arrow

गगन भन्छन् – गठबन्धन केही नेताको ‘प्राइभेट क्लब’ जस्तो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
gagan-thapa-2080-06-26z.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सीमित केही नेताको प्राइभेट क्लव जस्तो भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन ४–५ जना नेताहरूको क्लब जस्तो भएको टिप्पणी गरे ।

‘गठबन्धन पनि विस्तारै ४–५ जना नेताहरूको प्राइभेट क्लब जस्तो बन्दै गएको छ । म कांग्रेसको महामन्त्री छु। बेला–बेला गठबन्धन दलको बैठक बस्यो भनेर सुन्छु। त्यो दलको बैठक होइन, गठबन्धन दलका नेताहरूको बैठक हो’, उनले भने ।

महामन्त्री थापाले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा आफूले सरकारका विषयमा कुरा राखेको बताए । ‘सरकारले यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्ने थुप्रै कुरा छन्, यो हाम्रो वैरी सरकार होइन, मेरो पार्टी पनि सम्मिलित सरकार हो, मैले पनि मत हालेको सरकार हो,’ उनले भने, ‘कहाँ छ छलफल ? दुई–तीन जना नेता अँध्यारो कोठामा बसेर कुराकानी हुने गरेको छ ।’

पछिल्लो समय सरकारले गरेको सबै राम्रा काम आफूले गरेको र हुन नसक्ने वा नभएका काममा कांग्रेसलाई दोष लगाउने परिपाटी बढेको भन्दै उनले आक्रोश पाखे । भएका कामको जश र हुन नसकेका कामको जिम्मेवारी गठबन्धनभित्र रहेका सबै दलले लिनुपर्नेमा उनको जोड छ ।

सम्बोधनका क्रममा थापाले आगामी २०८४ को चुनावमा कांग्रेस एक्लै निर्वाचनमा जानेसमेत बताए । पार्टीभित्रको गुट उपगुट ब्यवस्थापनमा नेतृत्वले समयमै चासो दिनुको विकल्प नरहेको उनको भनाइ थियो ।

महामन्त्री थापाले बिना सूचना नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नेपालमाथिको नाङ्गो र ठाडो हस्तक्षेप भएकोसमेत बताए ।

 ‘दुई दिनअघि समाचार पढ्यौँ, नेपालको भूभागमा नेपाललाई सूचना नदिइकन भारतीय प्रधानमन्त्रीको भ्रमण भयो भनेर,’ उनले भने, यो नेपालमाथिको नाङ्गो र ठाडो हस्तक्षेप हो । नेपालले यसको सशक्त प्रतिरोध र प्रतिवाद गर्छ, हामी के ठान्छौँ भने भारतीय प्रधानमन्त्रीले गर्ने यो अतिक्रमण वा कुनै बेला चिनियाँ प्रम गर्ने वा कसैले गर्ने कुराको सन्दर्भमा कांग्रेस मात्र होइन, एमाले, माओवादी, राप्रपा, पुरानो पार्टी नयाँ पार्टी सबैको साझा दृष्टिकोण हुनुपर्छ भन्ने विश्वास राख्छौँ ।’



नयाँ