भूकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको उपचारका लागि विशेषज्ञ टोली
रासस,
प्रकाशित २०८० कार्तिक १८ शनिबार
754
Shares
तस्बिर : रासस
काठमाडौँ। सङ्घीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको छ। भूकम्पबाट प्रभावित पशुपक्षीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको हो।
मन्त्रालयका सचिव डा रेवतीरवण पौडेलका अनुसार पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा राकेश प्रजापतिको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइएको छ।
उक्त टोली प्रभावित क्षेत्रका पशुपक्षीको उपचारमा खटिने छ। स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपक्षीको उपचारमा लाग्ने टोलीले जनाएको छ।
शुक्रबार राति आएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ। भूकम्पबाट पशुपक्षीसमेत प्रभावित भएकाले कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले प्रभावित क्षेत्रमा विशेषज्ञ टोली पठाउन निर्देशन दिएका थिए।