- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतविरुद्धको एक दिवसीय क्रिकेटमा नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले आकर्षक ब्याटिङ गरेका छन् । उनले श्रीलंकाको पेल्लेकेलेमा भइरहेको एसिया कप क्रिकेटमा कुशलले ३८ रन बनाएका छन् ।
कुशलले २५ बलमा उक्त योगफल जोडेका हुन् । उनले सो क्रममा २ छक्का र ३ चौकासमेत प्रहार गरेका थिए । पहिलो विकेटका लागि उनले आसिफ शेखसँग मिलेर ६५ रनको साझेदारी गरेका थिए । उनले भारतका ओपनिङ बलरहरु मोहम्मद शमी र मोहम्मद सिराजविरुद्ध जमेर खेलेका थिए । तर शार्दुल ठाकुरको बलमा उनी विकेटकिपर इशान किशनबाट क्याचआउट भए ।
पाकिस्तान र श्रीलंकाको संयुक्त आयोजनामा जारी एसिया कप क्रिकेटको १६ औँ संस्करणमा अहिले नेपालले भारतसँग खेलिरहेको छ ।
श्रीलंकाको पेल्लेकेले मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । खेलमा नेपालले ठोस शुरुआत गरेको छ । तर भारतले भने कमजोर फिल्डिङ गरेको छ ।
पाँच ओभरसम्ममै भारतले तीन क्याच छुटाएको छ । कुशल भुर्तेल र आसिफ शेखले शानदार शुरुआत गरेका हुन् ।
यो खेल जिते नेपालले इतिहास रच्नेछ । नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेलिरहेको हो । नेपाल विश्वका दुई पूर्व च्याम्पियनहरुसँग समूह चरणमा खेलिरहेको हो ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । पाकिस्तान र भारतबीच शनिबार भएको खेल वर्षाले प्रभावित भइ पूरा हुन नसक्दा रद्द भएको थियो । दुवैले १–१ अंक बाँडेसँगै पाकिस्तान ३ अंकसहित सुपर फोरमा पुगिसकेको छ ।
अब नेपाल र भारतबीच आजको खेलको नतिजाबाटै सुपर फोरमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ ।
यो खेलमा नेपाल विजयी भए विश्व क्रिकेटमा ठूलो फड्को मार्नेछ । पराजित भए पनि नेपालले सम्मानजनक खेल्दा विश्वको ध्यान खिच्नेछ ।
भारत भने दबाबमा हुनेछ । हालको वरीयताअनुसार विश्वकपको दुई पटकको विजेता भारत तेस्रो स्थानमा रहेको छ । नेपाल १५ औँ स्थानमा छ ।
नेपालले पहिलो पटक एसिया कप खेलिरहँदा भारतसँग पहिलो पटक खेलेको हो ।
तर भारतको प्रतिष्ठा भने यो खेलमा गाँसिएको छ । यदि नेपालले यो खेल जित्यो भने अहिलेसम्मकै ठूलो सफलता हासिल गर्नेछ ।
नेपालले पाकिस्तानसँगको खेलमा शुरुआतमा सशक्त बलिङ गरेर पाकिस्तानलाई दबाबमा राख्न सफल भएको थियो । तर मध्यक्रमको ब्याटिङ चम्किएपछि पाकिस्तानले ३४२ रन बनाउन सकेको थियो । त्यसैगरी नेपालको ब्याटिङ भने निकै नै फितलो देखिएको थियो ।
पाकिस्तान विरुद्धको खेलका कमजोरी हटाएर मैदानमा प्रस्तुत हुने हो भने भारतसँग पनि टक्कर दिन सक्नेछ ।
यद्यपि श्रीलंकाको मौसम नै बिग्रिरहेकाले आजको खेल नतिजा आउनेमा शंका कायमै छ ।
सन् १९८४ देखि भइरहेको एसिया कपका १५ औँ संस्करणसम्म भारतले सात पटक, श्रीलंकाले छ पटक तथा पाकिस्तानले दुई पटक उपाधि जितेको छ ।