arrow

गण्डकीमा वैकल्पिक विद्युत् प्रसारण लाइन

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
bijuli-gul.jpeg
तस्बिर-फाइल

म्याग्दी । गण्डकी प्रदेशमा विद्युत् आपूर्तिको गुणस्तर सुधार गर्ने र धौलागिरि क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराउने वैकल्पिक प्रसारण लाइन बनाउन थालिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु गरेको कुश्मा-तल्लोमोदी-नयाँमोदी १३२ केभी प्रसारण लाइन सम्पन्न भएपछि गण्डकी प्रदेशमा विद्युत् प्रसारण लाइनको चक्र बन्ने र कालीगण्डकी करिडोरको वैकल्पिक हुने जनाएको छ ।

आयोजना प्रमुख रोशन अग्रवालले म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङमा निर्माण भएका तथा निर्माणका क्रममा रहेका विद्युत् आयोजनालाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन र यस क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तर सुधार गर्न प्रसारण लाइनको चक्र बनाउन लागिएको बताए । 

“कालीगण्डकी करिडोरअन्तर्गत दुई सय केभी क्षमताको दाना-खुर्कोट-न्यू बुटवल जोड्ने प्रसारण लाइन हालै निर्माण सकिएको छ, यो लाइनको कनेक्टर भरतपुर सवस्टेशनसँग हुन्छ, हामीले खुर्कोटदेखि नयाँ मोदी नयाँ लाइन बनायौँ भने खुर्कोट-न्यू बुटवल-भरतपुर-दमौली-लेखनाथ-घाचोक-नयाँमोदी विद्युत् प्रसारण लाइनको चक्र बन्छ”, उनले भने, “कालीगण्डकी करिडोरको लाइनमा समस्या आउँदा नयाँ मोदी हुुँदै र मोदीको लाइनमा समस्या आउँदा खुर्कोट-न्यू बुटवलको प्रसारण लाइनबाट विद्युत् आपूर्ति गराउन सकिने विकल्प हुुन्छ ।”

प्रसारण लाइनको चक्र भएपछि विद्युत् आपूर्ति नियमित भई गुणस्तर सुधार हुने, आयोजना पूर्ण क्षमतामा सञ्चालन हुने र आपूर्तिका कारणले विद्युत् खपत कम भई प्राधिकरणले क्षतिपूर्ति तिर्नुपर्ने समस्या हट्ने आयोजना प्रमुख अग्रवालले बताए ।

खुर्कोट-न्यू बुटवल लाइन निर्माण पूरा नहुँदासम्म खुुर्कोटदेखि मोदी हुँदै न्यू मोदी जोड्ने सिङ्गम सर्किटको प्रसारण लाइनबाट विद्युत् आपूर्ति गराउँदा म्याग्दी र मुस्ताङका जलविद्युत् आयोजना पूर्ण क्षमतामा चल्न सकेका थिएनन् । 

खुुर्कोटदेखि मोदीसम्म छ दशमलव दुई किलोमिटर दूरीको प्रसारण लाइनको ‘सिङ्गल सर्किट’लाई ‘डबल सर्किट’ को बनाउने र तल्लो मोदीदेखि नयाँ मोदी नौ किलोमिटर दूरीको डबल सर्किटको नयाँ प्रसारण लाइन बनाउने आयोजना प्रमुख अग्रवालले बताए । 

तल्लो मोदीदेखि नयाँ मोदी जोड्ने प्रसारण लाइनका लागि ३७ वटा टावर रहने जग्गाको मुआब्जा वितरणको तयारी गरिएको छ । 

कुुश्मा-तल्लोमोदी-नयाँमोदी प्रसारण लाइन निर्माणका लागि कस्मिक इलेक्ट्रिकल लिमिटेडसँग गत हप्ता रु ३५ करोडमा ठेक्का सम्झौता भएको आयोजनाका इञ्जिनियर सुरुङ गुरुङले बताए ।

उनका अनुसार ठेक्काको अवधि २१ महिनाको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ