arrow

आइपुगे आहारा खोज्दै आगन्तुक चरा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २८ शनिबार
bird-rss.jpg

घोडाघोडी । झन्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ ।

पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरविराहट र चहलपहलले घोडाघोडी ताल क्षेत्र थप रमणीय र मनमोहक भएको छ ।

सेप्टेम्बरदेखि फेब्रुअरीसम्म करिब ६ महिना उत्तर ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून रहने भएकाले तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने चराविद् डा.हेमसागर बरालले जानकारी दिए।

अत्यधिक चिसो अनुकूलन हुन नसक्दा र आहारको कमीका कारण चिसो छल्न आहारको खोजी गर्न नेपाललगायतका दक्षिण क्षेत्रतर्फ बसाइँसराइ गर्ने चराहरूको सङ्ख्या ठूलो रहेको उनको भनाइ थियो ।

“अत्यधिक चिसो भएपछि तालतलैया बरफमा परिणत हुन्छन् । चराको आहारा नोक्सान हुने भएकाले आहारको खोजीमा नेपाललगायतका दक्षिण क्षेत्र आउँछन्”, चराविद् बरालले भने, “यहाँको मौसम यो बेला अनुकूल हुने र आहार पनि पर्याप्त पाइने भएकाले चराहरू आउँछन् ।”

उनका अनुसार दशकौँदेखि कैलालीको घोडाघोडीका साथै महादेवा, लौकाहा-भौकाहा, चिरैयाँ, नकरोड, कोइलही, सोनियाँ-रुपियाँ, जम्नेह्टा, घोड्ताललगायत कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा आउने गर्दछन् । 

सेप्टेम्बरको अन्तिम सातादेखि घोडाघोडी क्षेत्रमा एक हजार बढीको सङ्ख्यामा चराहरू आउने गरेका पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डङ्गौराले जानकारी दिए ।  “यो बेला ठूलो सङ्ख्यामा विभिन्न देशबाट हजारौँ किलोमिटरको यात्रा तय गरेर यहाँ चराहरू आउने गरेका छन्”, उनले भने, “यी चरा ६ महिनासम्म यहाँ बसोबास गर्छन् ।” उनका अनुसार डिसेम्बरसम्म यहाँ आइपुगेका चरा मार्चमा फेरि आएकै ठाउँतिर फर्किन्छन् ।

“संसारमा चराका नौ वटा उडान मार्ग रहेको बताइन्छ । आगन्तुक चराको नेपालमा दुई उडान मार्ग पर्दछन् । मध्य एसिया उडान मार्ग हुँदै चराहरू घोडाघोडी पुग्छन् । त्यसमा फिस्टे तथा हाँस प्रजातिका चराहरूका साथै सामुद्रिक चराहरू पर्छन् । कहिलेकाहीँ खोया हाँस पनि यहाँ देखिने गरेका छन्”, चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले भने । उनका अनुसार घोडाघोडीमा अहिले आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दुरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपन्छी आएका छन् ।

चौधरीले भने, “साइबेरिया, मङ्गोलिया, उत्तरी चीनलगायतका देशबाट अहिले घोडाघोडीमा आगन्तुक चराहरू आइपुगेका छन् । जाडो यामभरि यहाँका सिमसार क्षेत्रका साना ठूला तालमा ती चराहरू रमाउँछन् । फेरि यता गर्मी बढेपछि उतै फकिन्छन् ।”

कस्तो छ घोडाघोडी ताल ?  

एक सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल औँला भएको हत्केला आकारको छ । यस आसपासमा रहेका अन्य १३ वटा तालसमेत गरेर उक्त सिमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल दुई सय ४८ हेक्टर रहेको छ ।

एउटा तालको सीमा टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने घोडाघोडी क्षेत्र तालैतालको मालाजस्तै देखिन्छ । जङ्गलबीच तालैतालको लस्करसहित जैविक विविधताले भरिएको यस क्षेत्र तराई र चुरे जोड्ने जैविक मार्गका रुपमा रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष चौधरीले बताए ।

पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित बासस्थान हो । विश्व जलचर इतिहासमा सङ्कटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको उनको भनाइ थियो ।

“विश्वभरका एक हजार तीन सय १४ रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यस ताल क्षेत्रमा मात्र पाइन्छन् । त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताका दृष्टिले घोडाघोडी ताल महत्त्वपूर्ण छ”, पन्छी संरक्षण सङ्घका सहजकर्ता डङ्गौराले भने । उनका अनुसार यहाँ चार सय ५० प्रजातिका वनस्पति पाइन्छन् । यहाँका जङ्गलमा बहुमूल्य र औषधिका रूपमा प्रयोगमा आउने सतिसाल, साज, खयरलगायत वनस्पति पाइने बताइएको छ ।

रामसारको प्रावधानअनुसार विश्वका आठ मध्ये दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चराहरूको सूचक यस तालमा उपलब्ध छन् । हरिहाँस, बगाले सिमकुखुरा तथा नादुन हाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेका घोडाघोडी बृहत् तथा पर्यटन विकास बोर्डका उपाध्यक्षसमेत रहेका चराविद् डिआर चौधरीले बताए ।

यहाँ हरिहाँस, मगर गोही र वनधान सूचक प्रजातिको रूपमा छन् । उनका अनुसार विश्वव्यापी रूपमा लोप हुँदै गएका भुडिफोड गरुण, सेतो गिद्ध, सानो खैरे गिद्ध, हाज हलाचे, राज धनेसलगायत प्रजातिका चराहरू यहाँ बसोबास गर्दछन् । 

चराहरूको महत्वपूर्ण बासस्थल भएकाले २८ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेन्चुरी चरा अभय आरक्षण क्षेत्र’ घोषणा गरिएको थियो । त्यसपश्चात् यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको स्थानीय बताउँछन् । चराविद् डिआर चौधरीले भने, “नेपालकै पहिलो बर्ड सेन्चुरी घोषणा गरेपछि यहाँ पर्यटकको सङ्ख्या बढेको छ ।

सयौँ प्रजातिका चराचुरुङ्गीका साथै विश्वकै दुर्लभ प्रजातिका अजिङ्गर, सालक, पानी ओत, कछुवासमेत यहाँ पाइन्छ । साथै चितुवा, रतुवा, घोलर, बँदेल, चित्तल, खरायो, बाँदर, मुसा, सुन गोहोरो, सर्प, नीलगाईलगायत जनावरले यहाँको जैविक महत्व विश्वव्यापी बनाएका छन् ।”

यहाँ एक हजार छ सय ७० हेक्टरमा फैलिएको सिमसार क्षेत्रमा २४ वटा ताल छन् भने दुई हजार पाँच सय ६३ हेक्टर क्षेत्रफल रामसार क्षेत्रले ओगटेको छ । ६ सय ४७ प्रजातिका बोटबिरुवा, ३१ प्रजातिका माछा, तीनसय ८० प्रजातिका चरा, ३२ प्रजातिका पुतली र ११ प्रजातिका शङ्केकिरा पाइने यस ठाउँ संरक्षण तथा जैविक विविधताको क्षेत्रमा खोज गर्नेका लागि विश्वविख्यात अध्ययन केन्द्र सावित भएको चराविद् चौधरीले बताए। उनका अनुसार यहाँ ३४ प्रजातिका स्तनधारी जनावर र सात प्रजातिका घिस्रेर हिँड्ने जनावर पाइन्छन् ।

घोडाघोडी ताल छेउमा भगवान् शिवको प्रसिद्ध मन्दिर रहेकाले यस क्षेत्र धार्मिक दृष्टिकोणले समेत आस्थाको केन्द्रका रूपमा स्थापित भएको घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताए ।

“यो ताल प्रदेशको मात्रै नभई देशकै गहन हो । हामीले यहाँ देश विदेशबाट पर्यटन भित्र्याउने गरी काम गरिरहेका छौँ”, उनले भने, “अहिले गुरुयोजनाअनुसार ताल क्षेत्र व्यवस्थित गर्दैछौँ । यसले पनि ताल क्षेत्र अझै मनमोहक र रमणीय देखिनेछ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ