arrow

भरत ताल बन्दै मधेसको प्रमुख पर्यटकीय स्थल 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० पुष ४ बुधबार
bharat-tal-machhatal.jpg

रौतहट । बागमती नदीको संगमस्थल, रौतहटको सीमा रहेको छिमेकी जिल्ला सर्लाहीमा रहेको भरत ताल मधेस प्रदेशकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा स्थापित भएको छ । नगरपालिकाका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको परिकल्पनामा बनेको यो ताल खासमा माछातालको रूपमा निर्माण भइरहेको थियो । 

तर घुम्न आउने पर्यटकले माछाताल भनेनन् । मेयर भरतले बनाएकाले ‘भरत ताल’ नामकरण गरिदिए । त्यसपछि नेपालदेखि भारतसम्मका पर्यटक पछिल्लो समय यहाँ आउने गरेका छन् । 

१२१ बिघामा फैलिएको यस तालले मधेस प्रदेशमा मात्र नभई भारतसम्म पनि पर्यटकीय स्थलको छाप छोड्न सफल भएको छ । तालले बागमती नगरपालिकाको ४ र १२ नम्बर वडाका केही भूभाग ओगटेको छ भने तालमा स्काइ साइक्लिङ, मोटरबोट, रेलसहित पर्यटक घुम्ने र रमाइलो गर्ने अन्य सुबिधासमेत रहेको छ । 

पछिल्लो समय नगरले तालपरिसरलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न योजना पनि ल्याएको छ । पूर्व–पश्चिम राजमार्गबाट तीन किलोमिटरको दूरीमा रहेको यो ताल चुरे पहाडको काखमै छ । तालपरिसरमा रहेका अनेक मनोरञ्जनका साधनले यहाँ आउने पर्यटकलाई थप रोमाञ्चित बनाउने गरेको छ । 

तालमा तीव्र गतिमा कुद्ने मोटरबोटदेखि मिनी क्रुजसम्मले तालभन्दा पनि समुद्रमा घुमेको आभास दिलाउने गरेको यहाँ घुम्न आउने पर्यटकको भनाइ छ । 

तालको एक छेउँमा एडभेन्चर स्काइ साइक्लिङ, घोडचढी, उँटचढी, बालबालिकाका लागि खेल्ने सामग्रीसहितको पार्क त छँदैछ , तालकै छेउँमा तयार हुँदै गरेको एक सय बिघा क्षेत्रफलको नगर बगैँचा पर्यटकका लागि अर्को आकर्षणको केन्द्र बन्ने मेयर थापाको भनाइ छ ।  

विभिन्न चाडपर्व तथा नेपाली र अंग्रेजी नयाँ वर्षमासमेत आन्तरिक तथा बाह्य पर्यटकको घुइँचोले तालपरिसर भरिभराउ हुने गरेको छ । संघ र प्रदेश सरकारको सहयोग तथा समन्वयमा बागमती नगरपालिकाले बागमती नदीकिनारमा कृत्रिम ताल निर्माण गरेको हो । ताल निर्माण कार्य अहिले पनि जारी छ । भौतिक संरचना सँगसँगै ताललाई अझै सुन्दर बनाउने कार्य जारी रहेको बागमती इन्टरटेनमेन्ट प्रालीका प्रोप्राइटर गौतम खड्काले बताए । 

माछा पोखरी बनिनसक्दै उक्त संरचना पर्यटकीय आकर्षणको केन्द्र बन्यो । तालको अहिले देशभर मात्र होइन भारतमा पनि चर्चा छ । ताल अवलोकन गर्न आउनेको भीड थेगिनसक्नु छ  । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा बागमती माछा ताल होइन, भरत तालको नामले चिनिन्छ ।

नगरपालिकाका मेयर भरतकुमार थापाको परिकल्पनामा यो माछा तालको रूपमा निर्माण भइरहेको थियो । तर घुम्न आउने पर्यटकले माछा ताल भनेनन्, मेयर भरतले बनाएकाले ‘भरत ताल’ नामकरणनै गरिदिए ।  निर्माणस्थलमा अझै बागमती माछा पोखरी परियोजना नामसहितको परियोजना बोर्ड देख्न सकिन्छ । तर ताल वरपर सञ्चालन भइरहेका होटेलहरूमा भरत ताल देख्न सकिन्छ । यति मात्रै होइन सवारीसाधनमा समेत भरत ताल नै लेखिएको छ । 

निर्माणाधीन तालमा बागमती नदीकै पानी ल्याएर हालिएको छ । तालमा शुरुदेखि नै मोटरबोट सञ्चालन गरियो । सञ्चालक खड्काका अनुसार पछिल्ला दिनमा तालको अवलोकन गर्न आउनेको संख्या ह्वात्तै बढेको छ । ‘टिकटक र अन्य सामाजिक सञ्जालमा यो ताल भाइरल भएपछि विभिन्न अवसर पारेर तालमा पारिवारिक जमघट गर्न आउने बढेका छन्,’ खड्काले भने, ‘सार्वजनिक बिदाको दिन त मोटरबोटमा मानिस चढाएर घुमाउनै भ्याइँदैन ।’

निर्माणाधीन तालपरिसरमा होटेललगायत अन्य व्यापार व्यवसाय निकै फस्टाउँदा आन्तरिक रोजगारी सिर्जना भएको स्थानीयको भनाइ छ । व्यवस्थित ढंगले ताल निर्माण गरे भविष्यमा मुलुककै एक प्रमुख पर्यटकीय गन्तव्य बन्नेमा मेयर थापा ढुक्क छन् । 

मधेस प्रदेश सरकारको ८० प्रतिशत, स्थानीय सरकारको १५ प्रतिशत र संघीय सरकारको पाँच प्रतिशत लागतमा ताल निर्माण भइरहेको छ । निर्माणाधीन अवस्थामै तालबाट आर्थिक उपार्जन भइरहेको छ । तालमा सञ्चालन हुने मोटरबोट तथा व्यापार व्यवसाय गर्ने व्यापारीहरूले नगरपालिकालाई कर तिरिरहेका छन ।
तालको उत्तरपट्टिको भागमा सुमेरु पर्वतको आकृतिमा शिव–पार्वतीको विशाल मूर्ति स्थापना गर्ने योजना पालिकाको छ । तालको बीचभागमा होटेल निर्माण हुनेछ । तालआसपासमा ३० वटा वनभोज स्थल, ५० चौतारा र प्रतीक्षालय निर्माण गरिनेछ । 
यस्तै तालको दक्षिणतर्फको भागमा चलचित्र छायांकनको क्षेत्र बनाउने योजना पालिकाकाले बनाएको मेयर थापाले बताए  । 

मेयर थापाले नगरपालिकालाई पर्यटकीय हिसाबले विकास गर्दै स्थानीयस्तरमा आयस्रोतको खोजी गरिएको बताए । ताल निर्माणले यस क्षेत्रको सिँचाइ र वातावरण संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको मेयर थापाको भनाइ छ ।

हालसालै तालमा समुद्री ‘एडभेन्चर’ को रुपमा प्रयोग हुने ‘वाटर स्कुटर’ संचालनमा ल्याइएको छ । ताल भ्रमणमा आउने प्रर्यटकका लागि आकर्षित गर्ने उदेश्यसहित उक्त मनोरञ्जनात्मक जलयान ‘वाटर स्कुटर’ प्रयोगमा ल्याइएको हो ।

यसको प्रयोगले पर्यटक आकर्षित हुनुका साथै स्थानीयस्तरमा समुद्री जलसयरको मज्जा लिन सकिने सञ्चालक कम्पनी बागमती इन्टरटेनमेन्ट प्रालीका प्रोप्राइटर गौतम खड्काले बताए । 

चालकसहित तीन जनासम्म बसेर जलसयर गर्न सकिने ‘वाटर स्कुटर’ ५५ लाखको लागतमा सञ्चालनमा ल्याइएको र सम्भवतः नेपालमा पहिलो भएको संचालक खडकाको दाबी छ ।  

यस साहसिक जल सयरको ५ सयदेखि १५ सयसम्म टिकट तय गरिएको कम्पनीले जानकारी दिएको छ । विशेष गरेर ताल परिसर विभिन्न चाड पर्व, उत्सव तथा सार्वजनिक बिदाको दिन पर्यटकको भीड रहने गर्दछ । एक सय २१ बिघा क्षेत्रफलमा फैलिएको यस तालको माध्यमबाट नगरमा रोजगारी सिर्जना, नगरको प्रचारप्रसार, आर्थिक, सांस्कृतिक, सामाजिक र भौतिक विकास गर्ने लक्ष्य पालिकाले लिएको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ