arrow

ढाकाले पोले रविको कोर टिमका मोहनलाई, के गर्छ पार्टी ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
dhakakumar-shrestha-rsp.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सांसद पद खुस्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले सभापति रवि लामिछानेको टिमबाट पैसा उठाउने टिमको खुलासा गरेका छन् । 

आफूलाई मन्त्री बनाउनका लागि भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रुपैयाँ रकम मागेको खुलासा गरेका हुन् । समानुपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ रकम मागेको अडियो सार्वजनिक भएको थियो । 

सोही अडियोका कारण उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । त्यसपछि उनको सांसद पद पनि खुस्किएको थियो । 

श्रेष्ठले आफू मन्त्री बन्न लागेको तर त्यसका लागि ‘कोर टिम’ का लागि दुई करोड चाहिने बताउँदै प्रसाईंसँग कुराकानी गरेको अडियो संवादमा खुलेको थियो । 

सोही ‘कोर टिम’ का सदस्यमध्येका एक मोहनजंग थापाले नै आफूसँग तीन करोड रुपैयाँ मागेको श्रेष्ठको दाबी छ ।  

सोमबार ‘स्पेस फोर के टेलिभिजन’ सँगको कुराकानीमा श्रेष्ठले तीन करोड मागिए पनि साढे दुई करोडमा डिल भएको खुलाएका छन् ।

मन्त्री बाँडफाँटको बेलादेखि नै थापाले आफूलाई ‘तपाई मन्त्री बन्दै हुनुहुन्छ’ भनेको र रकम पनि त्यही उपक्रममा मागिएको उनले खुलाएका छन् ।  

‘किन माग्नुभयो, थाहा भएन । मलाई चाहिँ तपाई दौरा सुरुवाल लगाएर तयार हुनुहोस्, म्याडमलाई बोलाउनुहोस्, आफन्तहरूलाई बोलाउनुहोस्, भोलि मन्त्रीको शपथ हुनेवाला छ । तपाईं रेडी हुनुहोस्, ढुक्क हुनुहोस्, तपाईं मन्त्री बनिसक्नुभयो । तर, त्यसका लागि हामीलाई तीन करोड चाहिन्छ, पार्टीलाई सहयोग चाहिन्छ भनेर उहाँले माग्नुभयो’, श्रेष्ठले भने । 

मोहनजंग थापासँग कुरा भइसकेपछि उनले खटाएको मान्छेसँग साढे दुई करोडमा डिल भएको उनको भनाइ छ । थापाले पैसा मागिसकेपछि नै आफू पैसा जुटाउनतिर लागेको उनले स्वीकार गरेका छन् ।

रवि लामिछानेको ‘कोर टिम’ भनेर सार्वजनिक गरिएको अडियोमध्येमा एकजना मोहनजंग थापा नै रहेको उनले बताए । 

‘घण्टा घण्टामा फोन आउँथ्यो, पैसा रेडी पार्नुभयो ? खै चेक ल्याइदेको ? नभए तपाईको मन्त्री हुँदैन अर्को मान्छेलाई दिने हो भने,’ श्रेष्ठको भनाइ छ ।  

सामाखुसीभित्रको कफी सपमा थापासँग भेट भएको उनले खुलाएका छन् । उनका अनुसार त्यही भेटमा मोहनले भेटाएका मान्छेसँग नै श्रेष्ठले रकमको ’डिल’ गरेका थिए । 

आफूलाई मात्र कारबाही भएकाले अरूको प्रमाण पनि सार्वजनिक गरिदिने उनले चेतावनी दिएका छन् । ‘म सँग प्रमाण छ, केही समयमा निकाल्छु,’ उनले भने ।

‘अझै पनि त्यो अडियोको वास्तविकता के हो भन्ने कसैलाई थाहा छैन । म पोखराको मान्छे, मुग्लिन गएर बसेँ, अनि एकछिनपछि पोखरा गएँ भनेर भन्दाखेरि कसैले त्यो अडियोलाई काटेर म मुग्लिङ गएर बसेँ मात्र राखेर अनि म पोखरा गएँ भन्ने काट्यो भने म त मुग्लिङ बसेको हुन्छ नि’, प्रसाईंसँगको अडियोबारे उनले भनेका छन् ।

प्रसाईसँग एकपटक कुराकानी भएको र त्यसक्रममा आफूले मेडिकल क्षेत्रको मान्छे भएकाले सहयोगका लागि आग्रह गरेको खुलाएका छन् । 

प्रसाईले नै सुनियोजित रूपमा अडियो सार्वजनिक गरेको आरोप उनको छ । ‘एकपटक कुरा भएको थियो, दुर्गाजी केही परे सहयोग गर्नुपर्छ है, मेडिकल फिल्डको मान्छे भनेर केही समय अगाडि कुरा गरेको थिएँ । तर उहाँले सुनियोजित तरिकाले उपचुनावको बेलामा ल्याएर मलाई वाट्सएपमा फोन गर्नुभयो र सहयोगको कुरा गर्नुभयो । मन्त्री बन्दै हुनुहुँदो रहेछ, तपाईलाई मैले सहयोग गर्नुपर्यो के भन्नुहोस्’ डा. श्रेष्ठले भनेका छन् । 

प्रसाई आफैँले सहयोगको कुरा अगाडि सारेको दाबी गर्दै उनले पैसाको कारोबारमा कुराकानी भएको स्वीकार गरेका छन् । 

मन्त्री बन्ने कन्फर्म भइसकेको भन्दै मोहनजंग थापा लगायतको टिमले तारन्तार फोन गरेपछि आफू रकम व्यवस्थापनमा लागेको र सोही क्रममा फिर्ता दिने गरी प्रसाईसँग कुरा गरेको दाबी गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ