arrow

असोज नलागी मुस्ताङे स्याउ टिप्न र बिक्री गर्न रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २३ शनिबार
apple3.jpg

मुस्ताङ । मुस्ताङमा असोज १ गते यता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका अन्तरपालिका बैठकमा निर्णय गरिएको छ ।

सोही निर्णयलाई कार्यान्वयन गर्न बिहीबार घरपझोङ गाउँपालिकाले बजारमा बिक्रीका लागि राखिएको २५ किलो स्याउ जफत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए ।

गाउँपालिकाले बजार अनुगमन गर्दा जोमसोमस्थित कोसेली हाउसमा बिक्रीका लागि राखेको उक्त स्याउ जफत गरेको अधिकृत आचार्यले बताए ।

उनका अनुसार गाउँपालिकाले जोमसोम क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा दुई किलोको तौलमा प्लास्टिकमा प्याक गरिएका १० प्याकेट र एक किलोका पाँच प्याकेट स्याउ नियन्त्रणमा लिइएको हो ।

स्याउको गुणस्तरलाई कायम राख्दै आफ्नो गुणस्तरीय पहिचान यथावत् राख्ने उद्देश्यले असोज १ गतेपछि मात्र स्याउ टिप्न मुस्ताङका पाँचवटै स्थानीय तहका अध्यक्षहरुले प्रतिबद्धता जनाएका उनले बताए ।

स्याउको राजधानीका रुपमा परिचित मुस्ताङमा पछिल्ला दिनमा स्याउ खेती फस्टाउँदै गएको र यहाँ इटालीयन उच्च घनत्वको स्याउ खेती विस्तार हुँदै आइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङले जानकारी दिएको छ ।

कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार मुस्ताङमा रेडडेलिसियस, रोलय डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस जातका स्याउको खेती हुँदै आएको छ ।

त्यस्तै नयाँ जातका अर्थात् उच्च घनत्वको स्याउ खेतीतर्फ गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्सका बिरुवा लगाइएको छ ।

मुस्ताङमा उच्च घनत्वका स्याउका एक लाख ६७ हजार बिरुवा लगाइएको जनाइएको छ ।

मुस्ताङको एक हजार दुई सय बढी हेक्टर जमिनमा स्याउ खेती गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका पद्यमनाथ आत्रेयले जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ