arrow

रुपन्देहीको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला फागुनको दोस्रो सातासम्म तयार हुन्छ– शक्ति गौचन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
shakti-gauchan.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्यले शक्ति गौचनले रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला फागुनको दोस्रो हातासम्म तयार हुने बताएका छन् ।  अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले करिब ४० करोड लागत राखेर उक्त क्रिकेट रङ्गशालामा निर्माण गरिरहेको छ । 

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणाधीन सो रङ्गशालाको ब्रान्ड एम्बासडरसमेत छन् ।  नेपाली टोलीका पूर्व स्पिनर शक्तिले अहिले रङ्गशाला पूर्ण रूपमा तयार भइनसकेको उल्लेख गर्दै फागुनको पहिलो वा दोस्रो हप्तासम्म तयारी हुने बताए । 

रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला फागुनबाट सञ्चालनमा आउने भएको छ । उक्त रङ्गशाला प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता या अन्य खेलहरू खेलाउन सकिन्छ की भन्ने उद्देश्यले नेपाली क्रिकेटको निकाय नेपाल क्रिकेट सङ्घ(क्यान) का अध्यक्ष चतुर बहादुर चन्द र क्यानका पूर्वकार्यवाहक सचिव प्रशान्त मल्ललगायतले निरीक्षण गरेका थिए । 

क्यानका नेतृत्व उक्त मैदान अवलोकनपछि निकै उत्साहित समेत भए । नेपाली क्रिकेटको अभिभावक संस्थाका नेतृत्वको भ्रमणपश्चात् उत्साहित हुँदै रङ्गशालाका ब्रान्ड एम्बासडर तथा मेन्टर शक्तिले यो रङ्गशालाबाट नेपाली क्रिकेटमा केही योगदान दिन चाहेको धारणा राखे ।

मैदानमा सात वटा पिच रहेको र सो पिच फागुनबाट प्रतियोगिताका लागि योग्य हुने भएको छ । उक्त रङ्गशालामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरू निर्माण पनि भइरहेको छ । उक्त रङ्गशालामा तत्कालका लागि दर्शक सिट ५ हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइँदै छ । पूर्व क्रिकेटर शक्तिले यो मैदानको उद्घाटन प्रतियोगिता राख्ने योजना रहेको बताए । उनले सन् १९९६ को नेपाली राष्ट्रिय क्रिकेट टोली, सन् २०१४ को राष्ट्रिय टोली र केही अन्य टोलीबीच टी–१० शृङ्खला आयोजना गर्ने योजना रहेको उल्लेख गरे ।  

हाल रङ्गशालामा निर्माण गर्ने क्रममा खराब मौसमले केही प्रभावित भइरहेको छ । मैदानमा घाँस रोप्ने काम भइरहेको छ । सो रङ्गशालामा क्युरेटर माधव पाठकले काम गरिरहेका छन् । फागुनबाट राम्रो पिच तयार हुने क्युरेटर पाठकले बताए । केही दिनमा पिचको काम हुनेछ भने आउट फिल्डको काम पनि शुरु हुनेछ । केही स्थानमा भने रोपिएका घाँस काट्ने काम भइरहेको छ । घाँस नआएको स्थानमा घाँस रोपिन थालिएको रङ्गशालाका क्युरेटर माधव पाठकले बताए । 

 माघको पहिलो हप्ताबाट प्यारा पिट र प्लेयरको चेन्जिङ रुम बन्ने उनको भनाइ छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्द रङ्गशालाको विकास देखेर निकै उत्साहित भएको उनको भनाइ छ । छोटो समयमा नै भौतिक पूर्वाधार बनेको र मैदानमा घाँस पनि राम्रो भएकाले क्यानका अध्यक्ष चन्द खुसी भएको निर्माणमा सक्रिय टोलीको भनाइ छ ।

सो रङ्गशाला एक्स्ट्राटेक ओभल प्रा.लि.का निर्देशक विनोद कुँवरको सक्रियतामा बन्न लागेको हो । करिब पाँच बिघा क्षेत्रफलमा उक्त रङ्गशाला बनिरहेको छ । उक्त रङ्गशालाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी र क्यानका सचिव प्रशान्त विक्रम मल्ल लगायतले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ