arrow

आर्थिक सुधारसँगै घरजग्गा कारोबार फस्टाउँदो, व्यवसायी उत्साही, पुसमा एक्स्पो

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
housing-gharjagga-2080-07-2.jpg

काठमाडौँ । नेपालमा आर्थिक सुधार हुँदै गएसँगै रियल स्टेट अर्थात् जग्गा कारोबारको व्यापार पनि बढ्दै गएको छ । कारोबार बढ्दै गएसँगै आठौँ रियल स्टेट एक्स्पो आयोजना हुने भएको छ । आगामी पुस १२ देखि १५ गतेसम्म भृकुटीमण्डपमा एक्स्पो आयोजना हुन गएको हो । 

नेपालमा आवास तथा जग्गा विकासकर्ताहरुको प्रतिनिधित्व गर्ने मुख्य संस्था नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए) ले रियल स्टेट एक्स्पो आयोजना गर्ने भएको हो । एनएलएचडीएले यसअघि सात ओटा रियल स्टेट एक्स्पो सफलतापूर्वक सम्पन्न गरिसकेको छ । 

मंगलबार पत्रकार सम्मेलन गरी एनएलएचडीएले विगतमा प्रदर्शक, विज्ञापनदाता, आगन्तुक र सर्वसाधारणको उल्लेख्य उपस्थिति र सहभागिताका कारण आफूहरु यस प्रकारको एक्स्पो बारम्बार आयोजन ागर्न प्रेरित भएकोसमेत जनाएको छ । 

यो एक्स्पो नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवर्धक भइ ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघको सहआयोजनामा र सिन्थेसिस एन्ड इभेन्ट्स प्रालीको व्यवस्थापनमा आठौँ एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । 

एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्ग, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरु समावेश रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
एक्स्पो विशेषगरी जग्गा तथा भवन विकासकर्ता, जग्गा तथा घर खरिदकर्ता, लगानीकर्ता, उपभोक्ता, घर जग्गा एजेन्ट, इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रवलीकरण तथा पुनःनिर्माण सम्बन्धी डिजाइनर र निर्माण सामग्री आपूर्तिकर्ता तथा वितरकहरुका साथै निर्माण उपकरण उत्पादक एवं डिलर, प्लम्बर, इलेक्ट्रिशियन तथा लाइटिङ व्इवसायीहरु र अन्य सेवा प्रदायकहरुका लागि साझा मञ्च हुने आयोजकको विश्वास छ । 

एक्स्पोले सम्बन्धित मन्त्रालय, विभाग, स्थानीय तह र नियामक निकायका सरकारी प्रतिनिधिहरुका साथै रियल स्टेट क्षेत्रका महत्वपूर्ण सरकारवालाहरुको सहभागिता रहनेसमेत अपेक्षा गरिएको छ । 

उपभोक्ताले आफ्नो छनोटअनुसार उपयुक्त मूल्यमा आवास, जग्गा र अपार्टमेन्ट खरिद गर्न सक्ने अवसर प्राप्त हुनुका साथै घरजग्गालाई सरल, किफायती, अनुमानयोग्य र व्यवस्थित बनाउन एक्स्पो निकै उपयोगी हुने आयोजकको दाबी छ । 

पत्रकार सम्मेलनमा कसले के भने ?
विदुर धमलाः (अध्यक्ष, नेपाल जग्गा तथा आवास विकास संघ) 
यसअघि ६५ ओटा स्टल राखेका थियौँ । यसपटक जति पनि हुनसक्छ यससँग सम्बन्धित । यसको म्यासेज भनेको अर्थतन्त्रलाई ठूलो टेवा पुग्न सक्छ । घरजग्गा भनेको यस्तो चिज हो संविधानले पनि आवासको मौलिक हकलाई मान्यता दिएको छ । त्यो भनेको प्रत्येक नागरिकले आफ्नो घर, वास हुनुपर्छ भन्ने मान्यता राख्छ । यसको क्रममा आजको अवस्थामा ब्यापार यस्तो छ कसरी सम्भव होला भन्ने लाग्ला । तर हामीले गर्न लागेको कार्यक्रमबाट प्रोड्युसरहरुले विभिन्न तरिकाबाट मार्केट क्रिएट गर्ने, कन्जुमरसम्म पुर्याउने काम गर्नुहुन्छ । यो हामीलाई विश्वास छ । किनभने जति पनि नागरिक हुनुहुन्छ उहाँहरुले हिजो किन्न नसक्नु भएको अथवा बिक्री गरेर सानो घर लिन चाहनु भएकाहरुले त्यो कुरा हुन सक्छ भन्ने विश्वास हामीले लिएका छौँ । यो संस्था २०५० सालमा स्थापित भएको हो र यसले जनताको आवासको हकको लागि निरन्तर काम गरिराखेको छ र भोलिको दिनमा पनि गर्छ भन्ने विश्वास दिलाउन चाहन्छु । घरजग्गा व्यवसायीहरुबाट ‘फेक’ काम भएको छ भनेर पनि सुनिराखेका छौँ । तर यो संस्थासँग आबद्ध भएका जति पनि कम्पनीहरु छन् उहाँहरुबाट गरेका काममा कुनै समस्या आएको छैन र आउँदैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु । त्यसैले त्यो प्लेटफर्ममा यहाँहरुले विश्वास गरेर प्रोडक्टहरु किन्न सक्नुहुन्छ । 

भेषराज लोहनीः (अध्यक्ष, नेपाल जग्गा तथा आवास विकास महासंघ)
घर सँगसँगै घरसँग सम्बन्धित सबै कुराहरुलाई एकैठाउँमा ल्याइयो भने घरजग्गा खरिद गर्ने ग्राहकलाई मात्र होइन कोही यदि निर्माण कार्य गर्दैछ, आफ्नो नयाँ घर बनाउन चाहिरहेको छ भने त्यो प्लेटफर्म मार्फत सूचना लिन पाओस् भन्ने हाम्रो उद्धेश्य हो । अनुमति प्राप्त कम्पनीहरुलेमात्र घरजग्गा खरिद बिक्री गर्न पाउने ऐन ल्याउनका लागि हामीले पनि पहल गरिरहेका छौँ । हामीले जिल्लामा पनि यस्ता कार्यक्रम गर्ने सोच बनाइरहेका छौँ । घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउनका लागि हामीले पटक पटक ल्यान्ड मार्केटको कुराकानी गरिरहेका छौँ । ऐन बनाउने सवालमा सरकार पनि सकारात्मक छ । कानून मन्त्रालयले पनि सकारात्मक भएर अगाडि बढिरहेको छ । ठूला, व्यवस्थित शहर र आयोजना सञ्चालन गर्नका लागि ल्यान्ड पुलिङको आधिकारिकता निजी क्षेत्रलाई दिन सकियो भने एउटा काममा फड्को मार्ने थियौँ । 

दीपक मल्होत्राः (वरिष्ठ उपाध्यक्ष, नेपाल जग्गा तथा आवास विकास महासंघ) 
कित्ताकाट एउटा सराहनीय काम हो । त्यसका लागि हामी सबैले राज्यलाई धन्यवाद दिनुपर्छ । राज्यले गरेको राम्रो कामलाई पनि हामीले राम्रो भन्न सक्नुपर्छ । कित्ताकाट पो गर्यो त । तर अरु ब्यारोमिटरहरु छन् अर्थतन्त्रलाई सुधार गर्नका लागि राष्ट्र बैंकको समस्या, बैंकहरुको समस्या, राज्यले ठेकदारहरुको दिनुपर्ने पैसा ती सबैको पैसा बजारमा नआउनु, राष्ट्र बैंकको सहयोग नहुनु, बैंकहरुलाई बढी कसेर राख्नु, यी सब कारणले गर्दा अर्थतन्त्र खुकुलो नहुँदा हामीले भनेजस्तो बिक्री हुन सकिरहेको छैन । दुई किसिमका घरजग्गा व्यवसायीहरु छन् । एउटा जसलाई आवश्यक छ उनीहरुले जस्तोसुकै परिस्थितिमा पनि जग्गा किनेर घर बनाउँछन् । एकथरिका कस्तो छ भने व्यापारै हो किनेरै राखौँ पछि भाउ बढेपछि बेच्ने भन्ने खालका व्यवसायीहरु छन् । आजको दिनमा दोस्रो खालका व्यवसायीलाई अलिकति अप्ठेरो परेका कारणले गर्दा त्यो भएको छैन । पहिलो खालकाहरुले के सोचेर बस्नु भएको छ भने घरजग्गाको भाउ अझै घट्छ । घटेपछि किन्छौँ भनेर उहाँहरु हेरेर बसिरहनु भएको छ । उहाँहरुलाई जुन दिन लाग्छ कि अब घरजग्गाको भाउ घट्दैन बढ्छ उहाँहरु आएर जग्गा किन्नुहुन्छ । अहिले अलिकति चलायमान पनि भइसकेको छ । मैले आफैँले पनि गरेको व्यवसायबाट हिजो अस्तिबाट बैना शुरू भएको छ । यो चलायमान भएको छ । यो व्यवसाय चलायमान भएपछि देशको अर्थतन्त्र चलायमान हुन्छ । सबै कुरालाई यसले सहयोग गर्छ । 

मीनमान श्रेष्ठः (संस्थापक अध्यक्ष, नेपाल जग्गा तथा आवास विकास महासंघ)
आठौँ एक्स्पोले अर्थतन्त्रमा छलाङ मार्छ । किनभने प्रडक्ट निकै आइरहेको छ । अपार्टमेन्ट प्रडक्टहरु पनि छ । हाउजिङ प्रडक्टहरु पनि छ । । यसअघि दुई अर्ब चानचुनमात्र चानचुन ट्रान्जेक्सन भयो । त्यो इन्स्टलबाट मात्रै हो । तीन दिन भएको कारोबारबाट मात्रै हो । रियल स्टेट र हाउजिङ भनेको त मास्टर इन्डस्ट्रि हो । एउटा प्रडक्टबाट करोडौँको ट्रान्जिट हुन्छ । यसपालि धेरै गुणा बढी सेल्स हुन्छ भन्ने आशा राखेका छौँ ।

डा. गोकुलप्रसाद बुर्लाकोटीः (कानूनी सल्लाहकार, नेपाल जग्गा तथा आवास विकास संघ, काठमाडौँ )
२०७३ साल चैतमा छैटौँ घरजग्गा मेला आयोजना गर्यौँ । २०७५ मा सातौँ मेला आयोजना गर्यौँ । यो प्रवलीकरण किन आवश्यक छ ? भूकम्प प्रतिरोधी निर्माण किन आवश्यक छ ? हाम्रा इन्जिनियरहरुले काठमाडौँ उपत्यकामा बनाएका संरचनाको त्यत्रो ठूलो क्षति भएन । सामान्य रुपमै मर्मत गरेर हुने भयो भनेपछि हाम्रा इन्जिनियरहरु पनि सबल छन् भन्ने सन्देश पनि दिइयो । २०७३ र २०७५ सालमा पहिलो र दोस्रो हाउजिङ समिट गर्यौँ । त्यो हाउजिङ समिटमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका आर्किटेक्टरहरु सहभागी हुनुहुन्थ्यो । २०७७ मा भने कोभिडका कारण ५० जना बढी भेला हुन नपाउने भएपछि गर्न सकेनौँ । ७८ र ७९ सालमा भने धेरै मन्दी आएकाले एउटा स्टल बुकिङ गर्न पनि धेरै गाह्रो पर्ने भएपछि हामीले गरेनौँ । अहिले हामीले किन गर्न लागेका हौँ भने २०७९ जेठ २३ मा भूउपयोग नियमावली आयो । त्योभन्दा अगाडि २०७६ मा भूउपयोग ऐन आयो । केही नियामक कुराहरु पनि भएर त्यसमा पनि बाधा अड्चन भएको हुनाले २०८० साल साउन ३२ मा भूउपयोग नियमावलीमा चौथो संशोधन भएपछि र कित्ता काट्न अलिकति सहज भएर साढे दुई आना, दुई आना जग्गाहरु पनि कित्ताकाट गर्न सकिने भयो । यस्तो अवस्था भइसकेपछि अब अलिकति केही सुधार पनि भएको र केही घरजग्गाको कारोबार पनि वृद्धि भएको र मानिसहरु पनि अलिकति उत्साही भएको हुनाले हामीले यही एउटा अवसर छानेका हौँ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ