arrow

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड सर्‍यो, पिपल्स च्वाइसको मनोनयन सार्वजनिक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
nsjf-public-choice-2079.jpg

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

मञ्चले बुधबार एक कार्यक्रम आयोजना गर्दै पिपल्स च्वाइसका पाँच जना मनोनयन सार्वजनिक भएको हो । 

आगामी माघ २८ गते हुने २० औँ संस्करणको  मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् । 

यसअघि माघ १२ गते तय भए पनि प्राविधिक कारणले कार्यक्रम केही दिन सारिएको मञ्चले उल्लेख गरेको छ । खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गरिने गरिन्छ ।

फुटबलका अनन्तले घरेलु फुटबलमा आफ्नो नेतृत्वमा लगातार सफलता दिलाएका छन् । यस क्रममा उनले आफ्नो कप्तानीमा चर्च ब्वाइज युनाइटेडलाई ‘ए डिभिजन लिगको डेब्यु सिजनमै च्याम्पियन बनाउनुका साथै यसै सिजनको नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीलाई उपाधि पनि दिलाएका थिए । 

करातेका विप्लवलालले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराते च्याम्पियनशिपमा रजत पदकका साथै चीनको हाङझाउमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा दुई बाउट जित्न सफल भएका थिए । 

काभा महिला भलिबल च्यालेन्ज कपमा कास्यपदक विजेता निरुता केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन् । शारीरिक सुगठनकी रजनी श्रेष्ठ भने नेपालमै सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनशिपमा ५५ केजीमाथि तौल समूहकी स्वर्ण पदक विजेता हुन् । शारीरिक सुगठन खेल पुरुष खेलाडीका लागि मात्र हो भन्ने मान्यतालाई चिर्दै रजनीले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएकी छन् ।

टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन् । 

यस विधाको विजेता ईसेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने) बाट मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ । 

ईसेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत हुने मञ्चले जनाएको छ । 

मञ्चका अनुसार भोटिङ कार्यक्रमको अघिल्लो दिन बन्द हुनेछ । भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी ईसेवासँग बुधबार नै एक कार्यक्रमबीच सम्झौता भएको छ । 

ईसेवाका तर्पmबाट चिफ बिजनेस अफिसर आशिष गौतम र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सो अवसरमा गौतमले मनोनयनमा परेका पाँचै जनालाई इसेवा केयर प्याकेज प्रदान गरिने बताए । त्यसमा १ लाख रुपैयाँ बराबरको स्वास्थ्य प्याकेज रहेको छ । मञ्चले ईसेवासँग लगातार चौथो वर्षको सहकार्य हो ।

मञ्चका अध्यक्ष सुबेदीले इसेवालगायत अन्य प्रायोजकलाई धन्यवाद दिँदै अवार्डका अन्य चार विधामा पनि केही दिनमा नै सार्वजनिक गरिने बताए । 

पल्सर स्पोर्टस् अवार्ड २०७९ को अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड रहेका छन् । 

सदाझै यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ । 

यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले पाँच वटा बजाज पल्सर मोटरसाइकल पाउने छन् । तीमध्ये दुई ओटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल छन् । 

अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्राली, सुबिसु, प्लाजा ग्रुप अफ होटल, रोयल सिंगी होटल, रुट्स फेसन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ