arrow

बेथा बुटवलबासीको

स्थानीयको स्वास्थ्यमाथि गम्भीर खेलबाड, बस्ती नजिक डम्पिङ साइट

logo
नारायण वली,
प्रकाशित २०८० चैत २८ बुधबार
phohor-butwal 1.jpg

लुम्बिनी । बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले कान्तिपुर दैनिकमा बुटवलमा बस्न आउनुको लय समेट्दै 'बुटवल सहर, सबैको रहर' शीर्षकमा लेखेको एउटा लेखले चर्चा पायो ।

पश्चिम नेपालको व्यापारीक केन्द्र मानिने बुटवलमा दिनप्रतिदिन पहाडी जिल्लाबाट बसोबास गर्न आउनेहरुको संख्या बढ्दै गएको पाइन्छ । हाल त्यो नगरको नेतृत्व उनै 'बिग स्टोरी' का लेखक नगरप्रमुख पाण्डेयले गरेका छन् । उनले बुटवलमा बस्ने रहरको कथा लेख्दै गर्दा बुटवल बजारबाट उत्पादित अव्वस्थित फोहरको व्यवस्थापन गर्न नसकेको शब्द जोडेको पाइन्न । 

बुटवल उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि लामो समयदेखि दीर्घकालीन रुपमा फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) निर्माण गर्न नसक्दा स्थानीयसँग बेला बेलामा विवाद हुँदै आएको छ ।

डम्पिङ साइट निर्माण गर्न कस्सिएको उपमहानगर अन्ततः नसकेपछि नगरका विभिन्न ठाउँ चाहार्दै स्थानीयबासीहरुको बस्ती नजिक फोहर फाल्दै आएको छ । अहिले बुटवल उपमहानगरपालिका वडा नं ११ को सिरान गाउँ मजुवाको बस्ती नजिकै फोहोर फाल्दै आइएको हो ।

विगतदेखि स्थानीयले विरोध गरेपछि विभिन्न सहमति गरेर थामथुम पार्दै आएको उपमहानगरले फोहर व्यवस्थापनलाई दीर्घकालीन रुपमा समाधान गर्नका लागि कुनै योजना अगाडि बढाउन सकेको छैन ।

स्थानीयले फोहर फाल्दा बस्तीमा दुर्गन्ध फैलिएको, स्वास्थ्यमा गम्भीर असर परेको भन्दै आन्दोलित हुँदासमेत उपमहानगरको ध्यानाकर्षण पुग्न सकेको छैन ।

स्थानीयले संघर्ष समिति नै बनाएर आन्दोलन गरेर उपमहानगरपालिकाले पठाएको फोहरका गाडीहरु रोक्दा पनि बस्ती नजिक फोहर फाल्दै आइरहेको छ । 

अझै पनि उपमहानगरपालिकाले दीर्घकालीन रुपमा समस्या समाधान नगरी ठाउँ फेर्दै फोहर फाल्ने प्रवृत्तिले स्थानीयहरु आजित भएको फोहरमैला प्रभावित क्षेत्रका स्थानीयबासी बाबुराम लम्सालले बताए ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बुटवलका अध्यक्ष समुद्र जिसीले दीर्घकालीन समाधान नखोज्दा यस्ता समस्या प्रत्येक वर्ष आउने गरेको बताए ।

उनले भने, ‘केही समय एक ठाउँमा फाल्ने अनि त्यहाँ विरोध भएपछि अर्को ठाउँमा फाल्ने प्रक्रियाले फोहरलाई व्यवस्थित गर्ने कार्यले मूर्तरुप पाउन सक्दैन । मानव स्वास्थ्यलाई असर पुर्याउने गरी फाल्नु वातावरण प्रदूषण विपरीत हुन्छ । यसमा ध्यान दिन जरुरी छ ।' 

बुटवल उपमहानगरपालिकाको सरसफाइ तथा फोहरमैला व्यवस्थापन शाखाका अनुसार फोहरका विषयमा स्थानीयले विरोध जनाउने र सम्झौता गर्ने कार्य कुनै नौलो नभई पुरानै भएको बताएको छ ।

संघर्ष समिति बनाएर आन्दोलन गर्ने उपमहानगरपालिकासँग आफ्ना सर्तहरु राख्ने र ती सर्तहरुलाई सम्बोधन गर्न आश्वासनपूर्ण सम्बोधनपछि सहमति हुने गरेका उदाहरण धेरै भएको जनाइएको छ । 

बुटवल उपमहानगर फोहरलाई व्यवस्थित गर्न वर्षौँदेखि फेल हुँदै आएको छ । शुरुमा तिनाउ छेवैमा पर्ने हात्तीसुँडमा फोहर फाल्ने गरिएको थियो । त्यसपछि लुम्बिनी वाणिज्य क्याम्पस पछाडि र नगरका विभिन्न ठाउँ सार्दै पछिल्ला वर्ष मजुवा क्षेत्रमा फोहर फाल्न थालिएको छ ।

गत फागुन २८ गते भगवती टोलमा बसेको फोहरमैला प्रभावित क्षेत्रका स्थानीयको एक भेलाले रिशव पोख्रेलको संयोजकत्वमा संघर्ष समिति गठन गर्दै उपमहानगरले फाल्दै आएको अव्यवस्थित फोहरको व्यवस्थापन र निकासका सम्बन्धमा छलफल गरे पनि समिति र स्थानीयको आवाजलाई बेवास्ता गर्दै आएको संघर्ष समितिका एक सदस्य प्रकाश श्रेष्ठले बताए । 

उनी भन्छन्, 'मानव स्वास्थ्यको ख्यालसमेत नगरी फोहर फाल्दा बस्ती पूरै दुर्गन्धित हुन पुगेको छ । नदी किनारमा डम्पिङ गरिएको फोहर बेला–बेला जलाउँदा आँखा नै पीरो हुने र धुवाँको मुस्लोले बस्ती नै ढाकिन्छ । सिरान गाउँ मजुवामा फोहर फाल्दा त्यसबाट प्रत्यक्ष प्रवेश नगर, मजुवा, दुर्गा नगर, धुव्रनगर, शिवालय टोल र भगवती टोल प्रभावित हुँदै आएको बताइएको छ । 

सामुदायिक विकास तथा वातावरण संस्था बुटवलका अध्यक्ष भरत भट्टराईले पालिकाले फोहर व्यवस्थित गर्नुपर्ने बताउँछन् ।

बस्ती र नदी किनार बीचमा फाल्न बिल्कुल पाइँदैन । बरु पालिकाले गल्ने, नगल्ने र रिसाइक्लिङ गर्न मिल्ने, नमिल्ने बस्तुहरुलाई पहिचान गरी प्रशोधित गर्न सकेमा फोहरलाई मोहरमा बदल्न सकिने र आर्थिक क्षेत्रमा टेवा पुग्ने उनले बताए ।

खुला रुपमा फालिएको फोहरको दुर्गन्धले मानव स्वास्थ्यमा गम्भीर प्रकृतिका सरुवा रोगहरु लाग्न सक्ने बताउँदै वर्षात् र गर्मीमा झन् सरुवा रोगको जोखिम बढ्ने जिकिर गरे । 

यस्तो छ विगतदेखि वर्तमान 

बुटवलमा अहिले दैनिक ७५ टन फोहोर उत्पादन हुँदै आएको छ । पछिल्लो समय जनसङ्ख्या वृद्धिसँगै सोह्र छत्तीस खोला, सुखौरा खोला र स्थानीय वन नजिकै फालिएको फोहरको मापन छैन । जथाभावी फालिएको फोहरले तिलोत्तमाका किसानहरु पीडित बन्दै आएका छन् ।

बुटवल उपमहानगरले अझैसम्म दीर्घकालीन ठाउँ निर्धारण गर्न नसक्दा फोहोर व्यवस्थापनमा ग्राउण्ड जिरो छ । बुटवल उपमहानगरपालिकाले संस्थागत रुपमा फोहोर व्यवस्थापन गर्न पूर्वमेयर एवं हाल प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठको पालादेखि हालका पाण्डेय सम्मको कार्यकालमा समेत कुनै ठोस कार्य गर्न सकेको छैन । 

बुटवलमा फोहर प्रशोधनका लागि एसियाली विकास बैंकले लगानी सम्झौता गरे पनि स्थानीयहरुको विवाद, जग्गा व्यवस्थापन समस्याजस्ता कमजोरीले एडीबीले नगरपालिकासँग गरेको सम्झौताबाट हात झिकेको छ ।

बुटवल उपमहानगरपालिकाले सन् २०१० मा एडीबीसँग फोहर प्रशोधन केन्द्रका निम्ति २८ करोडको सम्झौता गरेको थियो । त्यसपछि फोहर मैला प्रशोधन केन्द्रका लागि उपमहानगरपालिकाले जेडआईईसी पप्पु जेभीसँग २५ करोड ६२ लाख ५३ हजार ५ सय ८४ रुपैयाँमा ठेक्का सम्झौतासमेत गरेको थियो ।

बुटवल–१५ को जितेश्वरी सामुदायिक वनमा योजना निर्माण गर्ने भनिए पनि स्थानीयको अवरोधपछि बुटवल देवीनगर राख्ने निर्णय गरियो त्यहाँ स्थानीयहरुले कडा विरोध गरेपछि काम हुन सकेन ।

त्यसपछि रुपन्देहीको देवदह नगरपालिकाको सीमाना जोडिएको शिवनगर सामुदायिक वनमा योजना निर्माण गर्ने निर्णय भयो । बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाका दुवै ठाउँबाट फोहर राख्ने भनिए पनि दुई नगरपालिकाबीच समन्वयन नहुँदा परियोजना रोकिएको सरसफाइ तथा फोहरमैला व्यवस्थापन शाखाले जनाएको छ ।

संविधानमा नीति 
नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न र वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षति बापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक सुरक्षित गरेको छ ।

साथै धारा ३५ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा वातावरणमा पहुँचको हक सुनिश्चित गरेको छ । संविधानले जनसाधारणमा वातावरणीय स्वच्छता सम्बन्धी सचेतना बढाई वातावरणमा परेको नकारात्मक प्रभावको न्यनीकरण गर्दै पर्यावरणीय दिगो विकासका सिद्धान्त अबलम्वन गने नीतिसमेत अंगिकार गरेको छ । 



नयाँ