arrow

एसीसी यू–१९ क्रिकेटमा इरानमाथि नेपालको फराकिलो जित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
u19-cricket-nepal-2023-10-12.jpeg

काठमाडौँ । १९ वर्षमुनिको एसीसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले ईरानलाई पराजित गरेको छ । मलेसियाको बान्गीमा आज भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको हो । 

जितका लागि तीन सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो । इरानका लागि आमेर खोर्सन्दले ३७ रन बनाए । 

उनले २२ बलमा एक चौका र पाँच छक्कासहित ३७ रन बनाएका हुन् । साबेर इब्राहिमपुर ४३ बलमा एक चौकासहित ११ रनमा नटआउट रहे । त्यसबाहेक अन्य इरानी ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
 
इरानलाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपेश कँडेल र सुवास भण्डारीले समान तीन तीन विकेट लिए । त्यस्तै हेमन्त धामी र आकाश चन्दले समान दुई दुई विकेट झारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै तीन सय ५३ रनको योगफल बनाएको थियो । नेपालको इनिङ्समा कप्तान देव खनालले शतक प्रहार गरे भने दीपक बोहरा र दीपकप्रसाद डुम्रेले अर्धसतक बनाए ।

तेस्रो नम्बर क्रिजमा आएका कप्तान देवले ५० बल खेल्दै १२ चौका र चार छक्काको मद्दतमा एक सय रनको योगदान दिएका हुन् । त्यस्तै दीपक बोहराले ५९ बलमा ६५ रन बनाए । उनले चार चौका र दुई छक्का हिर्काएका थिए । पाँचौँ नम्बर क्रिजमा पुगेका दीपक डुम्रेले ४४ बलमा ६९ रन बनाए । देव र दीपकले तेस्रो विकेटका लागि एक सय ६६ रनको साझेदारी गरेका थिए । 

यसैगरी दीपेश कंँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ रन तथा सुभास भण्डारीले १८ रन जोडे । इरानका दद्रहमान राइसीले र सलमान निज्मान्दले समान तीन तीन विकेट लिए भने शेखी र जियाद राइसीले समान दुई दुई विकेट लिएका थिए । 

अब नेपालले दोस्रो खेल यही असोज २८ गते बहराइनसँग खेल्नेछ
 
प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । 

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा एसियाका विभिन्न १६ एशोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । 

सो प्रतियोगितालाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ मा  नेपालसहित बहराइन, साउदी अरेविया र इरान छन् भने समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन छन् । 

त्यसैगरी समूह ‘सी’ मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया जापान र इन्डोनोसिया छन् । 

प्रतियोगिताका शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न पाउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ