिहाई जनसंख्या विदेशीएको छ। कृषिप्रधान देश भनेर चिनिएको नेपालका जग्गाजमीन र खेतबारीहरू बाँझिएका छन् । कतिसम्म लाजमर्दो अवस्था छ भने अर्बौँ खर्चेर टुथ पिक र सिन्कीसमेत देशले आयात गर्नुपरेको देखिन्छ । युवाशक्ति विदेशीएको छ । उत्पादन छैन,रोजगार छैन,निर्यात छैन,अनि देश कसरी चल्छ ? यो अहिले देशको अगाडि ठूलो प्रश्नचिन्ह खडा भएको छ ।
राजनीतिक अस्थिरता र जिम्मेवारविहीन नेतृत्वले गर्दा अहिले देशका सम्पूर्ण संयन्त्रहरू काम नलाग्ने भुत्ते अवस्थामा पुगेका देखिन्छन् । यी सबै संयन्त्रलाई नसच्याएसम्म मुलुकले सही गोरेटो पहिल्याउन सक्दैन । मूलमा नै फोहरको डङ्गुर थुप्रिएको छ,त्यसलाई हुत्याउनु पर्छ ।
कार्यपालिका,न्यायपालिका,व्यवस्थापिका, कर्मचारी प्रशासनमा सुशासन, इमानदारी, कर्तव्यबोध र जवाफदेही भन्ने नै छैन । केबल भ्रष्टाचार र अनियमितताको खेल मात्र हुने गरेको देखिन्छ । देश र जनताका बारेमा न नेताले सोच्छ न कर्मचारीले सोच्छ । राजनीति भनेको केबल सत्ता र चुनावदेखि चुनावसम्म मात्रको खेल भएको देखिन्छ ।
गणतन्त्र र संघीयताको नाममा एउटा राजा हटाएर हजारौँ राजा बनाइए । गाउँगाउँमा सिंहदरबार बनाउने भनेर झन् न्यायनिसाफ बिनाका राजदरबार बनाइए । विकासका नाममा डोजरे विकास र भ्युटावर बनाइए । देशको सम्पत्तिलाई नीतिगत रुपमै अनियमितता र भ्रष्टाचार गरी लुटेर र खोक्रो बनाइएको छ । अहिले त हुँदाहुँदा राज्यबाट नै देशलाई मानव बेचबिखन र तस्करका काण्डैकाण्डको अखडा बनाइएको छ । देशका कुनै पनि आर्थिक सूचकहरू सकारात्मक छैनन् ।
मूलधारका राजनीतिक दलका नेतृत्वहरू पूर्ण रुपमा असफल र अयोग्य प्रमाणित भएका छन् । उनीहरू अझै पनि जनतालाई झुक्याउने र कुम्ल्याउने दाउमा नै रहेका भने देखिन्छन् । बाहिर एक आपसमा गाली गरेको नाटक गर्दै सत्तालाई बाँडिचुडी र खाने प्रयत्नमा लागिरहेकै छन् । उनीहरूको राजनीति र सोच भनेको सत्तालाई कसरी टिकाउने र देशको सम्पत्ति कसरी लुट्ने भन्ने मात्रै भएको देखिन्छ । यस्तो अवस्थामा नेपाली जनताहरू अत्यन्तै सचेत र सजग हुनुपर्ने देखिन्छ ।
आज प्रजातन्त्र पुनःबहाली भएको चौतीस वर्ष बितेको छ । तर जनताको जीवनस्तर र भौतिक पूर्वाधारमा खासै परिवर्तन हुन सकेको छैन । देशलाई उठ्न नसक्ने तरिकाले भड्खालोमा जाक्ने काम गरिँदैछ । राजनीतिक दलहरू बारम्बार पुरानै र फोहरी खेलमा रमाइरहेका छन् । दलहरूका बीचमा कुनै दिन पनि जनताका समस्याका बारेमा छ्लफल, बहस, चिन्ता, योजना भए भनेर सुनिँदैन । प्रजातन्त्र, लोकतन्त्र, संघीयता, सुशासन, कानूनी राज्य, मानव अधिकार, समानता आदि विषयहरू संविधानका पानामा मात्र सीमित भएका छन् । राज्यसत्ताले संविधान र कानूनी राज्य सञ्चालन गर्न सकेको छैन ।
नेपालका दलहरूले अझै पनि नेपाललाई एउटा अस्थिर राजनीतिको केन्द्र र असफल राष्ट्र बनाउन प्रयत्न गरिरहेकै छन् । राजनीतिक नेतृत्वमा इच्छा शक्ति हुने हो भने एक दशकमा नै उथलपुथल भई विकासको चुचुरोमा पुगेका देशहरू थुप्रै छन् । नेपाल विकास गर्न खोज्दाखोज्दै कुनै प्राकृतिक विपत्ति वा युद्धका कारण विकसित हुन नसकेको देश होइन,यो त विकास गर्नै नखोजेर देशका बारेमा चिन्ता र चिन्तन नै नभएर अविकसित बनाइएको देश हो ।
देशलाई केही सीमित व्यक्तिले आफ्नो मुठ्ठीभित्रको माखो जस्तो बनाएका छन् । विगत तीन दशकदेखि नै सीमित व्यक्तिको मुठ्ठीभित्र देश फसेको छ । राज्यका सम्पूर्ण संयन्त्रहरूमा ती सीमित व्यक्तिहरूले भ्रष्टाचारको बलियो जालो तोड्न नसक्ने गरी फैलाएका छन् । राज्य संयन्त्रलाई आफ्नो कमाउने धन्दाको नेटवर्क बनाएका छन् ।
राज्यसत्ता गोलो घेराको खेल जस्तो भएको देखिन्छ । राजनीतिक र प्रशासनिक नेतृत्वले सत्ता र प्रशासनलाई आफ्नो पैत्रिक सम्पत्ति जस्तो ठानी अरु कसैलाई छिर्न वा पर्न नदिने दाउमा लागिरहेका हुन्छन् । विभिन्न राजनीतिक दलहरूले आफ्ना नाम जेसुकै राखे पनि दलीय चिन्तन,वाद, सिद्धान्त भनेको जसरी पनि सत्तामा पुग्नु नै भन्ने देखिन्छ ।
राजनीतिक दल र नेतृत्वमा दृढ इच्छाशक्ति र देश बनाउने सपना नहुनाले नै आज देश यति धेरै पछाडि परेको हो । कतिपय राजनीतिक दलहरू त व्यक्तिका निजी कम्पनी जस्ता बनेका छन्,जहाँ नेतृत्वको टीके प्रणालीबाट दलहरू चलेका देखिन्छन् । दलहरूमा कत्ति पनि आन्तरिक लोकतन्त्रको अभ्यास र प्रयोग भन्ने छैन । देशलाई नै लुटी सिद्धान्त र निष्ठा बिनाका झोले र टीके कार्यकर्ता पालेर दल चलाइएको देखिन्छ ।
अहिले नेपाली जनताहरू अभिभावकविहीन र सहाराविहीन हुनुपरेको छ । नेपाली जनतामा चरम निराशा देखिन्छ । जनताहरू यी नेतृत्वको व्यवहार देखेर वाक्क, दिक्क र खिन्न छन् । यस बेलामा नेपाली जनताहरूले पुन: एकपटक राम्रै सोच्ने बेला आएको पनि देखिन्छ । देशमा जरा गाडेर बसेको यो नेतृत्व र विकृतिका विरुद्धमा आलोचना, विरोध, बहिष्कार र आक्रोशका ज्वाराभाटाहरू दन्काउनु पर्ने नै देखिन्छ । अब चुप्प लागेर सच्चिन्छ्न् कि भन्ने दिन गए ।
बरु गधालाई धोएर गाई बन्ला तर यी नेतृत्वलाई जति गाली गरे पनि सच्च्याउँछु भने पनि कहिल्यै सुध्रिनेवाला र सच्चिनेवाला छैनन् । नेपाली जनताहरूले धेरै वर्ष पर्ख र हेरे तर परिणाम केही आउन सकेन बरु झन् बर्बादीको बाटोतिर धकेलिन लागेको पो देखिन्छ । अब पनि यिनैलाई हेरेर गर्लान् कि भनेर बस्ने बेला नै छैन । यी राजनीतिक दलहरूको विकल्प खोज्ने बेला आएको छ, अब समयले पर्खिने छैन । अब पनि पर्खिन खोज्यौँ र अल्मलियौँ भने देश नै नरहन सक्छ । अब ढिलो भयो, विकल्प खोजौँ र नयाँ बाटोमा हिडौँ ।
यो संसारमा हरेक कुराको विकल्प छ । अबको समयमा पनि यो नै अन्त्य हो, यो भन्दा अरु केही हुन सक्दैन भन्नु गलत हो । व्यक्तिको विकल्प व्यक्ति र दलको विकल्प दल नै हुन सक्छ । विकल्प नै नसोची निराश भएरै बस्ने हो भने देशले कहिल्यै पनि राजनीतिक निकास र विकास पाउन सक्दैन । दल सच्चाउने वा सच्चिने भन्दा पनि अब जनता नै सच्चिनु पर्ने देखिन्छ ।
कसैको पुच्छर वा झोले बनेर हो मा हो थप्नु हुँदैन । सही र गलतका आधारमा आलोचना र विरोध गर्नुपर्छ । आँखा चिम्लेर यो मेरो दलको मान्छे भनेर मत खसाल्ने परम्परालाई अन्त्य गरिनुपर्छ । राजनीतिलाई पेशा वा व्यवसाय बनाउनु हुँदैन । गएको निर्वाचनको बेलामा आएको एउटा लहर वा नारा नो नट अगेनलाई सार्थक बनाउनु पर्छ ।
पुराना दलका शीर्षस्थ नेतृत्व पङ्तिलाई सदाका लागि बिदा गर्नुपर्छ । अहिले नेपाली राजनीतिमा देखा परेका वैकल्पिक दल वा मूलधारको राजनीति भित्रको पुस्तान्तरण र रुपान्तरण मुद्दा उठाउँदै नेतृत्वको विकल्पका रुपमा आउन खोजेका नयाँ युवाशक्तिलाई आशाको त्यान्द्रोको रुपमा लिइ साथ र समर्थन गरिनु नै अहिलेको प्रमुख विकल्प देखिन्छ । (भर्जिनिया,अमेरिका)