arrow

स्वर्गद्वारी महाप्रभु र पवित्र धाम अस्कुना

logo
तुलसी पन्थी,
प्रकाशित २०८० मंसिर २३ शनिबार
tulasi-panthi-2080-08-23.jpg

लुम्बिनी प्रदेशको प्युठान जिल्लामा अवस्थित स्वर्गद्वारी आश्रम पवित्र तपोभूमि र यज्ञभूमिको रूपमा प्रख्यात छ । महाभारत र अठार पुराणका रचयिता वेदव्यास जस्ता त्रिकालदर्शी महर्षीले यस ठाउँमा ठूला-ठूला यज्ञ गर्नु भएको थियो । देवताहरूले पनि यस पवित्र भूमिमा यज्ञ गरेका थिए भन्ने भनाइ छ । भनिन्छ द्वापर युगमा पञ्च पाण्डवहरू यहाँ आई तपस्या गरेर स्वर्ग गएका हुनाले यस पवित्र भूमिको नाम स्वर्गद्वारी रहन गएको हो । स्वर्गद्वारी आश्रम समुद्र सतहदेखि ८००० फिटको उचाईमा रहेको र २६ हजार रोपनी क्षेत्रफलमा पैलिएको छ ।
               
विसं १९१६ साउन शुक्ल पुत्रदा एकादशीका दिन रोल्पा जिल्ला रुम्टी गाउँमा पिता अनिरुद्ध गौतम र माता श्वेता कुमारीको पुत्रको रूपमा जन्मिएका नारायण गौतम यस आश्रमको संस्थापक हुनुहुन्छ । नारायण गौतम पाँच वर्षको उमेरदेखि तपस्यामा लिन भई बाल तपस्वी हुनुभयो । गुरु सच्चिदानन्द गिरीबाट संन्यासको दीक्षा प्राप्त गरेपछि उहाँको नाम हंसानन्द गिरी भएको हो । उहाँ १०८ महाप्रभुबाट प्रख्यात हुनुभयो ।

 महाप्रभु हंसानन्द गिरीले विसं १९५२ बैशाख पूर्णिमाका दिन स्वर्गद्वारीमा वेद मन्त्रद्वारा अग्नि प्रज्ज्वलित गराई अखण्ड महायज्ञ शुरु गर्नु भएको थियो । हवनकुण्डमा वेद मन्त्रद्वारा प्रज्ज्वलित अग्नि हालसम्म निरन्तर जलिरहेको छ । यहाँको यज्ञशालामा रहेको हवन कुण्ड, प्रसिद्ध गौशाला, गुप्तीसागर गुफा आदिको दर्शन पूजन गर्न नेपाल र छिमेकी देश भारतबाट ठूलो संख्यामा भक्तजनहरू स्वर्गद्वारीको भ्रमण गर्ने गर्दछन् । 

स्वर्गद्वारीको उच्च टाकुरामा रहेको गुफालाई गुप्तीसागर गुफा भन्दछन् । यही गुफाबाट महाप्रभु दुई हजार ३०० मिटर तल रहेको माण्डवी नदीमा गई स्नान गरी सोही बाटो आश्रममा फर्कने गर्नुहुन्थ्यो भन्ने भनाइ छ । आजकल यस गुफाको द्वारलाई स्वर्गको द्वार भन्ने गरिएको छ । महाप्रभु हंसानन्द गिरीलाई नारायण अवतार र शिवस्वरूप पनि मान्ने गरिएको छ ।  

उहाँ त्रिकालदर्शी योगी र यज्ञ सञ्चालक मात्र नभई चमत्कारपूर्ण लीला पनि गर्नु हुन्थ्यो भनेर उहाँका शिष्य प्रशिष्यबाट सुनिएको हो ।  लीलाहरु केही यस्ता रहेछन् –

१) पानी घ्यू बन्नुः  यज्ञ संचालनको लागि घ्यूको कमी हुँदा माण्डवी नदीबाट  टिनमा भरेर  ल्याएको पानी आश्रममा खोली हेर्दा घ्यू बनेको ।
२) गुफाको बाटो माण्डवीमा स्नानः  महाप्रभु गुफामा भित्र गई त्यहाँबाट माण्डवी नदीमा गई स्नान गरेर सोही गुफाबाटै फर्किनु हुन्थ्यो । 
३) जन्म कुण्डली फेरिनुः  पुत्र नभई चिन्तित  एक जना ब्राह्मण आफ्नो जन्म कुण्डली लिई आश्रममा महाप्रभुलाई दर्शन गर्दा महाप्रभुले ब्राह्मणको कुण्डली परिवर्तन गरी तिमीलाई दुई पत्र प्राप्ति हुनेछन् भन्नु भएकोमा उहाँको वाणी सत्य सावित भएको । 
४) कपडा भिज्नुः  भक्तहरूको बीचबाट महाप्रभु एकाएक अन्तरध्यान हुनुभई केही समयपछि भिजेका कपडासहित प्रकट हुँदा भक्तहरूको जिज्ञासा मेटाउन उहाँले सागरमा डुब्दै गरेकी गाईको उद्धार गर्दा भिजेको भन्नु भएको ।  
५) रुखको टोड्कामा पैसा प्राप्ति हुनुः   यज्ञ संचालनको लागि रकम अभाव  हुँदा एक जना भक्तलाई बाँझको रुखको टोड्कामा पैसा छ लिएर आउ भन्नुहुँदा साँच्चिकै त्यहाँ आवस्यक पर्ने पैसा प्राप्त भएको थियो  ।  महाप्रभुले साधारण मानिसले गर्नै नसक्ने यस्ता अनेकौँ लिला गर्नुहुन्थ्यो भन्ने भनाइ छ ।

विसं २०५३ सालमा काञ्चीकामकोटी पीठका शंकराचार्य स्वर्गद्वारी आश्रममा आउँदा उहाँले स्वर्गद्वारी अखण्ड यज्ञको विषयमा यस्तो भन्नु भएको थियो 'सत्य, त्रेता र द्वापर युगमा यस्तो अपूर्व यज्ञ चलेको शास्त्रादिद्वारा थाहा पाएको थिएँ तर यो कलिकालमा स्वर्गद्वारीमा यस्तो अपूर्व यज्ञ देख्दा स्वर्गद्वारी साँच्चै स्वर्गपुरी भएको अनुभव भयो ।'
          
विसं १९९७ साल मार्गशीर्ष शुक्ल चौथी तिथिमा महाप्रभुले आफ्नो पाञ्चभौतिक देह त्याग्नु भएको हो । शिष्य प्रशिष्य ज्येष्ठता र योग्यताको क्रमले आश्रम चलाउने निर्देशन प्रभुले आफ्नो पत्र एवं उपदेशमा दिनु भएअनुसार आश्रमको यज्ञलगायत सम्पूर्ण परम्परा निरन्तर चलिरहेको छ ।
          
पवित्र अस्कुना धामः
स्वर्गद्वारी महाप्रभु हंसानन्द गिरी पवित्र अस्कुना धाममा स्नान गर्न जानुहुन्थ्यो । अस्कुना पवित्र धाम गुल्मी जिल्ला साविक भनभने गाउँ विकास समिति वडा नं.५ हाल मदाने गाउँ पालिका वडा नं ७ मा पर्दछ । 

गुल्मी जिल्लाको सबैभन्दा अग्लो लेक मदानेबाट नागबेली हुँदै बग्दै आएकी छिन् पद्मावती नदी । यी नदीलाई बोलीचालीमा पनाहखोला भन्दछन् । भनभने र वाग्लाको सीमानामा भनभनेतर्फ बाछामारे भन्ने जंगल र वाग्लातर्फ कडा पहराको बीचमा पद्मावती नदी साँघुरिएर दुई किनाराको दूरी डेढ दुई मिटरमात्र रहेको छ । त्यहाँ सानो खोँचबाट छहराको रूपमा पानी खस्दा घोद् घोद्को आवाज सुनिने भएकाले स्थानीय मानिसहरू यसलाई घोद् घोते भन्ने गर्दछन् ।

यस ठाउँको वास्तविक नाम अस्कुना हो । अस्कुनामा नदीको रहमा हेर्दा सुनको फाली, पूजाका भाँडाहरूको आकृति र पहरामा विभिन्न देवीदेवताहरूको आकृति देख्न सकिन्छ । यो पवित्र धाम प्राकृतिक रूपमा आश्चर्य लाग्दो छ ।

हाम्रा पितामह टीकाराम पन्थी, पितामही हस्ता देवीलगायत त्यस भेगका भक्तजनहरू स्वर्गद्वारी महाप्रभुको दर्शन गर्न स्वर्गद्वारी आश्रममा जाँदा महाप्रभुले उहाँहरूलाई भन्नु भएको थियो 'अहो तपाईहरू त अस्कुना पवित्र धाम नजिकको बासिन्दा हुनुहुन्छ । त्यस पवित्र धाममा म समय समयमा स्नान गर्न जाने गरेको छु  । त्यस पवित्र धाममा स्नान गर्दा गंगाजीमा स्नान गरेको फल प्राप्त हुन्छ । त्यहाँ स्नान गर्नुभयो भने मेरो दर्शन गर्न  तपाईहरू यहाँ आइरहन पर्दैन ।'

महाप्रभुको यस्तो उद्गारपछि पवित्र धाम अस्कुना तीर्थस्थलको रूपमा प्रचार प्रसार भई माघेसंक्रान्ती, सूर्यग्रहण र अन्य विशेष दिनहरूमा टाढा टाढाबाट समेत भक्तजनहरू अस्कुनामा आई स्नान गरी जप पूजन गर्न थाले । 

भीर पहरा र जंगलको बीचमा रहेको यस्तो पवित्र धाममा पुग्न  बाटो घाटोको असुविधा थियो । तापनि मेरै बाल्यकालमा  भक्तजनहरू माघेसंक्रान्ती र सूर्यग्रहणमा अस्कुना नुहाउन गएको यो स्तम्भकारलाई सम्झना छ ।

पितामहीले महाप्रभुले अस्कुनाको विषयमा भन्नु भएको कुरा स्मरण गर्दै सुनाउनुहुन्थ्यो । कुलपूज्य गुरु प्रज्ञाचक्षु पण्डित केशवराज पौडेलसँग सुर्यटारीको घाटमा पद्मावती नदीमा स्नान गर्ने शौभाग्य प्राप्त भएको थियो । 

त्यस समयमा उहाँले पवित्र धाम अस्कुनाको धार्मिक महत्वको कुरा गर्दै महाप्रभु स्नान गर्न आउने गर्नु भएको तथा अस्कुनाबाट बगेर आएकी पवित्र पद्मावती नदीमा स्नान गर्दा गण्डकी र गंगाजीमा स्नान गरेको फल मिल्छ । त्यसैले यहाँ स्नान गर्नु पर्दछ भन्नु भएको थियो ।
         
अस्कुनासम्म पुग्न बाटोको असहजता, निर्जन स्थान आदि कारणले यो पवित्र धाम विस्तारै ओझेलमा पर्न गई यसको प्रचार प्रसार पनि  नहुँदा भक्तजनहरूको आगमन पनि बन्द जस्तै हुन पुग्यो । स्वर्गद्वारी आश्रमका संचालकहरू पनि यसको धार्मिक महत्वको विषयमा अनभिज्ञ रहेजस्तो देखियो ।  

पछिल्लो समयमा पवित्र धाम अस्कुनाको  धार्मिक महत्वको प्रचार प्रसार र भौतिक निर्माणको कार्यको लागि स्थानीय स्तरमा मुरलीधर शर्मा पन्थीको संयोजकत्वमा समिति गठन भई अग्रसरता लिएको छ । हाल अस्कुनामा पुग्नको लागि बाटोको निर्माण भइसकेको छ । 

स्थानीय पालिका, विभिन्न संघ-संस्था र ब्यक्तिबाट प्राप्त आर्थिक सहयोगबाट अस्कुनामा मन्दिर निर्माण भई शिवजीको प्रतिमा स्थापना गरिएको छ । स्वर्गद्वारी आश्रमको शौजन्यमा प्राप्त महाप्रभु र शिष्य प्रशिष्यको तीन ओटा प्रतिमा स्थापना भएका छन् । माघे शंक्रान्ती र अन्य पर्वहरूमा अस्कुनामा भक्तजनहरूले स्नान गरी देवी देवताहरूको पूजन गर्ने काम भब्यताका साथ हुने गरेको छ ।
           
स्वर्गद्वारी महाप्रभु स्नान गर्ने पवित्र धामलाई स्वर्गद्वारीको अभिन्न स्थलको रूपमा प्रचारप्रसार गरी स्वर्गद्वारी आश्रममा आउने भक्तजनहरुलाई यहाँसम्म आउनको लागि स्वर्गद्वारीमा सूचना व्यक्तिको व्यवस्था गर्नुपर्ने हुन्छ । 

प्यूठानको वाग्दुलादेखि गुल्मी मदाने गाउँपालिकाको पुर्कोट दहसम्म नियमित सार्वजनिक बस सेवा चलिरहेको छ । पूर्कोट दहबाट पैदलै पनि १ घण्टामा अस्कुना पुग्न सकिने भएकोले यसको प्रचार प्रसार हुन जरुरी छ । 

गुल्मीको सदरमुकाम तमघासबाट यहाँसम्म पुग्न यातायततको सुविधा भएकाले पवित्र तपोभूमि रेसुङ्गामा आउने भक्तजनहरूलाई पनि पवित्र धाम अस्कुनाको भ्रमण गराउनको लागि प्रचार प्रसार गर्नु पर्दछ । 

यसको धार्मिक महत्व र अनौठो प्राकृतिक स्वरुपको दृश्यावलोकन गराउनको लागि धार्मिक पर्यटन स्थलको रूपमा विकास गर्न स्थानीय तह मदाने गाउँपालिका र धुर्कोट गाउँपालिकाले अग्रसरता लिनुपर्ने देखिन्छ । 'वन्दे महापुरुष ते चरणारविन्दम्'
    


 



नयाँ