arrow

फैलिँदै आँखा पाक्ने रोग, यस्तो छ विशेषज्ञको सुझाव (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
AAKHA-PAKNEY.jpg

काठमाडौं । देशभर आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) को संक्रमण फैलिएको छ । आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि विद्यालय बन्द गरिएको छ ।

 हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न मन्त्रालयले आग्रह गरेको छ । 

काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको छ । 

तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी दिइन् । उनले भाइरल इन्फेक्सन र ब्याक्टेरियाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताइन् । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरू अस्पताल आउने गरेको बताइन् । उनले यो पटक विगतको वर्षहरू भन्दा धेरै नै केसहरू देखिएको बताइन् । 

आँखा पाक्ने रोगका प्रमुख लक्षणहरूमा आँखा रातो हुने र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने/दुख्ने र घाम वा उज्यालोमा हेर्न गाह्रो हुनेलगायत हुन् ।

आँखाको नानी विशेषज्ञ डा.लिना बज्राचार्यले  भाइरसको कारणले गर्दा इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने बताइन् । उनले आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने बताइन् । डा.बज्राचार्यका अनुसार आँखा पाकिहाले आँखा रातो हुने, अफ्ठयारो महसुस हुने हुन्छ । यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने बताइन् । डा.बज्राचार्यले एक व्यक्तिको आँखाको तत्त्व अर्को व्यक्तिमा पुग्यो भने फैलिन सक्ने भन्दै यो आँसुबाट सर्ने बताइन् । 

आँखा पाक्ने रोगका बिरामीले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने गर्नुपर्छ । 

संक्रमित आँखालाई सकेसम्म चलाउन हुँदैन, स्कुल,कलेज र अन्य भिडभाड भएको ठाउँमा जानुहुँदैन, अरूले प्रयोग गरेको रुमाल तौलिया प्रयोग गर्नुहुँदैन भने आफूखुसी औषधिको प्रयोग नगर्ने पनि  विशेषज्ञको सुझाव छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ