arrow

पदयात्रामार्फत दृश्यावलोकन गर्न ‘भिरलाखुरी’

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
lakuri.jpg

गलकोट । कतिपय सम्भावित पर्यटकीय क्षेत्र सदरमुकाम आसपास भएर पनि ओझेलमा पर्दैआएका छन् ।

सामाजिक सञ्जाल र समाचार पहुँचका कारण कुनाकाप्चाका पर्यटकीय स्थलसमेत उजागर भइरहेको अबस्थामा कतिपय सम्भावित क्षेत्र सुविधासम्पन्न क्षेत्रका स्थलसमेत ओझेलमा परेका हुन् ।

बागलुङ सदरमुकाम नजिकैको भिरलाखुरीलाई प्रवर्द्धन गर्न थालेपछि अहिले हाइकिङका लागि स्थानीय पर्यटक त्यहाँ पुग्न थालेका छन् ।

पछिल्लो समय झरना तथा दृश्यावलोकनका लागि पदयात्रामा जान, प्रकृतिसँग रमाउन, टिकटक बनाउन र फोटो खिच्न आउने पर्यटक बढ्न थालेपछि बागलुङ बजारदेखि ४५ मिनेटमै पुग्न सकिने भिरलाखुरीलाई प्रबर्द्धन गर्न थालिएको हो । 

भिरलाखुरी भ्यूपोइन्टको प्रचारप्रसार, प्रबर्द्धन र पूर्वाधारपछि अहिले बागलुङ बजारको दृश्यावलोकन गर्न आउनेको सङ्ख्या वृद्धि भइरहेको छ । 

बागलुङ नगरपालिका-६ मा पर्ने भिरलाखुरी पछिल्लो समय बागलुङ बजारको नजिकैको एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा परिचित हुन थालेको छ । 

भिरलाखुरी भ्यूपोइन्टबाट बागलुङ बजारका साथै पर्वतका नाग्लीबाङदेखि कुश्मा बजारसम्म देख्न सकिने भएकाले चर्चामा आउन थालेको त्यहाँका  वडाध्यक्ष रुद्र केसीले बताए ।

अहिले भिरलाखुरी पुग्ने पदमार्ग, रेलिङ र होर्डिङबोर्ड कुर्ची, पिङ् खेल्ने झुलालगायत पूर्वाधारसमेत निर्माण गरिएपछि पर्यटकको सङ्ख्या वृद्धि भएको उनको भनाइ थियो ।

गत आर्थिक वर्षमा नगरस्तरीय योजनामामार्फत रु तीन लाख र अघिल्लो आर्थिक वर्षमा रु दुईलाखको लागतमा पदमार्ग बनाइएको थियो । 

“भिरलाखुरीको प्रबर्द्धनका लागि कलाकार रामजी नेपालीसहित विभिन्न पर्यटन क्षेत्रमा सक्रिय रहेका युवाको साथ र सहयोगका कारण उक्त क्षेत्रले चर्चा बटुल्दै आएको छ”, वडाध्यक्ष केसीले भने, “खासगरी बागलुङ बजारबासी हाइकिङका लागि त्यहाँ पुग्ने गरेका छन्, बागलुङबजारको पूरै दृश्य देखिने उक्त स्थल धेरैको रोजाइमा पर्न थालिसकेको छ ।”

पदमार्गका लागि भिरलाखुरी पुगेका स्थानीय पर्यटन अभियान्ता सुलभ खड्काले भिरलाखुरी स्थल उत्कृष्ट गन्तव्य बन्न थालेको बताए । 

बागलुङबाट बिहान मर्निङक वाक गर्नेहरु समेत त्यहाँ पुग्ने गरेका छन् । 

पदमार्गसहित बागलुङ बजार र कुश्मा बजारको दृश्वावलोकन गर्न, फोटो तथा भिडियो खिच्न यहाँ आउने गरेको स्थानीय रामजी नेपालीले जानकारी दिए । 

“सूर्योदय र सूर्यास्तको दृश्यले मनै लोभ्याउने भएकाले त्यहाँ आउनेको सङ्ख्या वृद्धि भएको छ, बागलुङ बजारबाट हिँडेर ४५ मिनेट र मोटरसाइकलमा १० मिनेटमै त्यहाँ पुग्न सकिन्छ” उनले भने, “टाढाको गन्तव्यमा जान समय र पैसा दुबै खर्च हुन्छ, समय र खर्चको बचतसँगै प्रकृतिसँग रमाएर दृश्वावलोकन गर्न भिरलाखुरी भ्यु पोइन्ट गज्जबको पर्यटकीय गन्तव्य हो ।”

नेपालीले भिरलाखुरीको थप प्रचार र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । 

नेपाली र वडाकार्यालयको नेतृत्वमा दुई हप्ताअघि मात्रै भिरलाखुरीको प्रवर्द्धनमा सामूहिक पदमार्ग आयोजना गरिएको थियो । 

समुद्र सतहदेखि जम्मा एक हजार तीन सय ५० मिटरको उचाइमा  रहेको उक्त स्थलको प्रचारप्रसार र पूर्वाधारको विकाससँगै चर्चामा आएको हो । 

भिरलाखुरी आमा समूहकी अध्यक्ष सङ्गीता परियारले अघिपछि ४०/५० जना र शनिबार एक सय भन्दाबढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका  र पर्यटकको चहलपहलले आफूहरुमा उत्साह थपिएकोे बताइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ