arrow

अनलाइनबाट अमेरिकामा जन्मेकी शिशुको नेपालमै न्वारन, दुई नाम

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ७ मंगलबार
nwaran-nepal-usa-online.jpg

रामपुर । बडादशैँको टीकाको साइत शुरू हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारन पूजामा व्यस्त थिइन् । नातिनी अमेरिकामा भए पनि न्वारन पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहेका थिए ।

“काखमा नातिनी खेलाउँदै उसको न्वारन पूजा गर्न मन थियो । तर, छोराबुहारी र नातिनी अमेरिकामा, हामी नेपालमा”, घिमिरेले भनिन्, “अनलाइनबाट भए पनि आफ्नै आँगनबाट न्वारन गर्न पाएँ ।” डेढ वर्षअघि ‘डाइभर्सिटी भिसा’मा छोराबुहारी अमेरिका गए । नातिनीको जन्म पनि उतै भयो । तर, न्वारन भने गाउँबाटै अनलाइनमार्फत भयो ।

अमेरिकाको न्यूयोर्कमा रहेका बाबु ज्ञानेन्द्र घिमिरे र आमा रिता दाहाल पुरोहितले अनलाइनमार्फत भने अनुसारको मिल्नेसम्मका क्रियाकलापमा सहभागी भए । आज टीकाको दिन भए पनि अनलाइनमार्फत भइरहेको न्वारन हेर्न छिमेकी भेला भएका थिए ।

सनातन हिन्दू परम्पराअनुसार नै न्वारन कर्म सञ्चालन गरिएको कर्मकाण्डका ज्ञाता युवराज घिमिरेले बताउनुभयो । वैदिक संस्कार, शास्त्रीय मर्म र षोडष संस्कारअनुसार न्वारान गरिएको उनको भनाइ छ ।
    
न्वारन कर्ममा सहभागी बिक्रम दाहाल यस क्रियाकलापलाई प्रविधिको विकासले दिएको अवसरका रुपमा लिन्छन् । “प्रविधिको विकासका कारण नेपालबाटै अमेरिकामा रहेकी शिशुको न्वारान सम्भव भयो”, उनले भने । 

अनलाइनबाटै भए पनि पनातिनीको न्वारान गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको ८७ वर्षीया जिजुआमा ईश्वरीदेवी घिमिरेले सुनाइन् । उनले गाउँमा यस किसिमको कर्म पहिलो अनुभव भएको बताइन् ।

अमेरिकी रुहानी, नेपाली प्रेयङ्का
पुरोहित भोला दाहालले हिन्दू संस्कार र नेपाली पात्रोअनुसार शिशुको नाम प्रेयङ्का राखे । “आफ्नो संस्कार अनुरुप अग्निस्थापना गरी नवजात शिशुको नामकरण विधि सम्पन्न भएको छ,” उनले भने । 

तर शिशुकी आमा रिता दाहाल अमेरिकामा अस्पतालको नियमअनुसार छोरी जन्मनु पाँच दिन अघि नै छोरीको नाम रुहानी राखिएको सुनाइन् । “बच्चा जन्मिनु अघिनै डाक्टरलाई नाम दिनुपर्ने रहेछ । जन्मने बित्तिकै डाक्टरले ‘वेलकम रुहानी’ भनेको सुन्दा म अत्यन्तै खुशी भएँ । गर्व महसुस गरेँ”, उनले भनिन् । नामकरण गर्दा पुरोहितले भने झैँ आफैँ कोठामा शुद्ध पानी छर्किएको बुबा ज्ञानेन्द्रले सुनाए । 

भूमण्डलीकरणसँगै अन्तर्राष्ट्रिय बसाइसराइ सामान्य बन्दै गएको छ । मानिसहरु रोजगारी र उच्च शिक्षाका लागि गाउँबाट सहर र सहरबाट विदेशसम्म पुग्नु सामान्य बन्दै गएको छ । भौतिकरुपमा जतिसुकै टाढिए पनि सांस्कृतिकरुपमा जोडिनका लागि भने इन्टरनेट र सामाजिक सञ्जालले सहज बनाएको छ । 

शिशुका हजुरबुबा योगेन्द्र छोराबुहारी र नातिनी आफूसँगै नेपालमा नभए पनि आफ्नो परम्परागत संस्कारमा उनीहरुलाई सामेल गराउन पाएकोमा खुशी व्यक्त गरे । अनलाइनमार्फत यस्ता कर्म सहरमा सामान्य भए पनि गाउँका मानिसलाई नौलो र रमाइलो अनुभूति दिलाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ