- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिन्धुपाल्चोक । शनिबारदेखि लगातार परिरहेको वर्षाका कारण इन्द्रावती नदीमा वहाब बढेसँगै मेलम्ची हेलम्बु सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
प्रहरीका अनुसार बाढीपहिराका कारण मेलम्चीबाट हेलम्बु गाउँपालिका जाने सडकमार्ग अवरुद्ध भएको हो । यसका साथै मेलम्चीबाट पाँचपोखरी थाङपाल गाउँपालीका जाने सडक पनि पाँचपोखरी थाङपाल-८ खाल्डे खोलामा बन्द भएको छ ।
मेलम्चीबाट हेलम्बु गाउँपालिका जाने सडक मार्ग अवरुद्ध हुँदा मेलम्चीबाट ग्याल्थुम बिएड दोस्रो वर्षको परीक्षा दिन गएका विद्यार्थी बाटोमा अलपत्र परेका थिए ।
अवरुद्ध सडकलाई पानी कम भए लगत्तै सञ्चालन गरिने बताउँदै मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले बाढीको वहाब बढेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरे ।
मेलम्ची नदीको मुहान देखिनै आएको बाढीमा २०७८ सालको जस्तो लेदो मिसिएर आएको हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनले बाढीमा लेदो मिसिएर आएकाले नदी आसपासमा नजान र सुरक्षित स्थानमा रहन तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अनुरोध गरे ।
यसैगरी पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले बाढीको वहाब बढेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गर्दै आवातजावतका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरे ।