‘प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार अनिवार्य हुनुपर्छ’
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
579
Shares
काठमाडौँ। राष्ट्रिय महिला आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेलले प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार अनिवार्य हुने व्यवस्था गराउन माग गरेकी छन् । उनले आज आफ्नो कार्यकालको दुई वर्षको अवधिमा कार्य प्रगतिको विवरणको पुस्तक विमोचन गर्दै कार्यकारी भूमिकामा महिला नेतृत्व बढाउन राजनैतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराइन् ।
“आगामी निर्वाचनमा गठबन्धन होस् वा एक्लै होस्, महिलाको अनिवार्य उम्मेदवारी हुनु आवश्यक छ”, सदस्य पौडेलले भनिन्, “सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, राजनैतिक रुपान्तरण बिना महिला प्रतिनिधित्वको विस्तारका लागि ३३ प्रतिशत प्रत्यक्ष र ५० प्रतिशत समावेशिताका आधारमा अर्थपूर्ण सहभागिताको सूनिश्चितताको सम्बन्धमा निर्वाचन आयोगले काम नगरेसम्म यो अवस्थामा परिवर्तन हुन सक्दैन ।”
उनले राजनीतिक दलले समानुपातिक व्यवस्थालाई दुरुपयोग गर्न नहुनेसमेत टिप्पणी गरिन् । “समानुपातिकको दुरुपयोग, अहिले नेताहरुले आफ्ना नातेदार र निकटताका आधारमा समानुपातिक सांसद बनाउनुमा कतै पनि जवाफदेहिता हुनु नपर्ने अवस्था मूल कारण हो”, उनले भनिन् ।
पौडेलले विक्रम संवत् २०७७ माघ २१ गते जिम्मेवारी सम्लेकी थिइन्। उनले यी दुई वर्षको अवधिमा हिंसा पीडित महिला तथा बालबालिकाको क्षेत्रमा देशभरका ४० जिल्लामा गरिएका कार्यक्रम स्थलगत अनुगमन, निरीक्षण तथा उद्धारका क्रियाकलाप समेटेर यो पुस्तक प्रकाशित गरिन् ।