arrow

विश्वकप क्रिकेटमा अष्ट्रेलियाको कीर्तिमानी जित, नेदरल्याण्ड्स ३०९ रनले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
worldcup-2023-australia-.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको २४ औँ खेलमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई हराएको छ । दिल्लीको अरुण जेट्ली स्टेडियममा भएको खेलमा अष्ट्रेलियाले कीर्तिमानी जित हासिल गरेको छ । अष्ट्रेलिया ३०९ रनको फराकिलो जित हासिल गर्न सफल भएको हो । 

यो विश्वकपको सबैभन्दा फराकिलो जित हो । विश्वकपमा अहिलेसम्म कुनै पनि टिमले यति धेरै अन्तरको जित हासिल गर्न सकेको थिएन । 

सन् २०१५ मा अष्ट्रेलियाले अफगानिस्तानलाई २५७ रनको अन्तरले हराएको थियो । त्यो नै अहिलेसम्मको फराकिलो जित थियो । 

४०० रनको चुनौती पछ्याएको नेदरल्याण्ड्सले ९० रनमात्रै बनाएसँगै अष्ट्रेलियाले फराकिलो जित निकालेको हो । 

विक्रम सिंहले सर्वाधिक २५ रन बनाएको इनिङ्सलाई २१ ओभरमै समेट्ने क्रममा एडम जम्पाले ४ तथा मिचेल मार्शले २ विकेट लिए । 

खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाले ८ विकेटको क्षतिमा ३९९ रन बनायो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४४ बलमा १०६ रन बनाए । उनले ४० बलमा शतक पूरा गर्दै कीर्तिमान बनाए । विश्वकपको इतिहासमा कम बलमा शतक प्रहार गर्ने कीर्तिमान म्याक्सवेलले राखेका हुन् । 

त्यस्तै डेभिड वार्नरले ९३ बलमा १०४ रन बनाए । उनको यो विश्वकपमा छैटौँ शतक हो । एकै विश्वकपको दोस्रो शतक हो । विश्वकपमा सबैभन्दा बढी शतक भारतीय कप्तान रोहित शर्माको नाममा रहेको छ । उनले सात शतक बनाएका छन् । वार्नरले भारतीय पूर्व खेलाडी सचिन तेन्दुलकरको बराबरी गरेका छन् । 

त्यसैगरी स्टेभेन स्मिथले ७१ तथा मार्कस लबुसचांगेले ६२ रन जोडे । नेदरल्याण्ड्सका लोगान भान बिकले ४ विकेट लिए । 

त्यस्तै बास डे लिडेले २ विकेट लिए । तर उनले ११५ रन दिएका छन् । जुन सबैभन्दा खराबको रेकर्ड बनेको छ । यसअघि एक दिवसीयमा माइक लेविसको नाममा एकै इनिङ्समा सर्वाधिक ११३ रन दिएको रेकर्ड रहेको थियो । त्यो रेकर्ड तोडिएको छ । 

अंक तालिका
५ खेलबाट १० अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ५ खेलबाट ८ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । ५ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड तेस्रो स्थानमा रहेको छ । ५ खेलबाट ६ अंकसहित अष्ट्रेलिया चौथो स्थानमा छ । 

पाकिस्तान ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा रहेको छ । 

अफगानिस्तान ५ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ । 

४ खेलबाट २ अंकससहित श्रीलंका सातौँ स्थानमा छ । ४ खेलबाट २ अंकसहित इङ्गल्याण्ड आठौँ स्थानमा छ । 

५ खेलबाट २ अंकसहित बंगलादेश नवौँ स्थानमा छ । 

५ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स पुछारमा रहेको छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।

–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।

–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो । 

–२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल गर्यो ।

–२१ औँ खेलमा भारत विजयी भएको छ । भारतले २० वर्षपछि विश्वकपमा पहिलो पटक न्यूजिल्याण्डलाई हराएको छ । भारत ४ विकेटले विजयी भयो ।

–२२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गर्यो । पाकिस्तानलाई अफगानिस्तानले ८ विकेटले हराएको हो ।

–२३ औँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनको फराकिलो अन्तरले हराएको छ । दक्षिण अफ्रिकाले लगातार सात खेलमा तीन सय रन बनाउने क्रममा ५ विकेटको क्षतिमा ३८२ रन बनायो । क्विन्टन डे ककले सर्वाधिक १७४ रन बनाए ।

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ