arrow

बेसारमा अखाद्य मिसावट गर्नेलाई फितलो कारबाही गरि उन्मुक्ति  

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
Turmeric.jpg

काठमाडौं । बजारमा अखाद्य बस्तुको  मिसावट बढ्दै गएको छ । अखाद्य  मिसावट गर्नेलाई फितलो कारबाही गरि उन्मुक्ति हुने गरेपछि मिसावट गर्ने क्रम घटेको छैन । बढ्दै गएको छ । मिठाइ, घिउ लागत खाद्यवस्तुमा मिसावट हुँदै आएको छ । पछिल्लो समय अर्ग्यानिक बेसारको नाममा खुदीको पिठो र रङ मिसाएको पाइएको छ । खाद्य अनुगमन टोलीले खुदीको पिठो र रङ मिसाएर बजारमा लैजाने तयारी भइरहेका बेला धरान चण्डेश्वरी कुटानी पिसानी मिल सञ्चालक श्रेष्ठ दम्पती र एक जनालाई रंगेहात  फेला पारेको छ ।

टोलीले मिलका सञ्चालक बर्खमान श्रेष्ठ, प्रमिला श्रेष्ठ र अजम सिंह राईलाई मिसावट गरिरहेको अवस्थामा भेटेको हो। उनीहरुले फोहोर भुईँमै बेसारमा खुदीको पिठो र अखाद्य रङ्ग मिसावट गरिरहेका थिए ।  मिलमा ३ सय केजी बेसारमा ३ सय २८ केजी खुदी र सिन्थेटिक रङ मिसाउँदै थिए । मिलमा ४५ बोरामा करिब २ हजार किलो ‘अर्ग्यानिक बेसार’ बजारमा पठाउने तयारी भएको पनि अनुगमन टोलीले भेटाएको छ  ।

खुदी जाँड-रक्सी पार्न, सुँगुर-बङ्गुर र गाईबस्तु, कुखुराको खोले चारो बनाउने काममा धेरै प्रयोग हुन्छ ।  यो साताभित्र मिल सञ्चालकहरूले करिब २० लाख रुपैयाँ बराबरको मिसावटयुक्त बेसार बजारमा पुर्‍याउने तयारीमा थिए । 

 उनीहरूलाई खाद्य ऐनविपरीत कसुर गरेकाले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) अनुसार दण्ड जरिवाना गर्ने भएको छ  ।  मिसावट गर्नेलाई तत्कालका लागि २ लाख रुपैयाँ जरिवाना र बजार लैजान तयार गरिएका ४५ बोरा बेसार नष्ट गर्ने सर्तमा चेतावनीसहित छाडिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गर्छन् । तर, नियामक निकायको कमजोर उपस्थितिका कारण बजारमा गलत प्रवृत्तिले प्रश्रय पाइरहेको  छ । कारबाहीको दायरा कमजोर हुनुले मिसावट गर्नेलाई अझ प्रोत्साहन हुने गरेको देखिन्छ । कडा कारबाही गरेको भए पाँच वर्ष जेल सजाय हुन सक्थ्यो ।   हरेक क्षेत्र मिसावट गर्नेले उन्मुक्ति पाउने गरेका छन् । मिठाइ देखि दूध, दही, घ्यू, तेल, चामल, दाल, गेडागुडीलगायतमा मिसावट हुने गरेको छ । मिसावट गर्नेलाई खाद्य ऐन अनुसार ५ वर्ष जेल र ५० हजार जरिवाना पनि गर्न सकिने प्रावधान रहेको छ । तर सम्बन्धित निकायले कम सजाय तथा जरिवाना तोकिदिँदा यस्ता कामहरू रोकिएका छैनन् ।  

खाद्य सुरक्षा र उपभोक्ता हितका लागि सरकारले विभिन्न ऐन, नियम तर्जुमा गरे पनि त्यसको कडाइका साथ लागू हुन नसकेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने अखाद्य वस्तु मिसावटमा फितलो कारबाही प्रति सम्बन्धित संस्थाकै संलग्नता रहेको आशङ्का सरोकारवालले गर्ने गरेका छन् ।  

सिन्थेटिक रङ पकाउदा क्यान्सर गराउने तत्वमा परिणत हुने चिकित्सकहरू बताउँछन् । कतिपय स्थानमा बेसारमा मेटानिल येलो नामक रसायन मिसाएर बिक्री गरिने गरेको पनि भेटिएको छ । यस्तो रसायन प्रयोग गरिएको बेसार उपभोग गर्दा क्यान्सरसमेत लाग्न सक्ने चिकित्सकहरू बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ