arrow

बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २ शनिबार
Baraha Pokheri.jpg

खोटाङ । खोटाङको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।

बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सहआयोजनमा यही मङ्सिर ६ गते बृहत् सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा गाउँपालिकाभित्रका विभिन्न जातजातिको आआफ्नो मौलिकता, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक झाँकी र स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक प्रस्तुति रहने गाउँपालिकाका प्रमुख शालिकराम बञ्जाराले जानकारी दिए । 

“धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिन बृहत् मेला लाग्ने गरेको छ । यसलाई प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको छ”, उनले भने, “बराहपोखरीमा आयोजना गरिएको सांस्कृतिक महोत्सवले गाउँपालिकाको आर्थिक उन्नतिमा समेत सघाउ पुग्ने अपेक्षा गरेका छौँ । आगामी दिनमा समेत यसलाई (सांस्कृतिक महोत्सव) निरन्तरता दिने योजना बनाइएको छ ।”

महोत्सवमा चर्चित गायक शम्भु राई, हास्य कलाकार सुवोध गौतम, गायक कमल खत्रीलगायतका दुई दर्जन बढी कलाकार सहभागी हुने सहआयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक रुपकुमार राईले जानकारी दिए । 

मङ्सिर-६ गते बिहान १० बजेदेखि सुरु हुने सांस्कृतिक महोत्सवमा भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा-२०८०’का विजेताकोसमेत साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ । 

परापूर्वकालदेखि लाग्दै आएको मेलाका साथै सांस्कृतिक महोत्सवलाई लक्षित गर्दै गाउँपालिकाले पालिकाभर दुई दिन सार्वजनिक बिदाको औपचारिक घोषणासमेत गरेको छ ।

संसारकै लोपोन्मुख रातो माछा पाइने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई नेपाल सरकारले एक सय वटा गन्तव्यस्थलको सूचीमा समावेश गरेको छ ।

हरिबोधनी एकादशीका अवसरमा विशेषगरी धामीझाँक्रीको मेला लाग्ने बराहपोखरीमा बालन र सङ्गिनीसमेत नाच्ने चलन छ ।

बराहपोखरीमा रहेको मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र पोखरीको दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

चार दशमलव ४६ हेक्टर क्षेत्रफलमा फैलिएको ‘अर्धचन्द्राकार’को पोखरीमा पाइने दुर्लभ रातो माछाले पर्यटकको मन लोभ्याउने गरेको छ ।

बराहताल चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा रहेका कारण माथिका डाँडाबाट झनै मनमोहक देखिन्छ ।

परापूर्वकालमा एउटा घरको अँगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खादा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको ताल भएकाले यसलाई बराहपोखरी भनिएको  किंवदन्ती छ ।

चारैतिर पहाडैपहाडको बीच भागमा रहेको समथर जमिनमा अवस्थित बराहपोखरीको आयतन बाह्रै महिना एउटै देखिन्छ ।

बराहपोखरीको दक्षिणपट्टी अवस्थित बराहमाई र शङ्खेश्वरको पूजाआराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ ।

जीवनमा शान्ति मिलोस् भनी जोडी परेवा उडाउनुका साथै शुद्धताका लागि पोखरीमा नुहाएर पूजाआराधना गर्ने चलन छ । 

बाह्रै महिना हरियो देखिने यस बराहपोखरीको पानीले नुहाएमा मोक्ष पाउने जनविश्वास रहेको छ ।

विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले पूजाआजा गरेमा सन्तान प्राप्ति हुने विश्वास छ । 

चाडपर्वअनुसार फरकफरक समयमा फरकफरक प्रकृतिको मेला लाग्ने बराहपोखरीको प्रवर्द्धन गर्न गाउँपालिकाले यसपटक सांस्कृतिक महोत्सवको आयोजना गरेको गाउँपालिका उपप्रमुख भूवलराज राईले जानकारी दिए । 

“महोत्सव सफल पार्न गाउँपालिकाको तर्फबाट विभिन्न उपसमितिहरु गठन गरेर परिचालन गरिएको छ । गाउँपालिकाद्वारा परिचालित उपसमितिले तयारीलाई तीव्रता दिएका छन्”, उनले भने, “धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पहिलो पटक आयोजना गरिएको सांस्कृतिक महोत्सवले छुट्टै माहोल सिर्जना भएको छ । यसले बराहपोखरीको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।”

प्राकृतिकरुपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहतालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

अहिले दैनिक पूजाआजा र अवलोकन भ्रमण गर्नेको आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या तीन सयको हाराहारीमा रहेको स्थानीय बासिन्दाले बताउने गरेका छन् । 

बराहपोखरी आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन वटा डुङ्गा सञ्चालन गरिएको छ ।

डुङ्गा सयर गर्ने पर्यटकबाट सङ्कलित रकम पोखरी व्यवस्थापनमा खर्च गरिने बराहपोखरी व्यवस्थापन समितिले जनाएको छ । 

बराहपोखरीमा हरेक वर्षको रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, माघेसङ्क्रान्तिका दिन लाग्ने मेलामा सतबीज छर्ने चलन छ । 

धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने मेला भर्न र दर्शन गर्न छिमेकी जिल्ला उदयपुर, सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभाका दर्शनार्थीसमेत आउने गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ