arrow

मुख्यमन्त्रीले दिए सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
Dilli_Bahadur_Chaudhary.jpg
तस्बिर-फाइल

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । 

प्रदेश सरकारका सचिवहरूसँग मुख्यमन्त्री कार्यालय देउखुरीमा भएको बैठकमा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालयमातहत कार्यालयको सेवा प्रवाह प्रभावकारी एवं छिटो-छरितो बनाउन आवश्यक रहेको भन्दै सोहीअनुसार गर्न निर्देशन दिए । 

उनले कार्यसम्पादनलाई प्रभावकारी बनाई उपलब्धि बढाउनसमेत आग्रह गरे । 

“अहिले प्रदेश सरकारको कार्यसम्पादन र उपलब्धि भनेअनुसार राम्रो हुनसकेको छैन, अब त्यो अवस्था आउन दिनु हँुदैन”, उनले भने ।

सरकारको कामको गति सुस्त भयो, उपलब्धि बढाऊ, भएको प्रगति सार्वजनिक गरौँ । चालु आर्थिक वर्षको अहिलेसम्मको प्रगति, उपलब्धि र खर्च सन्तोषजनक नदेखिएको भन्दै मुख्यमन्त्री चौधरीले यसलाई गम्भीररूपमा लिन आग्रह गरे । 

उनले अनावश्यक योजनाभन्दा पनि आवश्यक योजना कार्यान्वयनमा चासो दिनसमेत आग्रह गरे ।

मन्त्रालयको लक्ष्य र उद्देश्यमा रहेर नीति निर्माण गर्न र सोहीअनुसार काम गर्नसमेत मुख्यमन्त्री चौधरीले आग्रह गरे । 

त्यहीअनुसार नीति बनाउन र स्रोत परिचालन गर्नसमेत उनले निर्देशन दिए । 

त्यसैगरी योजना कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय बढाउनसमेत मुख्यमन्त्री चौधरीले निर्देशन दिएका छन् ।

बैठकमा प्रमुख सचिव राधिका अर्यालले निर्देशन कार्यान्वयन गर्न मन्त्रालयको कार्यासम्पादन बढाउन आग्रह गरे । 

उनले अबको समय पूर्णरूपमा कार्यान्वयनको भएको हुँदा त्यसमा दत्तचित्त हुनुपर्नेमा जोड दिए । 

मन्त्रालयका सचिवहरूले मन्त्रालयले योजना र बजेट कार्यान्वयनका लागि नीति, विधि बनिसकेकाले अब काममा लाग्ने प्रतिबद्धता जनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ