- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेलिरहेको छ । मुल्तानमा नेपालले एसिया कपमा डेब्यु गरिरहँदा घरेलु टिम दबाबमा परेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १११ रन जोड्दा तेस्रो विकेट गुमाएको छ ।
यसअघि पाकिस्तानले २१ रन जोड्दा पहिलो तथा २५ रन जोड्दा दोस्रो विकेट गुमाएको थियो ।
नेपालले कसिलो फिल्डिङ गरेको छ । नेपालका लागि करण केसीले पहिलो विकेट लिएकामा कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले रन आउट गरे ।
मोहम्मद रिजवान ४४, फखर जमान १४ तथा इमाम उल हक ५ रन बनाएर आउट भए ।
कप्तान बाबर आजमले भने अर्धशतक बनाएका छन् ।
पाकिस्तान एक दिवसीयको शीर्ष वरीयतामा रहेको छ भने नेपाल १५ औँ वरीयतामा रहेको छ ।
पाकिस्तानले पछिल्ला पाँच खेलमा चारमा जित हासिल गरेको छ भने नेपालले दुईमा जित तथा तीनमा हार बेहोरेको छ ।
मुल्तानमा गत वर्ष पाकिस्तानले वेष्ट इन्डिजलाई स्वागत गरेको थियो । तीन वटै खेल त्यही मैदानमा भएका थिए जुन मैदानमा नेपाल र पाकिस्तान खेल्दैछन् ।
जहाँ पहिलो इनिङ्समा २५० भन्दा बढी रन बनेको थियो । यो पिचलाई ब्याटिङ पिचका रुपमा लिने गरिन्छ ।
कप्तान रोहित पौडेलले पाकिस्तानविरुद्ध कडा चुनौती पस्किने भन्दै टिमको मनोबल बढाउने कामसमेत गरेका छन् ।
एसिया कपमा नेपालको समूहमा भारतसमेत रहेको छ । भारत हालको वरीयतामा तेस्रो स्थानमा छ ।
सन् १९८४ देखि भइरहेको एसिया कपका १५ औँ संस्करणसम्म भारतले सात पटक, श्रीलंकाले छ पटक तथा पाकिस्तानले दुई पटक उपाधि जितेको छ ।