arrow

दाङमा लागूऔषधका उनान्साठी मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
Dang-court.jpg

दाङ । दाङ जिल्लामा लागू औषध कारोबारीको सङ्ख्या बढ्न थालेको छ । डेढ वर्ष पहिले गढवा गाउँपालिका-१ धानखोलास्थित हुम्ला रोलिङ होटलबाट झण्डै १० केजी चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गर्‍यो । 

पक्राउ पर्नेमा बाग्लुङ निसिखोला गाउँपालिका-१  का २१ वर्षीय सुदिप सिञ्जाली मगर र बाग्लुङ बरिगाड गाँउपालिका-२ का ३० वर्षीय रेमवहादुर भुजेल रहेका थिए । 

सो होटलमा चरेसको कारोवार भैरहेको छ भन्ने सूचना दाङ प्रहरीमा प्राप्त भएपछि प्रहरीले खानतलासी गर्दा सेतो प्लास्टिकमा बेरेर इँट्टा आकारमा रहेको २० पोका चरेस बरामद गर्‍यो ।

चरेस कारोबारीलाई पक्राउ गरी मुद्दा चलायो । गत वर्ष पुस ७ गते सुर्खेतका ३६ वर्षीय लक्ष्मण सापकोटा, नेपालगञ्ज नगरपालिका-१५ का  ३२ वर्षीय  गुड्डु कवडिया र सोही ठाउँका २४ वर्षीय रुक्सा कवडियालाई ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

उनीहरुलाई नेपालगञ्जबाट बा १९ च ८८३३ नम्बरको हाइलेक्स गाडीबाट दाङतर्फ आउँदै गर्दा लमही नगरपालिका-९ को अमेलियामा रातिको समयमा जाँचका क्रममा लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ । 

प्रहरीले विशेष सूचनाको आधारमा सवार गाडी जाँच गर्दा  सेतो प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा लागुऔषध बरामद गरेको हो । बरामद गरिएको लागुऔषध ब्राउन सुगर एक सय ८० ग्राम रहेको छ ।

उनीहरुबाट नगद रु सात हजार, मोबाइल तीन थान र सवार गाडीलाई दाङ प्रहरीले नियन्त्रणमा लिई पक्राउ परेका विरुद्ध लागुऔषध ओसारपसार तथा विक्री वितरणसम्बन्धी कसुरमा प्रहरीले दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दर्ता गरायो । गत साउन १२ गते लमहीबाट प्रहरीले तीन जनालाई ब्राउन सुगरसहित पक्राउ  गरेको थियो । 

पक्राउ पर्नेमा लमही नगरपालिका-४ अर्नहवा निवासी १५ वर्षीय एक बालिका, लमही नगरपालिका-५ का २५ वर्षीय विक्रमकुमार गुप्ता र बर्दघाट नगरपालिका-६ कैलाली सुगरखालका २४ वर्षीय समीर कठरिया रहेका छन् । 

उनीहरुको साथबाट छ सय मिलि ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको लमही प्रहरीले जनाएको छ । उनीहरुलाई पनि लागुऔषधको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ५९ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार उक्त घटनामा संलग्न एक सय १९ पक्राउ परेका थिए । 

उनका अनुसार पक्राउ परेकाबाट दुई सय ३८ ग्राम ५७३ मिली ग्राम ब्राउन सुगर, १० किलो दुई सय ग्राम चरेस, १३ किलो तीन सय ७८ ग्राम गाँजा र तीन सय ९४ वटा नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको थियो । आव २०७८/७९ मा ५२ वटा मुद्दा दर्ता हुँदा एक सय १६ पक्राउ परेका थिए ।

जसमा तीन सय ९१ ग्राम चार सय १८ मिली ग्राम ब्राउन सुगर, १७ किलो ५१ ग्राम चरेस, सात किलो तीन सय ८५ ग्राम गाँजा, आठ किलो सात सय ६० ग्राम अफिम र एक हजार १६ नाइट्राजेपाम ट्याब्लेट बरामद भएको दाङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । 

त्यस्तै चालु आवको हालसम्ममा १३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता  भएका छन् । ती घटनामा २५ पक्राउ परेको दाङ प्रहरीले जनाएको छ । दर्ता भएका १३ मुद्दामध्ये एक फर्छयौट हुँदा तीन जना धरौटीमा रिहा भएका छन् । 

यसैबीच बढ्दो लागुऔषध दुव्र्यसन तथा ओसारपसार न्यूनीकरणका लागि सबैको सामूहिक प्रयासले गाउँ तहसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको उनी बताउछन् ।  

जीवनका बारेमा नबुझ्दा, प्रविधिको दुरुपयोग, अभिभावकको लापरबाही, चेतना अभाव, आर्थिक प्रलोभन, मानिसका उच्च महत्वकांक्षा, गरिबी, कुलत लगायतका कारण यस्ता घटनामा वृद्धि भएको र यी घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकास गर्ने कार्यक्रम आवश्यक रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ