arrow

प्रधानसेनापति शर्मा भारत प्रस्थान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
Prabhuram-sharma-army-chief.jpg
तस्बिर : फाइल

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिन आइतबार प्रधानसेनापति शर्मा दिल्ली प्रस्थान गरेका हुन्। दिल्लीमा सोमबारदेखि दुई दिन चल्ने १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा सहभागी हुन उनी त्यसतर्फ गएका हुन्।

नयाँ दिल्लीमा यही असोज ९ र १० गते १३औं ‘इन्डो–प्यासिफिक आर्मिज चिफ्स कन्फेरेन्स (आइपिएसिसी)’ हुँदैछ । सम्मेलनको आयोजना भारतीय र अमेरिकी सेनाले संयुक्त रूपमा गर्दैछन् । अमेरिकी सेनाका चिफ अफ स्टाफ जनरल जेम्स सी मिक्खानोभिल र भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेले सम्मेलनको अध्यक्षता गर्नेछन् ।

भारतीय सेनाका उपप्रमुख एमभी सुचन्द्र कुमारको भनाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाए अनुसार सम्मेलनमा इन्डो–प्यासिफिक मुलुकका सेनाका प्रमुखहरूले यस क्षेत्रमा देखिएको सङ्कट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिका, परस्पर सहयोग तथा अन्तर क्षमता अभिवृद्धि र आधुनिक सेनामा आत्मनिर्भरताको आवश्यकता विषयमा छलफल हुनेछ ।

विश्व अर्थतन्त्रमा इन्डो–प्यासिफिक क्षेत्रको भूमिका ठुलो र निर्विवाद रहेको तथा  विश्वका ६४ प्रतिशत मानिस इन्डो–प्यासिफिक क्षेत्रमा बस्ने भएकाले यो सम्मेलनको महत्त्व रहेको छ । ‘विश्व व्यापारको ४६ प्रतिशतसहित कुल गार्हस्थ्य उत्पादनमा ६३ प्रतिशत योगदान यो क्षेत्रको छ , स्वतन्त्रतापछि भारतीय सेनाले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थिरता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरेको छ’, एमभी सुचन्द्र कुमारको भनाईलाई उद्धृत गरेर भारतीय सञ्चार माध्यमले समाचार प्रकाशित गरिरहेका छन् । सम्मेलनमा नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, इन्डोनेसिया, जापान, बङ्गलादेश, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, दक्षिण कोरिया, माल्दिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्यान्डलगायत देशका सेना प्रमुख सहभागी हुने जनाइएको छ ।

आइपिएसिसीसँगै ‘इन्डो–प्यासिफिक आर्मिज म्यानेजमेन्ट सेमिनार र सिनियर इनलिस्टेड लिडरसिप फोरम’ पनि हुँदैछ । यी कार्यक्रममा पनि प्रधानसेनापति शर्मा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।  

सम्मेलनमा ‘इन्डो–प्यासिफिक’ क्षेत्रमा शान्ति, सुरक्षा र समृद्धि  प्रवर्द्धन, सुरक्षा सहयोग र सामूहिक रणनीति, परस्पर क्षेत्रीय हित र सङ्कट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिकालगायत विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । सन् १९९९ देखि हरेक दुई वर्षमा आइपिएसिसी हुँदै आएको छ । यसको १२औं सम्मेलन सन् २०२१ मा हवाईको फोर्ट साप्टरमा भएको थियो ।

शिख नेता हरदीपसिंह निज्जारको हत्याका विषयमा भारत र क्यानडाबीच कूटनीतिक तनाव चलिरहँदा भारतमा हुने आइपिएसिसीमा क्यानडेली सेनाको सहभागिताका विषयमा के हुने भन्ने बारेमा केही उल्लेख छैन । क्यानडाका सेना प्रमुख यसअघिका आइपिएसिसीमा सहभागी हुँदै आएका छन् । 

गत जुन १८ मा क्यानडामा शिख नेता निज्जारको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । निज्जारलाई भारतले आफ्नो भूमिलाई खण्डित गरेर ‘खालिस्तान’ बनाउने अभियन्ताका रूपमा लिएको थियो । उनले क्यानडामा बसेर भारतमा आतंकवादी गतिविधि सञ्चालन गरेको भारत सरकारको दाबी थियो । उनको हत्यापछि क्यानाडाले भारतीय गुप्तचर संस्थाले सो हत्या गरेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ