arrow

इतिहास बन्दै चाडमा चङ्गा [फोटोफिचरसहित]

logo
मनिष अर्याल,
प्रकाशित २०८० असोज २० शनिबार
dashian-festival-2080-06-20.jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

नेपाली शब्दकोषमा चङ्गा, नेवार भाषामा भुटुमाली र हिन्दीमा पतंग भनिने कागज, कपडा र प्लाष्टिकको चार कुने टुक्रामा ठाडो बाँसको सिन्का र धागो घुसारेर उडाइने खेलौना हो । 

किंवदन्ती अनुसार असारको खेतीपछि भदौसम्म पानी पर्ने भएकाले अब पानी पुग्यो र धान पाक्ने बेला भयो भन्नका लागि चङ्गा उडाएर इन्द्रदेवलाई सन्देश पठाएको भन्ने जनविश्वास छ । 

दशैँ आउन केही अघिदेखिनै चङ्गा उडाइँदै आएको पाइन्छ । चङ्गा चीनमा आविष्कार भएको मानिन्छ । चीनमा आविष्कारसँगै एसियाका देशहरुमा लोकप्रयता बढेको पाइन्छ । 

सबै देशहरुले आफ्नो चाड या खुशियाली साट्नका लागि उडाउँदै आएका छन् । नेपालमा पनि धार्मिकसँगै मनोरञ्जन र हर्ष उल्लासको बेलामा चङ्गा उडाइने गरिन्छ । चङ्गामा मुख्य गरी चङ्गा, लट्टाइ र धागोको मुख्य आवश्यकता हुन्छ । 

नेपाली बजारमा चङ्गा भारतबाटै आउने गर्छ । पछिल्लो समय यता लट्टाइ भने नेपालमै बनाउने गरिन्छ । नेपाली लट्टाइ कम उत्पादन हुने भएकाले बजारमा पुर्याउन नसकिरहेको व्यापारीहरु बताउँछन् । 

ललितपुरका प्रकाश देउला सानै उमेरदेखि चङ्गा उडाउन मन पराउँथे । २५–३० वर्ष अघिदेखि माटोको कलात्मक सामग्री बेच्दै आएका प्रकाश केही वर्ष यता चङ्गाको व्यापार गर्दै आएको बताए । 

नेपाली उत्पादनलाई जोड दिएका प्रकाशको पसलमा चङ्गा बाहेक माटोबाट बनेका भाँडा,  हातले बनाएको कुचोलगायत राखेका छन् । यससँगै पाँच वर्ष अघिदेखि उनले दशँै तिहार लक्षित गरेर चङ्गाको व्यापार शुरु गरेको बताए । 

ग्वार्कोमा टाइसन काइट शप चलाइरहेका प्रकाश हिजोआज नेपालीको चङ्गा प्रतिको मोह घटेको देखेर निराश छन् । 

‘पहिले दशैको एक महिना अघिदेखि नै काठमाडौं,  ललितपुर र भक्तपुरको आकाश पूरै ढाकिने गर्दथ्यो,’ उनी भन्छन्, ‘अहिले दशैँको दिन पनि गन्तीमा उड्ने गर्छ । चङ्गा भनेको न बच्चा न बूढो सबैले उडाउन मिल्ने खेल हो । हामीले उडाउँदा चङ्गा कसको काट्ने भनेर खेल्थ्यौँ तर अहिले सबैजना मोबाइल इन्टरनेटमा व्यस्त छन् ।’ 

युवाहरु विदेश पलायन भएको कारणले चङ्गाप्रति मोह घटेको छ । संरक्षण गर्नुपर्ने आवश्यकता भइसकेको उनले बताए । प्रकाशको जस्तै ग्वार्कोमा अन्य चङ्गा पसलहरुको अवस्था पनि उस्तै छ । 

भदौको पहिलो हप्तादेखि स्टेशनरी उपहार पसलहरुले फाट्टफुट्ट लिन आउने गर्छन् ।  तर अहिले व्यापार पहिलेका वर्ष जस्तो नभएको व्यापारीहरु बताउँछन् । मुख्यतः नेपाली बजारमा चङ्गा १० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म पर्छ । त्यस्तै लट्टाइ ४० रुपैयाँदेखि तीन हजारसम्म पर्छ । 

नेपाली बजारमा चङ्गा पूर्णरुपमा भारतबाट आउने गर्छ । काठमाडौँ जिल्लामा मात्र एक सिजनमा २५ देखि ३० करोडको चङ्गा र चङ्गाको सामग्रीहरु भारतबाट आयात हुने गर्छ । 

चङ्गा उडाउनका लागि त्यही अनुसारको मौसम अनुकुल हुनपर्छ । घाम लागेको दिन र हावाको वेग राम्रो भएमा मात्र चङ्गा उडाउन सकिन्छ । 

नेपालमा मुख्य गरी दशैँको समयमा घरको कौशीमा बसेर उडाइने गरिन्छ । काठमाडौँ टेकुुका सुमन मानन्धर दशैँको समयमा कौशीमा बसेर साथीभाइसँग चङ्गा चेट गर्दै आएका थिए । 

तर पछिल्लो वर्षयता उनको चङ्गा घरमा थन्किएर बसेको छ । ‘पहिला घरमा बसेर कौशीबाट अरुको चङ्गा काट्न मज्जा आउथ्यो,’ उनले भने, ‘तर अहिले चङ्गा कता उडाएको छ भनेर खोज्न हिड्नु पर्ने भएको छ ।’ 

पछिल्लो समयमा धेरै साथीहरु इन्टरनेटमा मज्जा लिने भएकाले पनि चङ्गा खेल्न आउनै छाडिसकेको उनले बताए । 

अबको केही वर्षमा चङ्गा उडाएको देख्न नपाइने हो कि भन्नेमा उनी चिन्तित छन् । पछिल्ला वर्षमा केही बाल क्लब, संस्थाहरुले दशैँ नजिकिदै गर्दा चङ्गा चेट कार्यक्रम राखेर संरक्षणमा लागेको पाइन्छ । 

काठमाडौँ उपत्यकामा विशेषगरी अग्ला स्थान र खुल्ला ठाउँहरुमा चङ्गा उडाउन जाने गर्छन् । कीर्तिपुरको चोभार, ललितपुरको लाकुरीभन्जयाङ, भक्तपुरको नगरकोटलगायत स्थानमा चङ्गा उडाउन जाने गर्छन् । 
 

changa-2080-06-20 (1).jpg
changa-2080-06-20 (2).jpg
changa-2080-06-20 (3).jpg
changa-2080-06-20 (4).jpg
changa-2080-06-20 (5).jpg
changa-2080-06-20 (6).jpg
changa-2080-06-20 (7).jpg
changa-2080-06-20 (8).jpg
changa-2080-06-20 (9).jpg
changa-2080-06-20 (10).jpg
changa-2080-06-20 (11).jpg
changa-2080-06-20 (12).jpg
changa-2080-06-20 (13).jpg
changa-2080-06-20 (14).jpg
changa-2080-06-20 (15).jpg
changa-2080-06-20 (16).jpg
changa-2080-06-20 (17).jpg
changa-2080-06-20 (18).jpg
changa-2080-06-20 (19).jpg
changa-2080-06-20 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ