- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अन्तर्राष्ट्रिय सडक मूल्यांकन कार्यक्रम (आइर्याप) को तथ्यांक अनुसार विश्वमा वार्षिक तीन करोड ७५ लाख मानिस सडककै कारण घाइते हुन्छन् । सामान्यदेखि गम्भीर घाइते र मृत्युको अवस्था हेरी ती मानिसहरुको उपचार वा अन्य कार्यमा विश्वले वर्षमा दुई हजार दुई सय अर्ब अमेरिकी डलर खर्च गर्दछ ।
उक्त संस्थाकै अध्ययनअनुसार नेपालमा वार्षिक एक लाख २० हजार मानिस सडकमा घाइते हुन्छन् । उनीहरुको उपचार खर्चमा मात्र नेपालले वार्षिक ८२ करोड ७८ लाख अमेरिकी डलर खर्च गर्नुपर्दछ ।
यो रकम हाम्रो मुद्रामा एक खर्ब भन्दा बढी हुन्छ । जो हालको नेपालको बजेटको पाँच प्रतिशतभन्दा बढी हुन्छ । यस अंकलाई तीन सय ६५ ले भाग गर्ने हो भने आउँछ, ३० करोडभन्दा बढी । यो हाम्रो सडकमा हुने सवारी साधनले दिने ठक्करको दैनिक मूल्य हो ।
सडकलाई सुरक्षित पार्न विश्वका सरकारहरुले प्रयास गर्दै आएका छन् । संयुक्त राष्ट्र संघको महासभाबाट प्रस्ताव नै पारित गरेर सन् २०३० भित्रमा रोडक्र्यासबाट हुने मृत्यु र घाइतेको संख्यामा आधा कम पार्ने लक्ष्य राखिएको छ । यस लक्षलाई नेपाल सरकारले पनि अंगीकार गरेको छ ।
यस लक्ष्यअनुसार हालको विश्वमा रहेको १३ लाख मृत्युलाई घटाएर साढे छ लाखमा सिमित पार्नुपर्दछ भने घाइतेको संख्यामा ५० प्रतिशतले घटाउनु पर्नेछ । हाल सडक प्रयोगमा गम्भीर रुपमा घाइते हुनेको संख्या करिब ५० लाख मानिन्छ ।
सडक प्रयोगकर्तामध्ये पैदल यात्री, साइकलका प्रयोगकर्ता र मोटरसाइकलका प्रयोगकर्तालाई सबैभन्दा बढी जोखिमयुक्त प्रयोग कर्ता मानिन्छ । सडक प्रयोगबाट हुने मृत्युमध्ये अधिकांश, करिब ९३ प्रतिशत मृत्यु मध्यम तथा कम आय भएका मुलुकका सडक प्रयोगकर्ताहरुको हुन्छ । त्यस्ता मुलुकमा विश्वमा चलाइनेमध्ये करिब ६० प्रतिशत सवारी साधन चलाइन्छन् ।
सवारी साधनको प्रयोगबाट मानव जीवन सरल त बनेकै छ । शैक्षिक संस्थाको पहुँच, स्वास्थ्य सेवाको पहुँच, बजारको पहुँच, आरामदायी यात्रा, आर्थिक समृद्धि, आरामदायी जीवन शैली आदि यातायातले नै प्रदान गरेको छ ।
यति हुँदाहुँदै पनि सडक प्रयोगकर्ताहरुले अनाहकमा जीवन गुमाउनुपर्ने वाध्यता पनि नबढेको होइन । विश्वमा सडक नै मानिसको मृत्युको १० मध्ये आठौँ कारण बनेको छ । सडक प्रयोगमा हुने गल्तीकै कारण देशहरुले वार्षिक तीन प्रतिशतसम्म गार्हस्थ उत्पादन अनाहकमा खर्चिनुपरेको छ ।
अमेरिकाको न्यू मेक्सिकोमा गरिएको एक अध्ययन अनुसार जब त्यहाँको यूएस ५५० राजमार्ग दुई लेनबाट चार लेनको बनाइयो सडकमा मृत्यु हुनेको संख्या वर्षमा ८५ बाट बढेर एक सय १६ पुग्यो ।
एक सय १६ माइल लामो उक्त सडक दुईबाट चार लेनको हुँदा सवारी गति प्रतिघण्टा ७० माइल बन्यो । दुई लेनको हुँदा ६० माइल प्रतिघण्टा थियो । एकतर्फी यात्राका लागि १६ मिनेट समय बचत भयो । मात्र पाँच माइल प्रतिघण्टा गति बढ्नासाथ मानिस हताहती हुने क्रममा ३६ प्रतिशतले वृद्धि भयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार सवारी गतिमा मात्र एक प्रतिशले वृद्धि हुँदा घाइते बन्ने संभावना चार प्रतिशतले बढ्छ । सोमध्ये तीन प्रतिशत गम्भीर घाइते बन्ने संभावना रहन्छ । यतिमात्र होइन कुनै सवारी साधनको गति ५० किलोमिटर प्रतिघण्टाबाट बढाएर ६५ किलोमिटर प्रतिघण्टा बनाउँदा उक्त कारले ठक्कर दिएको मानिसको मृत्यु हुने संभावनामा साढे चार प्रतिशतले बढी हुन्छ । यदि सोही गतिका दुई कार जुध्ने हो भने त ती कारमा सवारहरुको मृत्युको संभावना ८५ प्रतिशत रहन्छ ।
मादक पदार्थ सेवन गरेर सवारी हाक्नु त जानाजान मृत्यु निम्त्याउनु हो । नेपालमा सवारी चलाउनेको रगतमा मादक पदार्थको मात्रा शून्य हुनु पर्दछ । तर कतिपय मुलुकमा ०.३ जीडीएलसम्मलाई छुट दिइन्छ । यसपछि जति मात्रा बढ्छ, जीवनको अन्त्यरेखा उति नजिक आउँछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार दुई पांग्रेका प्रयोकर्ताहरु चालक र यात्रु दुवै वा सवार सबैले हेलमेट लगाउने, हेलमेट पनि उचित ढंगले लगाउने र उचित मापदण्डको लगाउनाले मात्र पनि संभाब्य हताहतीमा ४२ प्रतिशतले कमी ल्याउन सकिन्छ ।
त्यस्तै टाउकोमा चोट लाग्ने क्रममा ६९ प्रतिशतले कमी ल्याउन सकिन्छ । चार पांग्रे सवारी साधनका प्रयोगकर्ताहरुमध्ये सिट बेल्टको प्रयोग गरे चालक तथा अघिल्लो सिटमा सवार यात्रीको ज्यान जाने जोखिमलाई ५० प्रतिशतले कम पार्न सकिन्छ ।
त्यस्तै पछाडिको सिटमा बसेर सिटबेल्ट बाँध्ने यात्रीको ज्यानको जोखिम पनि २५ प्रतिशतले कमी पार्न सकिन्छ । त्यस्तै बालबालिकाका लागि तोकिएको सिटको व्यवस्था मात्र गर्दा पनि संभाव्य परिघटनामा उनीहरुको ज्यान जाने क्रमलाई ६० प्रतिशत घटाउन सकिन्छ ।
अर्को समस्या हो, चालकको ध्यान अन्यत्र केन्द्रित हुनु । गाडी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने चालकले चार गुणा बढी जोखिम निम्त्याउँछ, चाहे उसले ह्यान्ड्सफ्री मोबाइल वा हेलमेटमा अड्काएर फोनमा कुरा गरेको किन नहोस् । सडकमा जीवन सुरक्षित पार्नका लागि यी तथ्यहरुमा विचार गर्ने कि !