arrow

एसियाली खेलकुदमा नेपाल आज पनि निराश  

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
bikash bhatta, weightlifting, nepal..JPG

काठमाडौँ । चीनको हाङझावमा जारी एसियाली खेलकुदमा नेपालको खराब लय जारी नै रहेको छ ।  भारोत्तोलनको पुरुष ८१ केजीमा नेपालका विकास भट्टले स्न्याचमा १२० केजी र क्लिन एन्ड जर्कमा १४५ गरी जम्मा २६५ केजी भार वहन गरेका छन् ।
      
स्न्याचमा विकासले दोश्रो लिफ्टमा मात्र १२० केजी वजन उचाल्न सफल भएका थिए । पहिलो लिफ्टमा पनि विकासले १२० केजी वजन उचाल्ने प्रयास गरे पनि असफल भए । 

तेश्रो लिफ्टमा उनले १२५ केजी तौल उठाएर स्न्याचमा आफ्नै नाममा रहेको १२४ केजीको राष्ट्रिय कीर्तिमान सुधार गर्ने प्रयास गरेका थिए । उनले १२५ केजी वजन उठाउन सकेनन् ।

क्लिन एन्ड जर्कमा पहिलो लिफ्टमा १४५ केजी तौल उठाउने प्रयास गरेका विकास दोश्रो लिफ्टमा मात्र त्यत्तिनै (१४५ केजी) वजन उचाल्न सफल भए । 

तेश्रो लिफ्ट विकासले १५० केजी उठाउने तयारी गरे पनि सफल भएनन् । १५० केजी वजन उचालेको भए विकासले आफ्नै नाममा रहेको १४८ केजीको राष्ट्रिय कीर्तिमान भंग गर्ने थिए । 

जम्मामा पनि २७२ केजीको राष्ट्रिय कीर्तिमान पनि विकासकै नाममा छ । अब नेपालबाट दुई पुरुष खेलाडी विशालसिंह विष्ट र सागर भण्डारीले खेल्न बाँकी छ ।

कबड्डी

त्यस्तै हाङझाव एसियाडको महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा मङलबार पराजित भएको छ । 

चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’ को आफ्नो दोश्रो तथा अन्तिम लिगमा नेपाल डिफेन्डिङ च्याम्पियन इरानसँग ४३–१९ ले पराजित भयो । 

नेपाल पहिलो हाफमा १९–११ ले पछि परेको थियो । इरानले दोश्रो हाफमा पनि अग्रता लिने क्रममा २४–८ स्कोर गर्यो । समूह ‘बी’ मा नेपाल र इरानसहित बंगलादेश गरी ३ राष्ट्र छन् ।
       
नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो । बुधबार हुने समूह ‘बी’ को अन्तिम लिगमा इरानले बंगलादेश विरुद्ध प्रतिस्पर्धा गर्ने छ । 

त्यो खेलमा इरान विजयी भए नेपालले एसियाडको महिला कबड्डीतर्फ पहिलो सहभागितामै समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउने छ ।

सेमिफाइनल पुगे नेपालले कम्तीमा कांस्य पदक पक्का गर्दे इतिहास रच्ने छ ।
 

ब्याडमिन्टन 
ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।
       
बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रशिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गरिन् । खेल १५ मिनेट चलेको थियो ।

यो स्पर्धासहित मंगलबार नेपालले चार स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । बाँकी ३ मा भने नेपाल पराजित भयो । महिला सिंगल्समै थाइल्यान्डकी पोर्नपावीले नेपालकी अनुमाया राईलाई सीधा सेटमा २१–१० र २१–४ ले हराइन् ।

महिला डबल्समा चाइनिज ताइपेईंका चिङ या सु र चिन वान लिनको जोडीले नेपालका निता लम्साल र नङशल तामाङको जोडीलाई २१–१ र २१–५ तथा इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीले नेपालका रशिला महर्जन र अनुमाया राईको जोडीलाई २१–३ र २१–७ को सोझो सेटमा पाखा लगाए ।
 
पुरुष क्रिकेट
पुरुष टी–२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल पराजित भएको छ । नेपाल भारतसँग २३ रनले पराजित भयो । 

यद्यपि भारतले टक्करको खेल खेलेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ