- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इनरुवा । जिल्लाको सदरमुकाम इनरुवा-२ मा रहेका कुम्भकार बिहानैदेखि कोई माटो मुस्छन् त कोई माटोका भाँडा बनाउने काममा व्यस्त हुन्छन् ।
चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहजरुपमा उपलब्ध गराउने उनीहरूको उद्देश्य हो ।
इनरुवा, लौकही, हरिपुरलगायत स्थानका कुम्भकारले दिपावली तथा छठलाई लक्षित गरी माटोका भाँडा बनाउन थालेका स्थानीय श्रीप्रसाद पण्डितले बताए ।
उनका अनुसार चाडपर्वलाई लक्षित गरी माटोका घैला, दियो, पालासहितका विभिन्न भाँडाकुँडा बनाउने काममा व्यस्त बनेका छन् ।
भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने भएकाले दुई हप्ता अगाडिदेखि नै माटोको जोहो गर्नुपर्ने उनको भनाइ थियो ।
एक महिना अघिसम्म विभिन्न समस्याले माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो भएको स्थानीय देवनारायण पण्डितले बताए ।
नजिकमा माटो नपाइने भएकाले टाढाबाट किनेर ल्याइएको बताउँदै अहिले भाँडा, पाला तथा अन्य सामग्री बनाउन हतार भइरहेको उनको भनाइ थियो ।
दिपावली तथा छठ पर्वमा चौमुखे दियो, पाला, कलशालगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले सामान बनाउने काममा लागेको स्थानीय सियाराम पण्डितले बताए ।
पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांशको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले अहिले यो काममा बढी व्यस्त भएको उनले बताए ।
पर्वलाई लक्षित गरी केही दिन अघिदेखि भाँडा बनाउन थालिएको बताउँदै समय कम भएकाले बजारको माग पूरा गर्न निकै चुनौती रहेको कुम्भकार समुदायका नेता ज्ञानदेव पण्डितले बताए ।
कुमाले समुदायको पेसालाई सरकारले संरक्षण गर्नका लागि ध्यान दिनु आवश्यक रहेको स्थानीयवासीले बताएका छन् । रासस