arrow

शीर्ष नेताहरूलाई गगनको सुझावः ‘विश्राम लिदिनु भयो भने यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन’ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
gagan-thapa-2080-07-02.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शीर्ष नेताहरुलाई राजनीतिबाट विश्राम लिन जोड गरेका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारमा गणतन्त्रवादी दलका नेताहरुको बैठक बसेकोबारे टिप्पणी गर्दै महामन्त्री थापाले शीर्ष नेताहरुले देशका लागि यो व्यवस्थामा गर्न सक्ने र दिन सक्ने सबै योगदान दिइसकेको भन्दै उनीहरुले राजनीतिबाट विश्राम लिए अहिलेको व्यवस्थालाई कसैले केही गर्न नसक्ने बताएका हुन् । 

सामाजिक सञ्जालमार्फत थापाले भनेका छन्, ‘यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईहरू (शीर्ष नेता) ले निभाउनु भएको भूमिका महत्त्वपूर्ण छ । इतिहासले सधैँ सम्झिने छ। तपाईहरू फेरि भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनुपर्‍यो । मैले भन्दै आएको छु, फेरि भन्छु – तपाई शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो । अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन।’

उनले अगाडि लेखेका छन्, ‘यो व्यवस्थालाई बलियो बनाउन तपाईहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् । इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ,सम्मान गर्नेछ। र गणतन्त्र विरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन् । आम जनतामा व्यवस्था प्रतिको विश्वास अझै मजबुत हुनेछ।’
 



नयाँ