arrow

एनसेल र जल तथा मौसम विज्ञान विभागबीच समझदारी पत्रमा हस्ताक्षर

१३ वटा जोखिमहरू समेट्दै पूर्व सूचना प्रणाली प्रवाह

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
ncell--dhm-mou-exchange-ceremony.jpg

काठमाडौँ। एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरूका बारेमा पूर्व सूचना प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा बुधवार दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

यो समझदारी पत्र अनुसार, एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणाली अन्तर्गत अब १३ वटा प्रकोपहरूका बारेमा आम जनमानसलाई प्रकोप पूर्व सूचना प्रवाह गर्नेछ । ती १३ प्रकोपहरूमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिम पहिरो, हिमपात, शीत लहर, डढेलो, वायु प्रदूषण र घुम्रपात
रहेका छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले आज पौष २५ गते बुधवार एनसेलको कर्पोरेट कार्यालय एनसेल आइकन, लैनचौर, काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

यस सहकार्यका बारेमा आफ्नो उत्साह व्यक्त गर्दै महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले भने, ‘‘पूर्व सूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि बाढीको पूर्व सूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिन चाहन्छु । कुनै प्राकृतिक विपद् घट्नु भन्दा अगावै प्राप्त हुने पूर्व सूचना त्यस जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ । ग्रास रुट–टु–ग्लोबल एक्सनको अवधारणा अनुरूप पूर्व सूचना प्रवाहकारलागि गरिएको यो सहकार्य एक उत्कृष्ट उदाहरण हो । थप १० मौसममा आधारित जोखिमहरूलाई समेट्दै पूर्व सूचना प्रणाली तथा प्रवाहकारलागि गरिएको यो सहकार्य एक अर्को कोशे ढुङ्गा हो । एनसेल र अन्य साझेदारहरूसँगको सहकार्यमा गरिएको कार्यले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज बनाई हजारौँ मानिसहरूको जीवन रक्षा गर्न सफल भएका छौ । बाढीको प्रकोप बढ्दै गए पनि त्यसबाट हुने मानवीय क्षति भने धेरै कम भएको छ र यो हामी सबैको सहकार्यले गर्दा सम्भव भएको हो । यसका लागि  एनसेलको योगदानको कदर गर्न चाहन्छु । ”

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “जल तथा मौसम विज्ञान विभागसँग १३ वटा विपद्हरूलाई पूर्व सूचना प्रणालीमा समेट्ने गरी यो सहकार्य गर्न पाएकोमा हामी गौरवान्वित छौ । हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता अनुरूप गरिएको यो कार्य एक कोशे ढुङ्गा हो । सन् २०१६ देखि पूर्व सूचना प्रणालीलाई अघि बढाउँदै आएका छौँ र आम नेपाली जनमानसलाई यस प्रणाली मार्फत सम्भावित विपद्बाट जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ । एनसेल र विभागको यो सहकार्य सार्वजनिक निजी साझेदारीमा कसरी प्रभावकारी कार्यहरू गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण हो । एनसेल नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छ र यसै अनुरूप आगामी दिनमा पनि प्रभावकारी कार्यहरूमा सहकार्य गर्न हामी तत्पर छौ । ”

पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरूलाई सम्भावित जोखिमको बारेमा सूचित गर्दै आ–आफ्ना सामानहरू लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ। त्यसै गरी विपद् पूर्व तयारी तथा प्रतिकार्यमा संलग्न सङ्घसंस्था हरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्‍याउँछ।

सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरी बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरूलाई पूर्व सूचना प्रवाह गदै आएको छ । २०२३ मा एनसेलले ९० लाख भन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो। 

एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा जनमानस र समुदायलाई सेवा पुर्‍याउन एनसेल सदैव तत्पर छ र जल तथा मौसम सम्बन्धित अन्य विपद्हरूमा पनि पूर्व सूचना प्रणाली लागु गर्नका लागि सम्भावनाहरू माथि अध्ययन भइरहेको छ । पूर्व सूचना प्रणालीमार्फत जनधनको क्षति न्यूनीकरणमा थप  योगदान गर्न विभागले नयाँ टेलिमेन्ट्रि उपकरणहरू जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेसनहरू विस्तार गरे सँगै  एनसेलले त्यस्ता स्टेसनहरूलाई आवश्यक कनेक्टिभिटी सुविधा प्रदान गर्दै जानेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ