- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वृहत नेपाली शब्दकोषमा दुर्घटनाको अर्थ कुनै व्यक्ति वा वस्तुको हानि वा क्षति हुने आकस्मिक घटना, अफर्झट आइपरेको कष्टपूर्ण वा अशुभ घटना भन्ने उल्लेख छ । यसै अर्थलाई आधार मानेर सडकमा आइपर्ने कष्टपूर्ण र जन तथा धनको हानि भएका घटनालाई सडक सवारी दुर्घटना भन्ने गरिन्छ ।
तर सडक सुरक्षासम्बन्धी विषयले सडकमा हुने यस्ता कष्टपूर्ण तथा हानि, जन तथा धनको हानि भएका घटनालाई सडक सवारी दुर्घटना भन्न नमिल्ने तर्क गर्दछ ।
सामान्यतया मोटर जडित सवारी साधनको प्रयोग पश्चिमी मुलुकहरुबाट विकास भएकाले हामीले भन्ने गरिएको दुर्घटना पनि अंग्रेजी शब्द एक्सिडेन्टबाट नै लिइएको पाइन्छ ।
तर सन् १९९० को दशकपछि सडक सवारी दुर्घटनालाई अंग्रेजीमा एक्सिडेन्ट भन्न नमिल्ने बताउँन थालिएको छ । अंग्रेजीमा एक्सिडेन्टको अर्थ हानि पुग्ने दुर्भाग्यपूर्ण घटना भन्ने हुन्छ । यो प्राकृतिक वा कृत्रिम दुवै किसिमले घट्न सक्दछ ।
बाटोमा सवारी साधनलाई पहिरो, आँधीबेहरी, हिउँपहिरो, भूकम्प जस्ता विपत्ति दुर्घटनामा पारे त्यो दुर्घटना भयो तर सडकको डिजाइनमा भएको कमजोरीका कारण वा चालक वा सवारी प्रयोगकर्ता वा सडक प्रयोगकर्ताले गरेको लापरबाहीका कारण अरुमाथि ज्यानै जाने गरी वा घाइते हुने गरी वा सवारी साधन तथा अन्य धनसम्पत्ति नोक्सान हुने गरी सवारी साधनले दिएको ठक्कर वा दुई वा सोभन्दा बढी सवारी साधनहरु ठक्कर खाएको अवस्थालाई भने दुर्घटना भन्न नमिल्ने सडक सुरक्षाविज्ञहरुको तर्क छ ।
आफू रक्सी खाएर गाडि चलाउने, बाटो काट्दै गरेका बालबालिका तथा अशक्तलाई ठक्कर दिने अनि यस्तै हो, दुर्घटना भयो, नामै त दुर्घटना कहाँ जानाजान हुन्छ र भनेर उपदेश दिने प्रचलन छ । त्यस्तै सडक मेरै त हो भनेर जथाभावी बाटो काट्ने, घरी सडकको एक छेउँतिर त घरी अर्को छेउतिर गर्दै हिँड्ने, जेब्राक्रसिङको प्रयोग नगर्ने, बाटोमा मोबाइल खेलाउँदै हिँड्ने जस्ता यात्रुका व्यवहारले पनि सवारी साधनले ठक्कर दिन्छ । यसलाई पनि एक्सिडेन्ट भन्न मिलेन ।
सवारी दुर्घटनाको शब्दको प्रयोगमा आमसञ्चारका माध्यममा पनि यस किसिमको चेतना देखिँदैन । अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले सन् २०१७ मा असोसिएटेड प्रेस समाचार एजेन्सीलाई रोड ट्राफिक एक्सिडेन्टको सट्टा रोड ट्राफिक क्र्यास अथवा रोड ट्राफिक कोलिजन शब्दावली प्रयोग गर्न पत्राचार गरेपछि एपीले एक्सिडेन्ट शब्द प्रयोग गर्न छाड्यो ।
बोर्डले एक्सिडेन्ट शब्दले यो घटना रोक्न वा घटाउँन नसकिने अर्थ दिने तर्क गर्दै सडक दुर्घटना मानवीय वा यान्त्रिक कमजोरी वा असफलताका कारण हुने हुनाले यसलाई शून्यमा झार्नसमेत सकिने धारणा राखेपछि एपीले यसलाई मनन गरी एक्सिडेन्ट लेख्न छाडेको हो ।
हाम्रोमा यसको प्रभाव अझै देखिएको छैन । सडक सवारी जोखिमलाई राष्ट्रिय मुद्दाका रुपमा न कुनै राजनीतिक दलले उठाएका छन् न त प्रेसले नै । वर्षमा करिब साढे दुई खर्ब रुपैयाँ खर्च हुने र लगभग ६० हजार मानिस प्रभावित हुने यस मुद्दालाई जसरी सरकारले बेवास्ता गर्दछ, आमसञ्चारमा पनि यसलाई बेवास्ता नै गरिन्छ ।
सञ्चारमाध्यमले समाचार बनाइहाले पनि यति जनाको ज्यान गयो भन्ने सानो समाचारमात्र हालिन्छ । यसपछि मानिसले भोग्ने शारीरिक पीडा, स्वास्थ्य समस्या, मानसिक पीडा, आर्थिक तथा सामाजिक समस्या आदिबारे खासै विचार गरिँदैन ।
आमसञ्चार नै सार्वजनिक जानकारीको सबैभन्दा प्रभावकारी माध्यम हो । सर्वसाधारणले यसै माध्यमलाई आधार मानेर आफ्नो धारणा निर्माण गर्दछन् ।
सडक सुरक्षाका क्षेत्रमा सर्वसाधारणको प्रस्ट धारणा विकासका लागि आमसञ्चारले यस विषयलाई यथोचित् स्थान दिनुपर्दछ । यसका लागि सबैभन्दा पहिले सञ्चारकर्मीको क्षमता अभिवृद्धि गरिनुपर्दछ । त्यस्तै लेखकहरु, पेशागत विज्ञहरु, आमसर्वसाधारणले पत्याएका वा विश्वास गरेका व्यक्तित्वहरुको क्षमता अभिवृद्धि गरिनु पर्दछ । यसो गरिए उनीहरुले आ–आफ्ना क्षेत्रबाट सडक सुरक्षाका बारेमा तथ्यपरक धारणा व्यक्त गर्दछन् ।
सडक प्रयोगसम्बन्धी आफ्नै व्यवहारमा पनि सुधार गर्दछन् । यसबाट आम जनतामा सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि हुन्छ । यसो हुँदा सर्वसाधारणले सडक सुरक्षा एउटा गम्भीर स्वास्थ्य समस्या हो । यसमा सुधार गर्न सकिन्छ भन्ने तथ्य बुझ्दछन् । सर्वसाधारणले यतिमात्र बुझे उनीहरु स्वयं सडक सुरक्षाका निम्ति खटिन्छन् ।
नियम उल्लघंन गर्नेलाई कानूनको दायरामा ल्याउन जनताले नै राज्यलाई सहयोग गर्दछन् । बस्ती विकासमा उनीहरु चासो लिन्छन् । सडकको डिजाइनमा भएका कमजोरीहरु औँल्याउँछन् । पैदल यात्री, फरक क्षमता भएका मानिसहरु, सडक प्रयोगका हिसाबले जोखिमयुक्त मानिने सडक प्रयोगकर्ताहरुका लागि सडकमा उपलब्ध हुनुपर्ने सुविधाको माग बढ्दछ ।
सर्वसाधारणले सम्भाब्य सुधारका लागि सुझाव दिन्छन् र सरकारमाथि सडक सुरक्षा अभिवृद्धिका लागि दबाब दिन्छन् । यो क्रम बढ्दै जाँदा आममानिसमा सडक सुरक्षा सम्बन्धी धारणामा परिवर्तन हुन्छ र हामी सडक यात्रालाई सुरक्षित बनाउन सक्छौँ ।