arrow

देश सुधार्न राजनीति सुधारौँ 

logo
प्रदीप घिमिरे, 
प्रकाशित २०८० भदौ ३ आइतबार
article-pradiip-ghimire-208.jpg

देश विकृतिको दलदलमा फस्यो । अझै फस्दैछ । राजनीतिक नेतृत्वको संरक्षणमा हुने नीतिगत र प्रकृयागत अपराध, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, अकर्मन्य, राष्ट्रघाती कदमहरुले देश थिलोथिलो भएको छ । देशको बजेट खोलामा पानी बगेसरह बिना लक्ष्य र उपलब्धि बगिरहेको छ । 

देशका बहुसंख्यक नेता, कार्यकर्ता, प्रशासक र टाठाबाठाहरु सेटिङ मिलाउनमा ब्यस्त छन् । जति काम हुन्छन् ती सबै सेटिङमै हुन्छन् भन्दा पनि गलत नहुने अवस्था छ । यो समस्या देशका हरेक निकाय र क्षेत्रमा व्याप्त बनिसकेको छ । सरकार, संसद, न्याय क्षेत्र, राजनीतिक दल, प्रशासन लगायतमा बढेर गएको विकृतिले मानिसहरुमा चरम निराशा पैदा गरेको छ ।

यसले गहन प्रश्न सृजना गरेको छ, यो देशलाई दलदलबाट बाहिर निकाल्ने की देश भाँडमा जाओस् म आफू चाहिँ देशै छोडेर बाहिर निस्किन्छु भन्ने । यो आज आम नेपालीका लागि खड्किएको जटिल प्रश्न हो । आम मानिसले देशलाई विकृतिको दलदलबाट बाहिर निकाल्छु भनेर सोच्न सक्ने कुरै होइन । 

त्यसैले आम नेपाली आमाबुबा र उनीहरुका युवावयका सन्तानहरु दोस्रो विकल्प रोजेर विदेश पलायन हुने क्रम तीब्र भएको छ । अझै बढ्ने अवश्यम्भावी छ । लाग्छ, भिसा पाउने हो भने यो देशका दुई तिहाई मानिस केही महिनाभित्रै विदेश पलायन हुनेछन् । त्यो चुनौतीलाई चिरेर पहिलो बाटोमा लाग्न अर्थात् देशलाई दलदलबाट निकाल्ने गुन्जायस कतै देखिएको छैन । र, अपेक्षा अन्य पक्षसँग हुँदै होइन । मात्र राजनीतिक नेतृत्वसँग हो । 

सबै क्षेत्र जहाँ विकृति भेटिन्छ खोतलेर हेरौँ भित्रैसम्म दूषित राजनीति पसेको पाइन्छ । राजनीतिक आडमा प्रशासन बिग्रिएको छ, न्याय नासिएको छ, विकास भासिएको छ, आशा उडेको छ र दुःख, पीडा मौलाएको छ । राजनीति सफा भए सबै क्षेत्र सफा भैहाल्छ । देशमा जति समस्या छन् जस्तो कि निराशा, गरिवी, भ्रष्टाचार, बेरोजगारी, कुशासन, कमजोर अर्थतन्त्र, परनिर्भरता लगायतका तमाम समस्याको समाधान कतै टाढा छैन । सहजै हासिल गर्न सकिन्छ । समस्या इमानदार र सक्षम नेतृत्वको अभाव मात्रै हो । 

अब प्रश्न उठ्छ, त्यस्तो नेतृत्व कसरी विकास गर्ने ? यो दायित्व कसको ? देश भित्रको कुन शक्ति र कुन संयन्त्रले पहिलो विकल्प अर्थात् देशलाई विकृतिको दलदलबाट बाहिर ल्याउन सक्छ ? सबैभन्दा बढी सम्भावना भएको त्यस्तो शक्ति र संयन्त्रलाई आम मानिसले साथ दिनु पर्छ र दिने छन् । 

यस तथ्यलाई वालेन्द्र साह (बालेन), हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्राप्त गरेको मतले केही हदसम्म उजागर गरिसकेको छ । तर उनीहरुले प्राप्त गरेको मतको प्रवृत्ति एक्लै यो प्रश्नको समाधानका लागि पर्याप्त छ भन्ने चाहिँ होइन । त्यसले विद्रोहको एउटा स्वरुपलाई मात्र चित्रण गरिरहेको छ । त्यसपछिका कतिपय क्रियाकलापले पनि यो विकल्पमा भर परिहाल्ने अवस्था बन्न सकेको छैन । 

त्यसो भए परम्परागत शक्तिहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा लगायतका दलहरु भित्रबाट त्यस्तो सम्भावना छ कि ? ती दलमध्ये कसैले एक्लैले यो दायित्व निर्वाह गर्न सक्छन् कि ? वा दुई वा दुईभन्दा बढी दल मिलेर पो यो काम फत्ते गर्न सक्छन् कि ? वा यी दलहरुबाट अब कुनै सम्भावना छैन ? कि नयाँ दलका नयाँ नेताबाट सम्भव छ त ? 

यी सबै प्रश्नहरु गएर ठोकिन्छन्, नेतृत्वमा । त्यस्तो कुन दलमा कुन नेतृत्व छ जसले यो दायित्वका बारेमा आफूलाई प्रष्ट पार्न सक्छ वा त्यस्तो नेता जसले देशलाई दलदलबाट निकाल्ने उपायहरुका बारेमा आम मानिसहरुलाई विश्वस्त तुल्याउन सक्छ । फेरि अर्को प्रश्न उठ्छ, त्यस्तो नेतृत्वका प्राथमिकता के हुन् ? 

पहिलो प्राथमिकता हो समस्याहरुको पहिचान । दोस्रो राजनीतिक इच्छाशक्ति । तेस्रो अपील । चौथो विधि र प्रकृया । पाँचौँ नीति, योजना, कार्यक्रम र मोडल । छैटौँ कार्यदल । सातौँ स्रोत साधन र संयन्त्र विकास । त्यसपछि अवसरको पर्खाइ ।

यति विश्लेषण गरिसक्दा हामीले माथि नै समस्याको चुरो पहिल्याइसकेका छौँ  । त्यो हो राजनीतिक विकृति । राजनीतिक विकृतिका कारण प्रशासनिक विकृति बढ्यो । राजनीति सुधार्ने हो भने प्रशासन आफैँ सुध्रिन्छ वा सुदृढ राजनीतिले सजिलै प्रशासन सुधार्न सक्छ । अन्य क्षेत्रका विकृति जति छन् ती सबैको जड राजनीतिक विकृति नै हो र त्यो मूलतः दलहरुको केन्द्रीय नेतृत्वको पनि सर्वोच्च तहमा निहित छ । अर्थात् स्पस्ट भन्दा प्रमुख दलका प्रमुख नेताहरु या त सुध्रिनु पर्छ या त तिनलाई विस्थापन गरेर सुदृढ नेतृत्व स्थापित गर्नुपर्छ । 

पृष्ठभूमिमा थाहा पाउनु पर्छ कि यो राजनीतिक विकृति कहाँबाट पस्यो नेपाली समाजमा ? कसरी मौलायो ? यसको बीउ के हो ? कहाँबाट आयो ? कसले कहाँ, कहिले, रोप्यो ? यसमा मलजल गर्नेहरु को को हुन् ? समाधान त्यहीँबाट खोज्ने हो, समस्या जहाँबाट आयो । 

अहिले जहाँ छ त्यहीबाट उपचार शुरु गर्ने हो । अहिलेको हाम्रो देशको अवस्था कस्तो हो भने – शरीर सबै कुहिएको होइन, कुनै अंगमा रोग लाग्दा अरु अंग पनि चलाउन नसकेर थला परेको युवा शरीर जस्तो हो । युवा वयमै जीवन माया मार्नु पर्ने होइन । रोग जहाँ छ त्यो पत्ता लगाएर सही विधिबाट त्यसको शल्यक्रिया गर्ने हो । 

बाँदरको घाउ जस्तो कोट्याएको कोट्याई गरेर क्रोनिक बनाउने पनि होइन । एक पल्ट अप्रेशन गर्ने अर्थात् एक धक्कामा समस्या समाधान गर्ने हो । त्यसका लागि अवसर चाहिन्छ । अवसर सृजना गर्ने हो । केही समय प्रतिक्षा गर्नुपर्ला । तयारी गतिलो गर्ने हो र संगठित भएर बस्ने हो । 

यसका लागि सार्वजनिक अपील गर्न सक्ने अवस्था सृजना गर्नुपर्छ । त्यस्तो अपील जसलाई आम मानिसले हृदयले स्वीकार गरुन् र जहाँ छन् त्यहीँबाट जे सक्छन् त्यही सहयोग गरुन् । जनता जागे जे पनि सम्भव हुन्छ । 

यस्तो परिवर्तनको विधि प्रकृया पूर्णत प्रजातान्त्रिक, शिष्ट, सभ्य र जनमतमा आधारित हुनुपर्दछ । परिवर्तनपछिका लागि नीति, योजना, कार्यक्रम र मोडल पहिले नै प्रस्ट भएर बस्नुपर्छ । त्यसका लागि गतिलो गृहकार्य चाहिन्छ । 

गतिलो गृहकार्य गर्न गतिलो टिम वा कार्यदल चाहिन्छ । त्यसका लागि न्यूनतम साधन, स्रोतको व्यवस्थापन गर्नुपर्छ । देशव्यापी संयन्त्र विकास गर्नुपर्छ । त्यस्तो संयन्त्रलाई चलायमान र जीवन्त राख्न सक्नुपर्छ । 

यति गर्न सकियो भने देशको भाग्य र भविष्य बदल्न सकिन्छ । देशमा आज पेनाल्टी सुट गर्ने अवसर आएको छ । यतिबेला गल्ति गर्ने छुट वैकल्पिक नेतृत्वलाई छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ