arrow

मेडल जित्ने अपेक्षाका साथ नेपाली क्रिकेट टिम एसियन गेम्समा जाँदै [भिडियो]

राम्रो अभ्यास गरेका छौँ : रोहित पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
rohit-poudel-asian-games.JPG

काठमाडौं । मेडल जित्ने अपेक्षाका साथ नेपाली क्रिकेट टिम एसियन गेम्समा जाँदैछ । नेपाली क्रिकेट टोलीले राम्रो अभ्यास गरेकाले मेडन हात पार्ने कप्तान रोहितकुमार पौडेलले बताएका छन् । आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै कप्तान पौडेलले राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य आफूहरूको रहेको बताएका हुन् ।

उनले मेडन हात पार्नका लागि सबै खेलाडी तयार रहेको सुनाए। उनले भने, ‘राम्रो अभ्यास गरेका छौँ । हामी सबैको लक्ष्य मेडल जित्ने छ । त्यसको लागि सम्पूर्ण खेलाडीहरू रेडी छौँ । आउने दिनमा एकदमै राम्रो गर्नेछौँ ।’

एसिया कपबाट खारिएको नेपाली क्रिकेट टोलीले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तयारी गरेको थियो । असोज १० गतेदेखि हानझाओको पिङफेङ क्याम्पस क्रिकेट मैदानमा खेल हुँदैछ । असोज १० गते आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्ने छ । नेपाल एसियन गेम्सको पुरुष क्रिकेटमा समूह ‘ए’ मा छ । यो समूहमा तुलनात्मक रूपमा निकै कमजोर मानिएका मंगलोलिया र मालदिभ्स छन् । 

समूहमा शीर्ष स्थानमा प्राप्त गर्ने टोलीले सिधै क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछ । विश्व क्रिकेटका बलिया राष्ट्र भारत, पाकिस्तान र श्रीलङ्कासहित बङ्गलादेशले पनि प्रतिस्पर्धा गर्दैछ । यी चार राष्ट्रले सीधै क्वार्टर फाइनलमा खेल्ने तय छ । चार समूहका विजेताले ‘ड्र’ मार्फत भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशसँग नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछन् । यी चारै टेस्ट राष्ट्रले हानझाओ एसियन गेम्समा आफ्ना दोस्रो टोली पठाएका छन् । तर पनि एसोसिएट राष्ट्रका लागि उनीहरूको चुनौती पार गर्न कठिन हुनेछ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा सबैले देख्ने गरी मनोबल कमजोर नहुने गरी आफूहरू लाग्ने बताए । उनले नेपालले एसियाडमा हुने क्रिकेटमा मेडल जित्ने उच्च सम्भावना रहेको बताए । 

नेपालले समूह चरणको दोस्रो खेल असोज १४ गते मालदिभ्ससँग खेल्नेछ । एसियाडमा सहभागिता जनाउने नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी, अविनाश बोहरा र सन्दीप लामिछाने छन् । ललित राजवंशीले भने चोटका कारण प्रतियोगितामा सहभागिता जनाउने छैनन् । 

क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको नयाँ युगको शुरुवात गर्ने प्रयासमा आफूहरू रहेको बताए । उनले कुनै पनि खेललाई सहज तरिकाबाट नलिन आग्रह गर्दै खेलले देश र जनतालाई एक ठाउँमा ल्याउने ठूलो भूमिका खेलेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ