arrow

ज्यानमारा बन्दै नवलपुरका सडक

logo
सञ्जय भट्टराई,  
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
accident-nawalpura.jpg

कावासोती । बिहान करिब १०ः३० बजे , २६ कार्तिक २०८०। नवलपुरको देवचुलीमा तिहारको चहलपहल शुरु भएको थियो । देवचुली–९ को गोरेघुम्ती भनिने ठाउँबाट अचानक ठूलो आवाज आयो । 

आवाज पछ्याउँदै गाउँलेहरू त्यहाँ पुगे । उनीहरू पुग्दा ६ जनाको घटना स्थलमै ज्यान गएको थियो भने एक जना गम्भीर घाइते भएका थिए । गभ्भीर घाईतेको अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गयो ।

यो घटना भएको केही दिन पत्रपत्रिका र सामाजिक सञ्जाल ताते । तीव्र गतिमा आएको जिप सडक छोडेर लगभग २–३ सय मिटर परको घरमा ठोक्किएको देख्दा मानिसहरू झस्किए, केही समय सावधान र सचेत पनि भए । 

तर केही दिनमै घटनासँगै समाचार पनि सेलाए । सवारी सुरक्षाको बहस सेलायो । दुर्घटना भने सेलाएका छैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार जिल्लामा गाडी दुर्घटनाले गर्दा पछिल्लो ४ महिनामा १३ जनाले ज्यान गुमाउदा २४ जना गम्भीर घाइते तथा २१ जना सामान्य घाइते भएका हुन् । 

दीर्घरोग लागेर वा वृद्ध भएर होइन, एक ठाउँबाट अर्को ठाउँ जान सजिलो बनाउने गाडीले गर्दा ज्यान जान्छ । तर, सडक दुर्घटनालाई बहस, अध्ययन–अनुसन्धान र दोषीलाई कारबाही गर्ने कुनै परिपाटी नभएकाले यसबाट मृत्यु हुनेको संख्या कम नभएको सरकारी तथ्याङकले देखाएका छन ।

प्रायः सडक दुर्घटनाको मुख्य कारण भनेको चालकको लापरबाही हुने गरेको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताए । 

चालकको लापरबाही सँगसँगै यात्रुकोहरुको असावधनी र लापरबाहीले समेत दुर्घटना हुने गरेको उनको भनाई थियो । गन्तव्यमा छिटो पुग्न सवारीको क्षमता भन्दा धेरै यात्रुहरु चढ्ने गर्दा पनि दुर्घटनाको कारण बनेको आर्चाय बताउँछ्न् ।

विषेश गरेर नवलपुरको पहाडी क्षेत्रमा चल्ने साना जिपहरुमा क्षमता भन्दा धेरै यात्रु चढाउने गरिन्छ । प्रहरी र ट्राफिकले चेकजाँच गर्ने स्थान भन्दा अगाडि नै यात्रु झराल्ने र चेकजाँच भन्दा केही तल आएपछि फेरि यात्रुलाई चढाएर प्रहरी र ट्राफिकको आँखा छ्ल्ने काम चालक र सहचालकले गर्ने गरेको देवचुली–६ मुण्डेका स्थानिय रामु भण्डारीले स्थानिय बताए । “यो हेर्दा यसको दोषी यात्रु र व्यवसायी दुवै हुन्”, उनले भने ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मी पनि सडक दुर्घटनाको मुख्य कारण भनेको चालकको लापरवाही नै भएको बताउँछन् । 

पछिल्लो समय जिल्लामा भएका धेरै जसो दुर्घटनाहरु चालकको लापरवाहीकै कारणले भएको उनको भनाई छ । सवारीसाधन चलाउँदा मोबाइलमा कुरा गर्ने, नजिकमा बसेको यात्रुसँग कुरा गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, तीव्र गतिमा सवारी चलाउने आदि कारणले चालकको ध्यान साधनमा नभई अन्यत्र हुने हुँदा सडक दुर्घटना बढ्ने गरेको रेग्मीले बताए ।

चालकको सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा सवारी चालक अनुमतिपत्रका लागि दरखास्त दिनेहरू मध्ये परीक्षणमा सफल हुने व्यक्तिलाई मात्र चालक अनुमति पत्र दिने, मझौला तथा साना सवारी चलाउन १८ वर्ष तथा ठूला सवारी चलाउन २१ वर्ष उमेर पूरा भएको हुनु पर्ने, सानो सवारी चलाएको २ वर्ष नभएसम्म ट्याक्टर बाहेकका ठूलो तथा मझौला सवारी साधन चलाउन अनुमति नदिइने, ६० वर्ष उमेर पूरा भएको कुनै पनि व्यक्तिलाई ठूलो तथा मझौला सवारी चलाउन अनुमति नदिने लगायतका व्यवस्था गरेको छ । सवारी अनुमतिपत्र सम्बन्धी उल्लिखित व्यवस्थाको विगतमा प्रभावकारी कार्यान्वयन हुन नसक्नु पनिलाई सडक दुर्घटनाको कारण रुपमा लिन सकिन्छ ।

नवलपुरमा सडकको अवस्था पनि सडक दुर्घटनाको अर्को कारण रहेको छ । बिस्तार गर्न लागिएको पूर्व पश्चिम राजमार्गको गैडाकोटदेखि दुम्किबास खण्डको सडकमा रहेका खाल्डाखुल्डीका कारण मोटरसाइकल, स्कुटर जस्ता साना सवारी साधन दुर्घटनामा पर्ने गरेका छ्न् । ग्रामीण तथा पहाडी भेगका सडकको जीर्ण अवस्था तथा सर्वसाधरणमा ट्राफिक नियमको ज्ञानको कमिले पनि सडक दुर्घटनाहरु बढेको हो ।

दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक कार्यालयले समुदाय तथा विद्यालयमा स्तरमा पुगेर सडक सुरक्षाको अभियान चलाएको भए पनि नागरिकका लागि सडक सुरक्षा शिक्षा अभियानलाई बृहत रुपमा लैजानु पर्ने आवश्यकता आफूहरुले महसुस गरेको जिल्ला प्रहरी प्रमुख रेग्मीले बताए । 

“दुर्घटना न्यूनीकरणका लागि नागरिक पनि सचेत हुनुपर्छ, हामी योजना बनाएर बृहत रुपमा अभियानलाई अझ व्यापक रुपमा सन्चालन गर्छौ, यसमा चालक। यातायात व्यवसायी, स्थानीय सर्वसाधरण सबैको हातोमालो हुन जरुरी छ, दुर्घटना न्यूनीकरण गर्न सकिन्छ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ