arrow

माओवादी नेताहरु एमालेको शैलीमा जिल्लामा, बन्द गर्न लागेका ठूला मुद्धाको फाइल खोलेको जश सुनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
maobadi-kendra-maoist-centre.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमालेको जस्तै फरक जिल्लाका नेताहरुलाई पार्टी काममा खटाएको छ । संगठन निर्माण र संगठन सुदृढीकरणको नाममा माओवादीले केन्द्रीय नेताहरुलाई अन्तर जिल्लाको जिम्मेवारी दिएर खटाएको हो । 

यस क्रममा पार्टीका जिल्ला इन्चार्जहरुको पद तीन महिनासम्म निलम्बन गर्ने निर्णय गरेको छ । पार्टीको तीन महिने अभियानसम्म भूगोलका ७७ र गैह– भौगोलिक जिल्लाका ६ गरी ८३ वटै जिल्लाका जिल्ला इन्चार्जहरुको पद हाललाई निलम्बन गर्ने निर्णय माओवादी केन्द्रले गरेको हो ।

‘पार्टीको तीन महिने अयिभान अवधीभर कुनै पनि जिल्लामा पार्टीका जिल्ला इन्चार्ज रहँदैनन्,’ माओवादी केन्द्रका एक पदाधिकारी भने । उनका अनुसार जिल्ला इन्चार्ज रहेका नेताहरुलाई अन्तर जिल्लाका स्थानीय तह केन्द्रीत गरेर कार्यविभाजन गरि अभियानमा पठाइएको छ । अहिले संगठन निर्माण र सरकारमा प्रचण्ड रहेका बेला सरकारले गरेका राम्रा कामको प्रचारको जिम्मेवारी दिएर केन्द्रीय नेताहरुलाई खटाएको हो । 

माओवादीका केन्द्रीय सदस्यहरुलाई यस अगाडि जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको थियो । ‘अहिले अभियान अवधिभरका लागि जिल्ला इन्चार्ज रहँदैनन्, अभियान सकेपछि पछि के गर्ने त्यही बेला थप छलफल र निर्णय हुनेछ,’ ती पदाधिकारीले भने । 

माओवादीका केन्द्रीय सदस्य शिव बस्नेत ‘राजेन्द्र’ले अन्तर जिल्लामा केन्द्रीय सदस्यहरुलाई खटाएका पुष्टि गरेका छन् । ‘म सम्पर्क समन्वय समितिको जिम्मेवारीमा थिए अहिले कार्यक्षेत्र भोजपुर पारिएको छ’, केन्द्रीय सदस्य बस्नेतले भने । 

माओवादी केन्द्रले आगामी भदौँ १६ देखि मंसिर १५ सम्ममा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्न लागेको हो । वडास्तरीय संगठन विस्तार अभियानलाई केन्द्रबिन्दु बनाएर सम्पूर्ण पार्टी पंक्तिलाई जनताको घरदैलोमा पुर्याउने उदेश्यका साथ माओवादीले तीन महिने अभियान सञ्चालन गर्न लागेको छ ।

नेताहरुको कार्यविभाजन प्रदेश कमिटिको बैठक राखेर माओवादीले गरिरहेको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नाराका साथ उसले आगामी भदौं १६ मा देशैभरका सबै वडाहरुमा एकैपटक अभियानको उद्घाटन गरेर अभियान सञ्चालन तयारी गरेको छ । 

अभियानका क्रममा उसले तीन चरणको कार्यक्रम बनाएको छ । २५ लाख जनता र मतदातामा अभियानका क्रममा पुग्ने गरी तीन चरणमा अभियान सम्पन्न गर्ने गरी उसले कार्ययोजना बनाएर पार्टी पंक्तिलाई आन्तरिक सर्कुलर गरेको छ । 

पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण तथा विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तयार गर्ने माओवादीले जनाएको छ । 

दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया गर्ने गरी कार्यक्रम छ । 

तेस्रो चरणमा भने जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम गर्ने र त्यसमार्फत सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र एक्यवद्धताका कार्यक्रम गर्ने माओवादी केन्द्रले जनाएको छ । 

अभिायनका क्रममा ८ लाख पार्टी सदस्य सुनिश्चित गर्ने लक्ष्य पनि माओवादीले बनाएको छ । बागमती प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजन माओवादीले गरिसकेको छ । 

जसअनुसार संघीय सांसदहरुलाई काठमाडौँ केन्द्रीत जिम्मेवारीमा राखिएको छ । संघीय सांसदलाई काठमाडौं महानगरपालिकाका तीन वटा वडा केन्द्रीत गरेर जिम्मेवारी तय गरिएको छ । 

संघीय संसदको जिम्मेवारीमा रहेका बेला आवश्यक पर्दा संसदमा पनि पुग्नेर पार्टीको अभियानमा पनि जोडिन सजिलो हुनेगरी काठमाडौँमा नै जिम्मेवारी तय गरिएको छ । 

सरकारमा बसेर नक्कदली भुटानी शरणार्थीको अनुसन्धान गरेको, ललिता निवासको फाइल खोलिएको जस्ता विषयलाई सुशासनको मुद्धा बनाएर जनतामा जाने योजना माओवादीको रहेको छ । 

यसक्रममा युवा विद्यार्थीहरुलाई परिचालन गर्न हिमाल शर्मालाई जिम्मेवारी दिएको छ । शर्माले दुई दिनदेखि विद्यार्थीहरुमा देखिएको नेतृत्वको समस्यालाई समाधान गर्न कस्सिएर लागेका छन् । 

एकपटक पेरिस डाँडामा भेला गरेर समस्या समाधान गर्ने कोसिससमेत गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ