arrow

सदन खुलाउने विषयमा जुटेन सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
uml-samsad-abarodh-2080-04-10.jpg

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउने उद्देश्यका साथ दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन । 

सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा आज बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकले आआफ्नो अडान कायमै राखेपछि संसद् खोल्ने विषयमा सहमति जुट्न नसकेको हो ।

सभामुख घिमिरेले लगातार संसद् अवरुद्ध हुँदा सांसदप्रति आमजनतामा नकारात्मक सन्देश गएकाले सहमतिका लागि मान्यता प्राप्त दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका सचेतकले संसद् अवरोधलाई थप सशक्त बनाउने र सत्तापक्षले पनि आफ्नो अडान कायमै राखपछि बैठक निष्कर्षविहीन बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकमा रास्वपाका तर्फबाट आफूले आफ्ना विमति भए सदनमै छलफल गर्न र संसद् अवरोध अन्त्य गर्न आग्रह गरेको उनले बताए ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दलबाट नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतकलगायत सहभागी थिए । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करीको प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ भने सत्तारुढ दलहरु त्यस विषयमा सहमत हुन नसक्दा संसद् सञ्चालन हुन सकेको छैन ।

प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिए पनि सञ्चालन हुन सकेको छैन । 

सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्दै छन् ।



नयाँ