arrow

हराउँदै गएको कला जोगाउन ताते बुटवलका महिला

logo
नारायण वली,
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
madal-women-butwal.jpg

लुम्बिनी । बुटवल उपमहानगरपालिका वडा नम्बर १० को कार्यालयको आयोजनामा सञ्चालन भएको तीन महिने हार्मोनियम तथा मादल बजाउने तालिम मंगलबार एक कार्यक्रमबीच समापन गरिएको छ । 

लोपोन्मुख हुँदै गएको नेपाली मौलिक कलालाई जोगाउन वडामा रहेका महिला तथा युवाहरुलाई सिकाउने उद्देश्य अनुसार वडामा रहेका महिला तथा युवाहरुलाई उक्त तालिम सञ्चालन गरिएको थियो ।

बसन्ती मल्ल भन्छिन्, 'म चाहिँ सानैदेखि एकदम मादल बजाउने, गीत गाउने एकदम रहर जाग्थ्यो। तर मैले कुनै पनि अवसर पाएको थिइन । म अहिले ४० वर्ष पुगेँ । यो उमेरमा हाम्रो वडाले हामी जस्ता महिला र युवाहरुलाई मौलिक कला संस्कृति जोगाउन परम्परागत बाजा बजाउने अवसर दिएकोमा हृदयदेखि आभार प्रकट गर्दछु ।'  

उनले अगाडि भनिन्, 'आज वडाको पहलकदमीले गर्दा म मादल बजाउन अब्बल बन्ने अवसर पाएकी छु। तालिममा सिकेको सीपलाई आगामी दिनमा यो भन्दा अझै राम्रो बजाउनेछु, प्रयासमा लाग्नेछु । मैले यो तालिममा सहभागी हुनलाई पसल नै बन्द गरेर सहभागी भएकी हुँ, यसमा सफल हुने मेरो ठूलो इच्छा छ । अरुहरुलाई पनि बजाउन सिकाउने छु ।'

अर्का सहभागी विशन गुरुङ भन्छन्, 'मलाई मादल सिक्ने साह्रै रहर थियो । तर अवसर पाएको थिइन ।' उनले उमेरको आधा बसन्तपार गरिसकेपछि मादल बजाउने अवसर पाए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १० ले  आयोजना गरेको तीन महिने मादल तथा हार्मोनियम तालिममा सहभागी भएका उनी अहिले मज्जाले मादल रन्काएर बजाउने भएका छन् । मनमा रहर भए पनि अवसर नपाएर मादल बजाउन नपाएका उनी अर्धबैंसमा आउँदा बालापनको रहर पूरा गर्न पाएको सुनाए । 

उनी आधा उमेरमा आएर मादल बजाउन सिक्न पाउँदा आफू निकै हर्षित भएको बताउँछन् । गाउँटोलमा हुने कार्यक्रममा मादल बजाउनेसमेत नहुँदा कयौँपटक कार्यक्रम नभएको अनुभूति सुनाउँदै उनले अब हुने कार्यक्रमहरु आफूले मादल बजाएर दिदीबहिनी र दाइभाइ लगायतलाई रमाइलो गराउन सक्ने दाबी गरे ।  
 
वडा १० की पूर्व वडा सदस्यसमेत रहेकी कला केसी अहिले हार्मोनियम बजाएर संगीतमा गुन्जिन थालेकी छिन्। हँसिली र उमेरले पाकी  भइसकेकी केसी अहिले उमेरको आधा उमेरमा हार्मोनियममा मोह बढेको बताउँछिन् । 

संगीतमा झुम्दा आफूलाई निकै आनन्दित भएको महसुस हुने र नेपालका मौलिक कला संस्कृति पछिल्लो समय हराउँदै गएको बेला तीन महिने तालिमले दिएको सीपलाई अब व्यवहारमा पनि लागू गरेर लोपोन्मुख कला संस्कृतिलाई बचाउन लागि पर्ने बताइन् ।

अबका दिनमा आफूले महिलाहरुको हरितालिका तीज त्यस्तै तिहारमा भैलो लगायतमा मादल अथवा हार्मोनियम बजाएर रमाइलो गर्न सक्ने क्षमता बनाइसकेको उनको दाबी छ।

पारिजात समूहकी अध्यक्ष बिजु क्षेत्री ५० वर्षको उमेरमा हार्मोनियम बजाउँछिन् । बुढेसकालमा छोराछोरी पनि घरमा नबस्ने र घरमा हुँदा एक्लै हुने भएकाले संगीतमा दिन कटाउन सजिलो हुने, स्वास्थ पनि स्वस्थ्य हुने, गाउँ टोलमा हुने रोधी र भजन कृतन र रत्यौलीमा पनि मादल र हार्मोनियम बजाएर ती कार्यक्रमहरु सफल बनाउन मद्दत पुग्ने बताइन् ।  

सीता गौतमले मेहनत गरे सकिन्छ भन्ने लागेको बताइन् । टोलमा हुने विभिन्न कार्यक्रम, एकादशी लगायतमा अबदेखि मादल तथा हार्मोनियम बजाएर रमाइलो गर्न सकिने सुनाइन् । ३ महिने तालिमले आफूलाई धेरै हौसला थपेको उनले जनाइन् ।  

बुटवल उपमहानगरपालिका वडा नं १० का वडाध्यक्ष बलबहादुर पुनले आफूहरुले विनियोजन गरेको बजेटको सदुपयोग भएको महसुस व्यक्त गरे ।

समापन कार्यक्रममा बादल र हार्मोनियम बजाउन महिला र युवाहरुलाई सिकाएको र सिक्ने अवसर दिएकाे उनले बताए ।

भद्दा भन्दा मौलिक संस्कृति र कलालाई जोगाउन सहभागीले निरन्तरता दिनेमा विश्वास लिएको उनले जनाए ।

आगामी वर्षमा वडाले थप बजेट विनियोजन गरेर प्रभावकारी रुपमा लैजाने भएकाले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्न उनले सुझाए ।

वडाले ३३ जनालाई दुई वटा हार्मोनियम र चार वटा मादलसमेत हस्तान्तरण गरेको छ । 



लोकप्रिय समाचार
नयाँ