arrow

आकाशे पुलको आवश्यकता र सरकारी लापरबाही

logo
डा. बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८० पुष १४ शनिबार
badri-ojha-2080-09-14.jpg

यो लेखमा राखिएका दुई तस्बिर हेरौँ त । भारतको महाराष्ट्रस्थित पुणे बहरमा खिचिएका यी तस्बिरले हाम्रो देशको पनि प्रतिनिधित्व गर्दछन् । पहिलो तस्बिरमा एउटी ज्येष्ठ महिला ज्यान जोगाउने नाममा आकाशे पुलको उकालो मरेर चढ्दैछिन् । यो उकालो पार गरेर फेरि अर्को छेउँको ओरालो झर्न अर्को मेहनत आवश्यक पर्ने भयो । यति गर्दा पनि उनको गन्तव्य त नभेटिएला । 

सोही शहरको अर्को तस्बिर हेरौँ । यस तस्बिरमा माथि आकाशे पुल हाँसिरहेको छ । त्यसैको मुनिबाट मानिस ज्यानै जोखिममा पारेर सडक पार गर्दैछन् । गल्ती कसको ? पुलको बेवास्ता गर्दै बाटो काट्ने पैदल यात्रीको कि, ती बूढी आमा पनि पैदल यात्री हुन् भनेर यकिन गर्न नसक्ने प्राविधिक पक्षको ? 

सडक सुरक्षाका दृष्टिले आकाशे पुलको महत्वबारे विभिन्न दृष्टिकोण राखिएका छन् । कोही यसको पक्षमा छन् भने कोही विपक्षमा । पक्षधरहरू पैदलयात्रीकै सुविधाका लागि सरकारले यस्ता पुल बनाएको तर्क गर्छन् । ज्यान जोगाउन अलिकति मेहनत गरेर पुलको प्रयोग गरे भैगो नि भन्ने तर्क गर्छन् । 

हाम्रोतिरका प्राविधिकहरूलाई एउटा मात्र खुट्टाको सहयोगमा यात्रा गर्ने,  सिँढी चढ्न नसक्नेहरू पनि पैदल यात्री हुन्छन् भन्ने जानकारी नै नभएको सडक सुरक्षाका अभियन्ताहरू आरोप लगाउँछन् । 

यस्ता पुल पैदल यात्रीको सुविधाका लागि भन्दा पनि मोटर प्रयोगकर्ताको हितलाई ध्यानमा राखेर बनाइएको आरोप लगाइन्छ । 

हाम्रो देशमा दुई तले बस तथा रेल सेवा नभएकाले आकाशे पुल खासै अग्ला बनाउनु पर्दैन । तर यी सेवा भएका विदेशका गाउँ शहरमा भने सामान्यतया ११ मिटर चौढा सडक पार गर्न पुलबाट औसत एक सय तीन मिटर दूरी पार गर्नुपर्ने र पुलको माथि चढ्न र तल झर्नसमेत कठिन पर्ने आलोचकहरूको तर्क छ । 

तै बरु विदेशमा त लिफ्ट पनि राखिएका उदाहरण छन् तर हाम्रो देशको नेतृत्वले अशक्त नागरिकहरू पनि छन् भन्ने किन चाल पाएन होला ? मानिसहरू खासगरी ज्येष्ठ नागरिक, गर्भवती, अशक्तहरू त्यति माथि चढेर सडक पार गरी फेरि तल उत्रिएर सडक पेटीमा हिँड्ने हिम्मत गर्दैनन् भन्ने कसैले सुझाएन कि कसो ? 

हिजोका कुरा छोडौं, आज भर्खर डिजाइन भएका सडकमा पनि आकाशे पुलकै वकालती छ । यसमा नियामक निकायहरू किन मौन ? 

केही देशहरूमा गरिएका अध्ययन हेरौँ । भारतको पूणे शहरमा गरिएको एक अध्ययनअनुसार ९५ प्रतिशत पैदल यात्रीहरूले आकाशे पुलको प्रयोग गर्न मानेनन् । पुल भएकाले मानिसहरू पुलबाटै पार गर्छन् भन्ने आशामा चालकहरूले ६० किलोमिटर प्रतिघन्टाका दरले गाडी चलाएका उदाहरण भेटिए । यसो गर्दा क्र्यासमा परेका पैदल यात्रीको ज्यान जाने क्रम ६० प्रतिशतसम्म बढ्ने सम्भावना रहेको छ । 

यसैगरी मेक्सिकोमा गरिएको अर्को अध्ययनअनुसार आकाशे पुलको तीन सय मिटर आसपासमा सवारी प्रयोगकर्ताले पैदलयात्रीलाई ठक्कर दिएर भाग्नेको संख्या २७ प्रतिशतले वृद्धि भएको पाइएको छ । 

यस्तै केन्याको नैरोबीमा गरिएको अर्को अध्ययनअनुसार आकाशे पुलबाट पाँच सय मिटर आसपासमा ४३ प्रतिशत रोड क्र्यासमा वृद्धि  भएको पाइएको छ । 

आकाशे पुल सस्तो चिज होइन ।

मेक्सिकोमा सामान्य आकाशे पुलको निर्माण लागत ८० हजार अमेरिकी डलर परेको थियो भने केन्यामा अलि ठूलो आकारको आकाशे पुलको निर्माण लागत २० लाख अमेरिकी डलरसम्म परेको तथ्यांक छ । 

तर यसको विकल्पका रुपमा प्रयोग गरिने पूर्वाधार जस्तै ‘स्पिड बम्प’ वा ‘मिडक्रस रिफ्युज आइल्यान्ड’को निर्माण तथा मर्मत लागत आकाशे पुलका तुलनामा ७५ प्रतिशत कम रहेको पाइएको छ । यसका साथै सडक किनारलाई समेत पुलको आधार क्षेत्रले आगटेर साँघुरो पार्ने पनि सडक सुरक्षा क्षेत्रका अध्येताहरू दाबी गर्दछन् । 

सडकलाई सुरक्षित पार्ने नाममा बढी लगानी गर्ने, भद्दा संरचना बनाउने र तिनीहरूको उपयोगिता नहुँदा न त जनधनको क्षति नै कम भयो, न त बजेटको सदूपयोग नै भयो । मात्र केही पक्षले कमाए । 

आकाशे पुलको सदूपयोग कसरी हुँदो रहेछ भन्ने जान्नका लागि हाम्रो शहरका मुटुमा रहेका आकाशे पुलमा साँझपख देखिने दृश्यबाट पनि केही न केही त जानकारी हुन सक्ला । 

‘भिजन जिरो’ लागू गरिएको विश्वका केही सडकहरूको उदाहरण लिऔँ । अमेरिकाका न्यूयोर्क तथा बोस्टन शहर र चीनको गुआङ्झोउ तथा मेक्सिकोको मेक्सिको सिटीमा न्यून बजेटमा पैदल यात्रीका सुविधा उपलब्ध गराइएको छ । यी शहरहरूमा पैदल यात्रीलाई पहिलो प्राथमिकता दिइन्छ । 

पैदलयात्रीहरूलाई सडक पार गर्न ढिला हुँदा पनि आर्थिक रूपमा घाटा हुने अध्ययनहरूले देखाएका छन् । 

दश बार मिटर चौडा सडक पार गर्न सयदेखि डेढ सय मिटर लामा पुलहरू चढ्ने र झर्ने गर्दा पैदल यात्रीको समय खर्च हुन्छ । 

न्यूजिल्यान्डको अकल्यान्ड शहरका दुई ओटा पैदल यात्री पार गर्ने स्थानमा भएको ढिलाइका कारण वार्षिक ३० लाख अमेरिकी डलर नोक्सान भएको एउटा ज्वलन्त उदाहरण छ । 

यसैगरी चीनको झाइताङ शहरमा लागू गरिएको पैदलयात्री सुविधालाई उपयोग गर्दा सडक जोखिममा निकै कमी आएको अर्को पनि उदाहरण छ । 
यस्ता उदाहरणबाट सिक्ने कि । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ