arrow

पञ्चकोट बन्यो पर्यटक आकर्षणको केन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
panchakot baglung gandakivoice.jpeg
तस्बिर-फाइल

ढोरपाटन। बागलुङ बजारको शिरमा सर्वसिद्धीधाम पञ्चकोट छ। समुद्री सतहबाट एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोट एक दशक अगाडि भिरालो पहाड थियो।

यहाँ पर्यटक भित्र्याउन धार्मिक संरचना निर्माण गर्ने योजना बनाउँदा कसैले पनि विश्वास गरेका थिएनन्। अहिले यो क्षेत्र गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ।

आँखैअगाडि देखिने हिमशृङ्खला, अग्ला पहाड र यहाँबाट देखिने अनगिन्ती मनमोहक दृश्यले आगन्तुकलाई आकर्षण गरिरहेको छ। मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलानयनाचार्यको परिकल्पनामा बनेको पञ्चकोटमा अहिले थुप्रै धार्मिक संरचना बनेका छन्। जसले बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरेको छ।

विसं २०७२ मा तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शिलान्यास गर्दा भिरैभिर रहेको पञ्चकोटमा अहिले सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत जर्दनौँ धार्मिक संरचना बनिसकेका छन्।

विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लागनीले अहिले पञ्चकोट देशभर चर्चित छ।

बागलुङ नगरपालिका-६ मा पर्ने पञ्चकोट बागलुङ बजारदेखि छ किलोमिटर उत्तरमा पर्छ। बजारबाट नजिक र सहजरूपमा पुग्न सकिने हुँदा दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन्। बागलुङ बजारबाट २० मिनेट गाडीको यात्रामा पञ्चकोट पुग्न सकिन्छ। नजिकै बागलुङ कालिका र शालिग्राम सङ्ग्रहालय रहेको हुँदा यहाँ आउने पर्यटक पनि पञ्चकोटमा उक्लने गरेका छन्।

पछिल्लो समय मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरलगायत ठाउँमा पुग्ने धार्मिक पर्यटक यहाँ आउन थालेपछि चहलपहल बढेको पाइन्छ। हालसम्म पञ्चकोटमा रु ५० करोड लगानी भइसकेको छ।

पर्यटकलाई आकर्षण गर्न र धार्मिक संस्कृति संरक्षणका लागि थुप्रै संरचना बन्ने चरणमा छन्। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले पञ्चकोटमा घुइँचो बढ्न थालेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिए।

दैनिक तीन सयदेखि चार सयसम्म पर्यटक आउने गरेकामा बिदा तथा विभिन्न चाडपर्वका बेला करिब एक हजार दुई सय बढी पर्यटक पुग्ने उहाँको भनाइ थियो।

“पञ्चकोटमा अहिले धेरै संरचना बन्ने चरणमा छन्, पहिले यहाँ आउने पर्यटक निकै कम भएकामा पछिल्लो समय प्रचार-प्रसार बढी भयो र देश-विदेशका पर्यटक आउने गरेका छन्, पर्यटक आउने दिन खाली हुँदैन, जहिले पनि आइराख्छन्”, अध्यक्ष दाहालले भने, “बजार नजिकै भयो, सडक पनि राम्रै छ, त्यही भएर पनि पर्यटक आउन सहज भएको हो, बिदाका दिन सबैभन्दा बढी पर्यटकको आगमन हुन्छ, पर्यटन प्रवर्द्धन र कलश निर्माणका लागि आगामी फागुनमा नेपालकै सबैभन्दा ठूलो र पहिलो महायज्ञ गर्न थालेका छौँ, त्यसका लागि तयारी भइरहेको छ।”

होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निलेश राजभण्डारीले पर्यटक आगमन बढेसँगै होटल व्यवसाय फस्टाउन थालेको बताए। पञ्चकोट र मुस्ताङको मुक्तिनाथ जाने धार्मिक पर्यटकका लागि बागलुङ ‘ट्रान्जिट प्वाइन्ट’ भएको हुँदा पर्यटक बढ्दै गएको उहाँको भनाइ थियो।

जिल्लाका पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित गर्न र पर्यटकलाई एक रात बागलुङमै बस्ने वातावरण बनाउन जरुरी रहेको अध्यक्ष राजभण्डारीले बताए। यस वर्ष पर्यटकको चाप बढेको अध्यक्ष राजभण्डारीको भनाइ थियो।

अध्यक्ष राजभण्डारीले भने, “बागलुङमा धेरै पर्यटकीय क्षेत्र छन्, पर्यटक पनि आउँछन्, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय र बागलुङ कालिका नजिक भएकाले एकैपटक तीन धार्मिकस्थलको दर्शन गर्न सकिन्छ, पर्यटक आए पनि बागलुङमा कम बास बस्ने गरेका छन्, अहिले मुक्तिनाथ जाने तीर्थालु बढी बागलुङमा बास बस्ने गरेका छन्, अब बागलुङमा आएकालाई पनि कसरी हुन्छ बास बस्ने वातावरण बनाउनुपर्छ।”

देवघाटबाट घुम्न आउनुभएका दिपेश आचार्यले पञ्चकोट निकै मनमोहक रहेको बताए। प्राकृतिक सौन्दर्यले भरिएको ठाउँमा आकर्षक र कलात्मकरूपमा बनेका संरचनाले आफूलाई आकर्षित गरेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा फोटो तथा भिडियो देखेर आफू परिवारसहित पञ्चकोट दर्शनका लागि आएको जानकारी दिए।

पञ्चकोटमा आएका बेला एकैपटक तीनवटा धार्मिक क्षेत्रको दर्शन गर्न पाइएको उनको भनाइ थियो। एकै ठाउँमा आधा घण्टाको दूरीमा यति धेरै धार्मिकस्थल कमै ठाउँमा रहेको आचार्यले बताए।

“बागलुङ कालिकामा धेरैपटक आएको थिएँ, शालिग्राम संग्रहालय र पञ्चकोट आउन पाएको थिइनँ, धेरैले पञ्चकोट पुग्नुपर्छ भन्ने गर्थे, मलाई यति रमाइलो ठाउँ होला भन्ने लागेको थिएन, आएपछि यहाँको वातावरण र बनेका मन्दिर, सिसमहलले लोभ्यायो”, उनले भने, “एकपटकले मेरो धोको पुगेन, फेरी गर्मी याम सुरु भयो भने परिवारसहित नै आउने भनेका छौँ, हिमाल पनि नजिकैबाट देख्न पाइँदोरहेछ, गाउँघर पनि रमाइला देखिँदा रहेछन्।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ