arrow

नवलपुरका विभिन्न स्थानमा मेला

logo
सञ्जय भट्टराई,  
प्रकाशित २०८० मंसिर ७ बिहिबार
nawalpur-mela-2080-08-07.jpg

कावासोती । हरिबोधनी एकादशीको अवसरमा नवलपुरको नारायणी नदी तटका धार्मिकस्थलहरुमा बिहानैदेखि मेला भर्ने तथा पूजा गर्नेहरुको चहलपहल शुरु भएको छ । 

जिल्लाको पिठौली, केउरानी, सिख्रौली घाट, गुन्द्रही, गैडाकोट र त्रिवेणीधाममा मेला भर्ने र नारायणी स्नान गर्न भक्तालुहरु बिहानैदेखि नारायणी नदी किनारमा जम्मा भएका छ्न ।

यस वर्ष तीन दिन अगाडिबाटै नारायणी नदी किनारमा मेला शुरु भएको छ । स्थानीय मेला व्यवस्थापन समिति, युवा क्लब, टोल सुधार संस्थाहरुले व्यवस्थापन गरेको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिने कावासोतीको पिठौलीमा रहेको एकादशी मेला व्यवस्थापन समितिका संयोजक सागर गुरुङले बताए । 

जिल्लाका विभिन्न स्थानमा लागेका मेलाहरुमा स्थानीयरुपमा उत्पादन भएका तरुल, सखरखण्ड, सुन्तला लगाएतका कृषिजन्य उत्पादनको खरीद बिक्री गर्नेहरुको भीड पनि देख्न सकिन्छ । यसै बिच जिल्लाका स्थानीय तहहरुले जिल्लामा ठूली एकादशीको अवसरमा बिदा दिएका छ्न् । 

वर्षमा पर्ने २४ ओटा एकादशीमध्ये महत्त्वपूर्ण एकादशीको रूपमा हरिबोधनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा ठूली एकादशी पनि भनिन्छ । क्षीर सागरमा चार महिनाअघि सुतेका भगवान् विष्णु आज जागा हुने भएकाले यसलाई हरिबोधनी एकादशी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । 

संस्कृतमा ‘बोधन’ भन्नाले उठाउनु भन्ने अर्थ हुन्छ । त्यसैलै भगवान् हरिलाई उठाउने तिथि भएकालाई यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो । कात्तिक शुक्ल एकादशीमा पर्ने यस हरिबोधनी एकादशीमा व्रत र भगवान् विष्णुको उपासना गर्नाले एक हजार अश्वमेध यज्ञ गरे बराबरको फल पाइने कुरा पद्म पुराणको उत्तरखण्डमा उल्लेख गरिएकोको पण्डित रिमप्रसाद आचार्य बताउँछन् । 

धार्मिक मान्यता अनुसार एकादशीका दिन नारायणी नदिमा स्नान गर्नाले पुण्य मिल्ने जन विस्वास रहेको छ । जिल्लाको विभिन्न स्थानमा नारायणी नदी किनारमा लागेका मेलामा तुलसी विवाहा, तोरण तार्ने जस्ता धार्मीक अनुष्ठानहरु पनि आयोजना भएका गरिएका छन् । 

हरिबोधनी एकादशीको दिन नारायणी स्नान, तुलसी विवाह र तोरण तार्ने गर्नाले पुण्य प्राप्त हुने पण्डित रिमप्रसाद आचार्य बताउँछन् । 

पण्डित आर्चायका अनुसार वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । 

चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङक्षा पूरा हुने धार्मिक विश्वास छ ।

हरिशयनी एकादशीको दिन घरघरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी विवाह गरिदिने परम्परा छ । आजको दिन घरघरमा तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेँलो वस्त्र तथा फूलमालाले सिँगारेर भगवान् विष्णुको प्रतीकको रूपमा निगालो गाडी तुलसीको विवाह गरिन्छ । भगवान् विष्णु प्रशन्न हुने विश्वासका साथ आज फलाहार मात्र लिई र राती जाग्राम बसेर हरि नाम संकीर्तन गर्ने प्रचलन रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ