arrow

इमरानको ‘भ्वाइस क्लोन’ चुनावी अभियानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
imran-khan-pak.jpeg

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको दलले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ को प्रयोग गरी उनको आवाजको प्रतिरूप (भ्वाइस क्लोन) लाई चुनावी प्रचारमा ल्याएको छ । 

खानलाई अगस्टदेखि नै थुनामा राखिएको छ र उनीमाथि गोपनीय दस्तावेजहरू चुहावट गरेको आरोपमा मुद्दा चलाइएको छ । 

आरोपको खण्डन गर्दै पूर्वप्रधानमन्त्री खानले आफूविरूद्धको मुद्दा केबल फेब्रुअरीमा हुने आम चुनावमा आफूलाई प्रतिस्पर्धाबाट रोक्नको लागि गरिएको षड्यन्त्र भएको बताउँदै आएका छन् ।

तर उनको पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) पार्टीले ७१ वर्षीय खानबाट प्राप्त चार मिनेटको सन्देशलाई एआईको प्रयोग गरेर आइतबार रातिदेखि सोमबारसम्म सामाजिक सञ्जालमार्फत् ‘भ्वाइस क्लोन’ सार्वजनिक गरेको छ । 

निर्वाचनका लागि तयार पारिएको प्रतिरूप आवाजलाई निर्वाचन अभियानका लागि ‘भर्चुअल र्‍याली’ भनिएको छ ।

पीटीआईका अनुसार खानका वकिलमार्फत् पार्टीले प्राप्त गरेको उक्त लिखित सन्देश खानद्वारा तयार पारिएको सशक्त भाषामा आधारित रहेको छ ।

एलेभेनल्याब्स नामक एआई फर्मको एक उपकरण प्रयोग गरेर पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको प्रतिरुप आवाज श्रव्य सामग्रीका रूपमा तयार गरिएको थियो । 

एलेभेनल्याब्सले विद्यमान भाषण नमूनाहरूबाट ‘भ्वाइस क्लोन’ सिर्जना गर्ने क्षमताका लागि उत्कृष्टताको दावी गर्दै आएको छ । 

खानको नक्कली आवाजमा तयार पारिएको सन्देशमा भनिएको छ, “मेरा पाकिस्तानी साथीहरू, म पहिले यो ऐतिहासिक प्रयासका लागि सामाजिक सञ्जाल समूहको प्रशंसा गर्न चाहन्छु ।सायद तपाईंहरू सबैले म जेलमा के गर्दैछु भनेर सोचिरहनुभएको होला ? साँचो स्वतन्त्रताको लागि मेरो अठोट आज पनि एकदमै सशक्त छ ।”

फेसबुक, एक्स र युट्युबमा पीटीआई समर्थकहरूलाई दिएको भाषणको पाँच घण्टाको लाइभ स्ट्रिमको अन्त्यमा उक्त अडियो प्रसारण राखिएको छ र यसमा खानको ऐतिहासिक भिडियो तथा तस्बीरहरू राखिएको छ । 

पीटीआईका अनुसार यो पूर्वक्रिकेट स्टारको पहिलेका भाषणको वास्तविक भिडियो क्लिपको साथ बजारमा सम्प्रेषित प्रतिरूप आवाज ‘इमरान खानको लिखित सन्देशलाई रेकर्ड गरी तयार पारिएको हो ।

अमेरिकास्थित पीटीआईका सामाजिक सञ्जाल प्रमुख जिब्रान इलियासले भने, “यो वास्तवमा राजनीतिक र्‍यालीमा इमरान खानको प्रत्यक्ष अनुपस्थितिमा यो दमनबाट माथि उठ्नका लागि तयार पारिएको सामग्री हो । यो हाम्रा लागि कुनै जादुयी कुरा भने होइन । 

पीटीआई सामाजिक सञ्जालको क्षमतालाई व्यापक रूपमा प्रयोग गर्ने पाकिस्तानको पहिलो राजनीतिक पार्टी हो । यसले पाँच वर्षअघि युवा दर्शकहरूलाई लक्षित गरी एप्सको दुर्लभ प्रयोग गर्दै सत्तामा पुग्न सफल भएको थियो ।

इलियासले एएफपीसँग भने, “हामी चुनावी मोडमा जान चाहन्थ्यौं । इमरान खान बिना पीटीआईको कुनै पनि राजनीतिक र्‍याली पूरा हुन सक्दैन ।” 

मे महिनामा खानलाई पक्राउ गरेपछि राज्यको सेन्सरले यस वर्षको सुरुमा एयरवेभमा प्रतिबन्ध लगाएको थियो ।

‘ग्लोबल नेटवर्क मोनिटर नेटब्लक’का अनुसार खानलाई लक्षित गरी ‘इन्टरनेट सेन्सरसिपका विगतका घटनासँग मिल्दोजुल्दो’ एक घटनामा आइतबार अबेरदेखि सामाजिक सञ्जाललाई सात घण्टाका लागि प्रतिबन्धित गरिएको छ ।

यद्यपि, भर्चुअल र्‍यालीलाई फेसबुक, एक्स र युट्युबमा ४५ लाखभन्दा बढीले हेरिसकेका छन् ।

सन्देशबारे पूर्वी सहर लाहोरका ३८ वर्षीय व्यवसायी सैयद मोहम्मद अशरले भने, “यो त्यति पत्यारिलो त छैन । व्याकरण पनि अनौठो छ । तर म तिनी (पीटीआई नेता) हरूलाई प्रयास गरेबापत अङ्क दिनेछु ।” उनले भने, “साँच्चै भन्ने हो भने, कुनै पनि कुराले वास्तविक र्‍याली र वास्तविक भाषणलाई प्रतिस्थापन गर्न सक्दैन।” 

तर सञ्चारकर्मी हुसेन जावेद अफ्रोजले डिजिटल माध्यमबाट वितरण गरिएको भाषणको प्रशंसा गरे । “पीटीआईले जस्तो प्रविधि अरु कुनै पनि पार्टीले प्रयोग गर्दैन”, ४२ वर्षीय उनले भने, “यी नयाँ उपकरण हुन्, त्यसैले तिनीहरूलाई प्रयोग गर्नु सकारात्मक कुरा हो भन्ने मेरो धारणा छ ।”

खराब अभिनेताहरूले एआईको प्रयोग गरेर नेताहरूको नक्कल गर्न र गलत सूचनाको बीजारोपण गर्न सक्दछन्, तर प्रविधिलाई कसरी राज्य दमनलाई रोक्न प्रयोग गर्न सकिन्छ भन्ने बारेमा धेरै कम भनिएको विश्लेषकहरूले बताएका छन् । 

सन् २०१८ मा पाकिस्तानका सैन्य नेताहरूसँग मनमुटाव भएपछि गत वर्ष खानलाई सत्ताच्युत गरिएको विश्लेषकहरूले बताएका छन् ।

मे महिनामा उनको गिरफ्तारीलाई लिएर समर्थकहरूले दङ्गा मच्चाएपछि पीटीआईलाई पाकिस्तानमा आधाभन्दा बढी समय प्रत्यक्षरूपमा शासन गरेको सैन्य संस्थापनको ठूलो कारबाहीको निशाना बनाइएको छ ।

पाकिस्तानको निर्वाचन आयोगले आगामी फेब्रुअरी ८ मा निर्वाचन हुने शुक्रबार पुष्टि गरेको छ ।

जेलमा रहेका खानलाई औपचारिकरूपमा पीटीआई नेताका रूपमा प्रतिस्थापित गरिएको थियो तर उनलाई अझै पनि पार्टीको प्रमुख नेताका रूपमा मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ