arrow

मङ्गोलियालाई हराउँदै नेपालले बनायो यी कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
nepali-cricket-teams-lead1.jpg
फाइल तस्बिर

काठमाडौं । १९औँ एसियाली खेलकुदमा नेपालले  मङ्गोलियालाई विशाल रनले  पराजित गरेको छ । मङ्गोलियालाई नेपालले २७३ रनले पराजित गरेको छ । योसँगै नेपालले अर्को विश्व कीर्तिमान बनाएको छ । नेपालले टी-२० इतिहासकै अहिलेसम्मकै ठूलो जित निकालेर विश्व कीर्तिमान बनाएको हो। 

यसअघि जितको आधारमा ठूलो जित चेक रिपब्लिक पहिलो स्थानमा थियो। उसले टर्कीलाई २५७ रनले पराजित गरेर रेकर्ड बनाएको  थियो।  त्यसपछि क्यानडा २०८ रन, तानजेनिया १८४ को रेकर्ड छ ।  

नेपालले दिएको तीन सय १५ रनको लक्ष्य पछ्याएको मङ्गोलिया १३ दशमलव एक ओभरमा ४१ रनमै अलआउट भयो। उसका लागि जम्यासुरेनले १० रन जोड्नु बाहेक अरू ब्याटरले सम्झिन लायक ब्याटिङ गर्न सकेनन् । बलिङतर्फ नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले दुई दुई तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए। 

आजै नेपालले टी- २० क्रिकेटमा इतिहासकै धेरै रन बनाएर रेकर्ड रचेको छ । मङ्गोलियाविरुद्ध ३१४ रनको विशाल रन बनाएर टी- २० मा धेरै रनको रेकर्ड बनाएको हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए । अस्ट्रेलिया २६३ रन बनाएर त्यसपछि रहेको छ । सूचीमा भारत र श्रीलङ्का समान २६० रनको साथ पाँचौँ स्थानमा छन् । 

मङ्गोलिया विरुद्ध ब्याटिङ गर्ने क्रममा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरे । कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए। मल्लले टी-२० अन्तर्राष्ट्रियमा क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान राखेका छन् । ३४ बलमा शतक पूरा गर्दै मल्लले कीर्तिमान राखेका हुन ।  

यसअघि सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, चेकका सुदेश विक्रम शेखर र भारतका रोहित शर्माले बनाएका थिए। उनीहरूले ३५ बलमै शतक बनाएका थिए ।

दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए।  यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धशतक बनाएका थिए । कुशल मल्लले ५० बलमा अविजित एक सय ३७ रन तथा ऐरीले १० बलमा अविजित ५२ रन बनाए । मल्लले यस क्रममा १२ छक्का र आठ चौका तथा ऐरीले आठ छक्का प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१, कुशल भुर्तेलले २३ बलमा १९ तथा  आसिफ शेखले १७ बलमा १६ रन बनाए । 

त्यस्तै नेपालले खेलमा २६ वटा छक्का प्रहार गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ